काठमाडौं । राष्ट्रिय सभा सदस्य सोमनाथ पोर्तेलले मुगुका गणेश नेपालीले आत्मदाह गरेको घटनाप्रति सरकारको घोर भत्र्सना गरेका छन् । शुक्रबार राष्ट्रिय सभाको आकस्मिक समयमा बोल्दै सांसद पोर्तेलले सिंहदरबारभित्रका शक्तिहरूले जनताको जीविकोपार्जनमाथि प्रहार गर्दै आत्मदाह गर्न बाध्य पारेको आरोप लगाएका हुन् । उनले पूर्वमा सत्तामा पुग्नका लागि हिंसाको सहारा लिनेहरू सत्तामा पुगेपछि सामान्य जनतालाई नै जलाउन थालेको गम्भीर टिप्पणी गरे ।
“सिंहदरबार जलाउनेहरू सिंहदरबारमा पसेपछि जनता जलाउन थालेका छन्,” सांसद पोर्तेलले आक्रोश व्यक्त गर्दै भने, “आज जनताले दिनदहाडै जलेर मर्नुपर्ने परिस्थिति निर्माण भएको छ, यसको म घोर निन्दा र भत्र्सना गर्न चाहन्छु ।” उनले राज्य संयन्त्रको यस किसिमको रवैयाले आम नागरिकमा निराशा र आक्रोश बढेको संकेत गरे ।
सांसद पोर्तेलले गणेश नेपालीको आत्मदाहको घटना प्रहरीको लापरबाही र असंवेदनशीलताको परिणाम भएको दाबी गरे । उनका अनुसार, प्रहरीले नेपालीलाई १० हजार रुपैयाँ जरिबाना तोकेको थियो । सामान्य आर्थिक अवस्थाका नेपालीले सो जरिबाना तिर्न नसकेको र आफूसँग पैसा नभएको भन्दै प्रहरीसँग अनुरोध गर्दा पनि उनीहरूको कुनै सुनुवाइ भएन । बरु, उनको जीविकोपार्जनको एक मात्र साधन, मोटरसाइकल, प्रहरीले नियन्त्रणमा लिएको पोर्तेलले बताए ।
पोर्तेलले भने, “प्रहरीले उनलाई १० हजार रुपैयाँ जरिबाना तोक्यो । त्यो जरिबाना तिर्ने उनीसँग पैसा भएन । पैसा नभएका कारण उनले मसँग पैसा छैन भनेर प्रहरीसँग अनुरोध गर्दा मोटरसाइकल प्रहरीले उठाएर लैजाने जुन परिस्थिति निर्माण भयो, त्यसबाट उनी विक्षिप्त भए ।” आफ्नो आम्दानीको स्रोत खोसिएपछि र बेलुकाको छाक टार्न पनि नसक्ने भएपछि नेपालीले चरम निराशामा आत्मदाहको बाटो रोज्न बाध्य भएको पोर्तेलको भनाइ थियो ।
यसका साथै, सांसद पोर्तेलले आत्मदाह गरिरहेका घाइते नेपालीको उद्दारका क्रममा प्रहरीले देखाएको व्यवहारप्रति पनि गम्भीर आपत्ति जनाए । उनले प्रहरीले घाइतेलाई संवेदनशीलताका साथ उद्दार गर्नुको सट्टा ‘लछार–पछार’ गर्दै गाडीमा राखेर अस्पताल लैजाने काम गरेको आरोप लगाए । “घाइतेलाई जुन ढंगले प्रहरीले लछार–पछार गर्दै गाडीमा राखेर अस्पताल लैजाने काम भयो,” उनले थपे, “त्यो हृदयविदारक र आततायी घटना छ । म यसको निन्दा गर्न चाहन्छु ।” उनले यस्तो अमानवीय व्यवहारले प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठेको औंल्याए ।
राष्ट्रिय सभामा उठेको यो विषयले सरकार र सम्बन्धित निकायलाई आम नागरिकको समस्याप्रति थप संवेदनशील हुन दबाब दिएको छ । जीविकोपार्जनको साधन गुमाउँदा एक नागरिकले आत्मदाह गर्नुपर्ने परिस्थिति निर्माण हुनु र उद्दारका क्रममा समेत असंवेदनशीलता देखाइनुले राज्यको भूमिकामाथि गम्भीर चिन्ता व्यक्त भएको छ । सांसद पोर्तेलले यस्ता घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही र पीडित परिवारलाई न्याय दिलाउन सरकारसँग माग गरेका छन् ।
