साउदी अरबमा पछिल्लो समय भएका ड्रोन तथा क्षेप्यास्त्र आक्रमणका घटनाले त्यहाँ कार्यरत लाखौं नेपाली श्रमिकको सुरक्षामाथि गम्भीर चिन्ता बढाएको छ। यसबाट एक नेपाली श्रमिकले ज्यान गुमाएका छन् भने तीन जना घाइते भएका छन्। अन्तर्राष्ट्रिय उडानसमेत प्रभावित हुँदा स्वदेश फर्कने तयारीमा रहेका सयौं नेपाली अलपत्र परेका छन्। यसले साउदी अरबमा कार्यरत नेपाली समुदायमा त्रास र अन्योलको अवस्था सिर्जना गरेको छ।
अक्टोबर २१ मा साउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा ड्रोन अवरोध गर्ने क्रममा खसेको अवशेष लागेर एक नेपाली र एक फिलिपिनो श्रमिकको दुःखद निधन भएको थियो। सोही दिन दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको छुट्टै आक्रमणमा आठ जना घाइते भएकामध्ये एक नेपाली नागरिकसमेत परेका थिए। यसअघि अक्टोबर ११ मा रियाद किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा पनि दुई नेपाली घाइते भएका थिए। साउदी अधिकारीहरूका अनुसार, शैबाह घटनामा एक भारतीय र एक पाकिस्तानी नागरिक पनि घाइते भएका थिए। घटनामा घाइते भएका तीनै जना नेपाली उपचारपछि काममा फर्किसकेका छन्।
यी घटनाबाहेक अक्टोबर महिनामा साउदी अरबका विभिन्न विमानस्थल, तेल प्रशोधन केन्द्र तथा अन्य रणनीतिक क्षेत्रहरूमा ड्रोन तथा क्षेप्यास्त्र आक्रमणका प्रयास भएका छन्। अक्टोबर ६-७ मा रियाद किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा सुडानी नागरिकसहित आठ जना घाइते भएका थिए भने अक्टोबर ६ मा अब्बा अन्तर्राष्ट्रिय विमानस्थलमा मोरक्को र अल्जेरियाका दुई महिलाको मृत्यु र २८ जना घाइते भएका थिए। दमाम र जाजान विमानस्थल तथा खमिस मुशैत र राबिघस्थित तेल प्रशोधन केन्द्रहरू पनि आक्रमणको निशानामा परेका थिए। साउदी हवाई प्रतिरक्षा प्रणालीले केही आक्रमणहरू अवरोध गरेको बताइए पनि समग्र क्षति र प्रभावितको यकिन विवरण भने अपुष्ट छन्।
साउदीमा बढ्दो सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै नेपाली श्रमिकहरूले आत्तिनेभन्दा पनि सतर्क रहनुपर्ने आवश्यकता देखिएको छ। जोखिमयुक्त क्षेत्रहरूबाट टाढा रहने, स्थानीय अधिकारी र रियादस्थित नेपाली दूतावासबाट जारी गरिएका सुरक्षा निर्देशनहरूको कडाइका साथ पालना गर्ने, र आधिकारिक सूचनामा मात्र विश्वास गर्ने समय हो यो। रोजगारदाता कम्पनीहरूले पनि श्रमिकलाई आपत्कालीन सुरक्षा प्रक्रिया र सुरक्षित स्थानबारे स्पष्ट जानकारी गराउनुपर्छ।
साउदीको बिग्रँदो सुरक्षा अवस्थाका कारण अन्तर्राष्ट्रिय उडानहरू पनि प्रभावित भएका छन्। नेपाल एयरलाइन्सले अक्टोबर २४ का लागि काठमाडौँ-दमाम-काठमाडौँ (RA 241/242) उडान रद्द गरेको छ भने हिमालय एयरलाइन्सले पनि अक्टोबर २५ र २६ का दमामका उडानहरू रद्द गरेको जनाएको छ। अन्य वायुसेवा कम्पनीहरूले पनि अवस्था हेरी आफ्ना उडानबारे जानकारी दिइरहेका छन्।
विदेशमा काम गर्ने नेपालीहरूले लामो समयपछि बिदा मिलाएर परिवारसँग भेट्न घर फर्कने तयारी गरेका हुन्छन्। अन्तिम समयमा उडान रद्द हुँदा उनीहरूको पारिवारिक योजनामा गहिरो असर परेको छ। यसले बिदा थप्नुपर्ने, टिकट पुनः बुकिङमा अतिरिक्त खर्च लाग्ने र मानसिक तनावको अवस्था सिर्जना गरेको छ। सम्बन्धित एयरलाइन्स तथा निकायले प्रभावित यात्रुलाई समयमै स्पष्ट सूचना, सहज पुनःबुकिङ प्रक्रिया र आवश्यक सहयोग उपलब्ध गराउनु अपरिहार्य छ।
रियादस्थित नेपाली दूतावासको भूमिका यस्तो संवेदनशील घडीमा अझ महत्त्वपूर्ण हुन्छ। मृतकको पहिचान, परिवारलाई जानकारी, शव स्वदेश पठाउने प्रक्रियाको सहजीकरण तथा घाइतेको अवस्थाबारे सूचना उपलब्ध गराउनु दूतावासको प्राथमिकतामा पर्नुपर्छ। साथै, उडान रद्द भई समस्यामा परेका यात्रुलाई वायुसेवा कम्पनी र अन्य निकायसँग सम्पर्क गर्न सहयोग पुर्याउनु आवश्यक छ। नेपाली समुदायका संघसंस्था र अगुवाहरूले पनि आधिकारिक सूचना साझा गर्दै समस्यामा परेका नेपालीहरूलाई उचित सहयोगका लागि समन्वय गर्नुपर्छ।
साउदी अरबको सुरक्षा अवस्था क्षेत्रीय द्वन्द्वको विकास र सम्बन्धित अधिकारीहरूको सुरक्षा व्यवस्थामा निर्भर रहनेछ। यस विषम परिस्थितिमा नेपाल सरकारले साउदी अधिकारीहरूसँग निरन्तर समन्वय गर्दै नेपाली श्रमिकको सुरक्षा सुनिश्चित गर्न र प्रभावित यात्रुलाई सहजीकरण गर्न विशेष ध्यान दिनुपर्छ। सबै नेपाली श्रमिकले उच्च सतर्कता अपनाउँदै सुरक्षित रहन आवश्यक छ।
