चैत १५, २०८२, आइतबार
काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता २०२६ अन्तर्गत त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशमाथि ३ विकेटको रोमाञ्चक जित हासिल गरेको छ। कुशल मल्लको उत्कृष्ट अविजित ९० रनको पारीको मद्दतले आर्मीले यो जित दर्ता गरेको हो। यस जितसँगै आर्मी प्रतियोगितामा अपराजित रहँदै शीर्ष स्थानमा उक्लिएको छ। चार खेल खेलेको आर्मीले तीनमा जित र एक खेलमा अंक बाँड्दै कुल ७ अंक जोडेको छ।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा ओसका कारण २८ ओभरमा छोट्याइएको यस खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमती प्रदेशले निर्धारित २८ ओभरमा ७ विकेट गुमाउँदै २०८ रन बनाएको थियो। बागमतीले दिएको २०९ रनको विजयी लक्ष्य त्रिभुवन आर्मी क्लबले २७.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो।
आर्मीको जितमा कुशल मल्ल निर्णायक बने। अन्तिम ओभरमा १३ रन आवश्यक परेको र खेलको अन्तिम दुई बलमा ५ रन चाहिएको अवस्थामा मल्लले रिजन ढकाललाई छक्का प्रहार गर्दै आर्मीलाई जित दिलाएका थिए। उनले ५८ बलमा ३ चौका र ८ छक्कासहित ९० रनको उत्कृष्ट अविजित पारी खेलेका थिए। यस्तै, ओपनर ब्याटर तृतराज दासले पनि महत्वपूर्ण अर्धशतकीय योगदान दिए। उनले ४८ बलमा ४ चौका र १ छक्काको सहायताले ५४ रन बनाए। अन्य ब्याटरतर्फ अर्जुन साउदले १४ रन र नरेन साउदले २६ रनको योगदान दिए। बागमतीका लागि इशान पाण्डे र विवेक मगरले २–२ विकेट लिए भने रिजन ढकाल, सन्दीप लामिछाने र सोनु देवकोटाले १–१ विकेट हात पारेका थिए।
त्यसअघि, ब्याटिङ गरेको बागमती प्रदेशका लागि ओपनर आशुतोष घिरौयाले सर्वाधिक ३८ रन बनाएका थिए। उनले ३६ बलमा ५ चौका प्रहार गरे। यस्तै, अर्का ओपनर शुभ कंसाकरले १५ रन बनाए भने पवन थापाले ३५, विवेक मगरले ३० र प्रतिश जिशीले २८ रन जोडे। बागमतीका कप्तान सन्दीप लामिछाने ३० रन र सोनु देवकोटा २१ रनमा अविजित रहे। त्रिभुवन आर्मी क्लबका लागि नरेन साउदले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। साहब आलम, दुर्गेश गुप्ता र वसिर अहमदले १–१ विकेट लिएका थिए।
प्रतियोगितामा त्रिभुवन आर्मी क्लबको प्रदर्शन उत्कृष्ट रहेको छ। पहिलो खेलमा उसले नेपाल पुलिस क्लबलाई २२ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा गण्डकी प्रदेशलाई ७ विकेटले हराएको थियो। तेस्रो खेल भने वर्षाका कारण एपीएफसँग रद्द भई अंक बाँड्न पुगेको थियो। यस जितसँगै आर्मीको उपाधि यात्रा थप बलियो बनेको छ।
बागमती प्रदेशको हकमा भने प्रतियोगितामा मिश्रित प्रदर्शन देखिएको छ। यसअघि खेलेका तीन खेलमध्ये बागमतीले दुईमा हार र एकमा जित दर्ता गरेको थियो। पहिलो खेलमा एपीएफसँग ७१ रनको फराकिलो हार बेहोरेको बागमतीले दोस्रो खेलमा गण्डकी प्रदेशलाई १७० रनले हराएको थियो। तर, तेस्रो खेलमा नेपाल पुलिस क्लबसँग ७ विकेटको हार बेहोरेको थियो। आर्मीविरुद्धको यो हारले बागमतीको सेमिफाइनल यात्रामा धक्का पुगेको छ।
