काभ्रेपलाञ्चोकको ऐतिहासिक नगरी पनौतीमा एक हजार ४२२ वर्षदेखि परम्परागत रूपमा मनाइँदै आएको हिले–जात्रा शनिबारदेखि विधिवत् रूपमा प्रारम्भ भएको छ । जात्राको प्राचीन परम्पराअनुसार, शनिबार साँझ पुण्यमाता खोलामा नागको प्रतीकका रूपमा दुईवटा बाँस तेस्र्याइएको थियो भने देवगण (दुइचा न्याकेगू)हरूले सुस्तरी सो बाँस तरेपछि जात्रा सुरु भएको मानिन्छ ।
जात्रा प्रारम्भ भएकै दिन शनिबार राति अबेर भद्रकालीको रथ तानिएको थियो भने रातभरि गैंडू पूजा (होम) सम्पन्न गरिएको पनौती जात्रा मूल व्यवस्थापन समितिले जनाएको छ । समितिका अनुसार, जात्राको दोस्रो दिन अर्थात् चतुर्दशीका दिन पनौती नगरका सम्पूर्ण देवीदेवताका मठमन्दिरमा भव्य पूजाअर्चना गरिन्छ । यसै दिन इन्द्रेश्वर महादेव मन्दिरको पूर्वमा अवस्थित महेश्वर गणेशको मूर्तिलाई खटमा राखी अबिरजात्रासहित नगर परिक्रमा गराइन्छ । साँझ पुनः भद्रकालीको रथ तानेर चक्र पूजा सम्पन्न गर्ने परम्परा छ ।
जात्राको मुख्य आकर्षण मानिने तेस्रो दिन अर्थात् पूर्णिमाको बिहान बजारमा भद्रकाली, महादेव र इन्द्रेश्वरका तीनवटा रथको भागदौड गराइन्छ । रथहरू एकापसमा जुधाइने यो परम्परामा सांकेतिक यौन क्रियाकलाप झल्किने प्रस्तुतिसमेत समावेश हुन्छ । जात्राको किंवदन्तीअनुसार, पूर्णिमाको दिन भद्रकालीले ६४ योगिनीको एउटै रूपधारण गरी कामोत्तेजक मुद्रामा महादेवलाई लखेट्छिन् । महादेव त्रिवेणीमा हामफाली लुक्न खोज्दा पनि भद्रकालीले पीछा नछाडेपछि महादेवले उन्मत्त भैरवको रूपधारण गरी भद्रकालीलाई भगाउँछन् । सोही भाग्ने र पीछा गर्ने क्रियाकलापलाई अबिरजात्रा र रथ जुधाइका रूपमा प्रस्तुत गरिन्छ । भैरवले चौतर्फी घेराबाट भद्रकालीलाई बीचमा पारेर पछाडिबाट ठक्कर दिन्छन् भने इन्द्रेश्वर महादेवले पनि अगाडिबाटै धकेल्ने गर्दछन् । धार्मिक आधारमा रथ जुधाउने यस परम्परालाई यौनिकताको प्रस्तुतीकरणका रूपमा लिइने गरिन्छ ।
रथ जुधाइमा सहभागी युवायुवतीहरूमा ठूलो उत्साह देखिन्छ । इन्द्रेश्वर मन्दिरका पुजारी रमेश जङ्गमका अनुसार, रथ जुधाइमा कामोत्तेजक कार्य प्रदर्शन गर्नुपर्ने भएकाले पहिलेपहिले झिसमिसे अगावै वा मध्यरातदेखि बिहानसम्म रथ जुधाइने चलन थियो । तर, पछिल्ला केही वर्षदेखि ठूलो जनसहभागिताका लागि दिउँसो नै देवतारूपी रथ जुधाइने गरिएको छ ।
जात्राको अर्को महत्वपूर्ण परम्पराअनुसार, विशेष पूजामा सामग्री र सुकुण्डा बोकेर कर्माचार्य (आचाजू)हरू सुस्तरी हिँड्नुपर्छ । नेवारी भाषामा यसलाई ‘न्ह्यायकेगू’ भनिन्छ । कर्माचार्य खोलापारि गोरखनाथ पुगेपछि नाग आसनबाट उठ्ने र ती नागराजको कृपाले पानी तथा रोपाइँ सफल हुने जनविश्वास छ ।
त्रयोदशीदेखि पूर्णिमाको रातभरि मनाइने हिलेजात्रा सकिएको भोलिपल्टैदेखि खेतको काम थाल्ने यहाँको प्रचलन हो । जात्रा समापन भएपछि खेतमा रोपाइँ सुरु गर्ने परम्परा आदिकालदेखि नै चल्दै आएकाले यसलाई हिलेजात्रा अर्थात् नेवारी भाषामा ‘ज्याःपुन्ही’ पनि भन्ने गरिएको स्थानीय बताउँछन् । जात्रा सकिएको दिन र त्यसपछिका चार दिन पनौतीमा हावाहुरी चल्ने र वर्षा सुरु हुने जनविश्वास पनि कायम छ । जात्रा अवधिमा चिउली र केरा खाएर घुम किन्ने मान्यताका साथै प्रत्येक घरमा बलि दिने, पाहुना बोलाएर स्वागत सत्कारसहित भोज गर्ने प्रथा अझै जीवित छ । तीन दिनसम्म मनाइने यो जात्रालाई स्थानीय पर्वमध्येको निकै ठूलो मानिएकाले पनौती नगरपालिकाले सोमबार सार्वजनिक बिदा घोषणा गरेको छ ।
