पोखरामा बेमौसमी वर्षा: धान भित्र्याउने बेला खेतमै डुब्यो, किसानलाई ठूलो क्षति
पोखरामा अकस्मात् परेको बेमौसमी वर्षाले धान भित्र्याउने तयारीमा रहेका किसानलाई ठूलो मर्का परेको छ। विशेषगरी जेठोबुढो धान काटिसकेर खेतमै सुकाउन राखिएको अवस्थामा साँझपख पानीले डुबाएपछि किसानहरूमा बाली नोक्सान हुने गहिरो चिन्ता बढेको हो। घाम लागिरहेका बेला अचानक भारी वर्षा हुँदा किसानले आफ्नो मुख्य बाली गुमाउनुपर्ने जोखिम बढेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो तीन घण्टाको अवधिमा कास्कीको पोखरा विमानस्थलस्थित मौसम मापन केन्द्रमा सबैभन्दा बढी २५.४ मिलिमिटर वर्षा मापन भएको छ। यतिबेला धान काट्ने र सुकाएर भित्र्याउने मुख्य समय भएकाले यस्तो वर्षाले किसानको वर्षभरिको मिहिनेतमाथि पानी फेरिदिएको छ।
पोखरा महानगरपालिकाको कृषि तथा आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले अगौटे धान अधिकांश किसानले थन्काइसके पनि जेठोबुढो धान भित्र्याउने समयमा भएको वर्षाले गम्भीर समस्या निम्त्याएको बताए। उनले भने, ‘यतिबेला अधिकांश किसान जेठोबुढो धान थन्काउने अन्तिम तयारीमा थिए। यही समयमा भारी वर्षा भएपछि खेतमा काटेर सुकाउन राखिएको धान पूरै भिजेको छ र कतिपय ठाउँमा डुबेको अवस्थामा छ।’
कडरियाका अनुसार यदि भोलिदेखि घाम लागेर धान सुक्न पाएमा त्यति धेरै क्षति नहुन सक्छ। तर, यदि धान लामो समयसम्म खेतमै भिजिरहेमा त्यसलाई ‘हकुवा’ भनिने र दानाको गुणस्तर घट्ने, रंग बिग्रने तथा बजार मूल्यमा समेत ठूलो गिरावट आउने सम्भावना बढी हुन्छ। यस्तो धानले दाना राम्ररी नभरिने र यसको उत्पादनमा पनि ह्रास आउने चिन्ता उनले व्यक्त गरे।
बेमौसमी वर्षाले पोखराका विभिन्न फाँटहरू प्रभावित भएका छन्। पोखराका कसेरी, सनुपदेली, ढाव, ठूम्रीबोटलगायत क्षेत्रका किसानले खेतमा काटेर राखेको धान पूर्ण रूपमा भिजेको छ। यी क्षेत्रका किसानले एकाएक परेको पानीले गर्दा धानमा ठूलो नोक्सानी हुने आँकलन गरेका छन्।
पोखरा-१३ आर्वाका किसान श्रीराम सिग्देलले कसेरी र सनुपदेली फाँटमा आफ्नोसहित छिमेकी किसानहरूको हिजो र आज काटेर राखिएको धान पूरै पानीमा डुबेको जानकारी दिए। उनका अनुसार उक्त क्षेत्रका करिब ७५ प्रतिशत किसानले पछिल्ला दुई दिनमै धान काटेका थिए। ‘घाम लागिरहेकाले पानी पर्ला भन्ने ख्याल गर्न सकिएन। अहिले २०-२२ मुरी फल्ने धान सबै काटेर खेतमै राखेका थियौँ, सबै डुब्यो,’ सिग्देलले आफ्नो पीडा सुनाए। यो क्षतिले उनको परिवारको वर्षभरिको गुजारामा समेत असर पर्ने देखिएको छ।
यता, मौसम पूर्वानुमान महाशाखाले गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा अझै हल्का वर्षा भइरहेको जनाएको छ। निरन्तरको बदली र पानी पर्ने सम्भावनाले धान भित्र्याउने क्रममा रहेका किसानहरूको चिन्ता झन् बढाएको छ। यस वर्ष राम्रो धान उत्पादन हुने अपेक्षा गरिएका बेला आएको बेमौसमी वर्षाले किसानलाई आर्थिक तथा मानसिक रूपमा ठूलो धक्का दिएको छ।
प्रकाशित: २९ कार्तिक २०८३ २१:५१ आइतबार
