काठमाडौं : नेपालले पाटेबाघ संरक्षणमा एकपटक फेरि विश्व समुदायसामु आफ्नो प्रतिबद्धता र सफलता पुष्टि गरेको छ। पछिल्लो राष्ट्रिय बाघ सर्वेक्षण २०८२ को नतिजाअनुसार नेपालमा पाटेबाघको संख्या बढेर ४२९ पुगेको छ। सन् २०१८ मा गरिएको अघिल्लो सर्वेक्षणमा ३५५ वटा बाघ रहेकोमा यसपटक ७४ वटाले वृद्धि भई यो संख्यामा पुगेको हो।
गत वर्ष पुसको पहिलो साताबाट सुरु गरिएको बाघ गणनाको अन्तिम नतिजा विश्व बाघ दिवस, जुलाई २९ (साउन १३ गते) का अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सार्वजनिक गरेको हो। विभागको तथ्यांकअनुसार चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा धेरै बाघ रहेका छन्। चितवनमा १२८ बाट बढेर १४५ पुगेको छ। त्यसैगरी, पर्सा राष्ट्रिय निकुञ्जमा ४१ बाट बढेर ७१, बाँके राष्ट्रिय निकुञ्जमा २५ बाट बढेर ५१ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३६ बाट बढेर ५० वटा पाटेबाघ पुगेका छन्। यसको विपरीत, बर्दिया राष्ट्रिय निकुञ्जमा भने बाघको संख्या १२५ बाट घटेर ११२ मा झरेको छ।
सर्वेक्षणका अनुसार चितवनमा १७, पर्सामा ३०, बाँकेमा २६ र शुक्लाफाँटामा १४ वटा बाघ बढेका छन्। बर्दियामा भने १३ वटा बाघ घटेको तथ्यांकले देखाएको छ। विशेषगरी बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या दोब्बर हुनुलाई उल्लेखनीय सफलताका रूपमा हेरिएको छ। बाघ गणना कार्य बाँके-बर्दिया कम्प्लेक्समा ६ वटा ब्लकमा गरिएको थियो। बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा ३, बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा २ र दाङ क्षेत्रमा एउटा ब्लकमा क्यामेरा राखिएको थियो।
गणनाका क्रममा बर्दियाको ३ वटा ब्लकका ४५५ ग्रिड, बाँके ब्लकमा ३४८ र दाङमा ९८ गरी कुल ९०१ ग्रिडमा प्रतिग्रिड २ वटाका दरले १८०२ वटा क्यामेरा जडान गरी बाघको तस्बिर लिइएको थियो। बाँके-बर्दिया कम्प्लेक्समा पुसको पहिलो सातादेखि सुरु भएको बाघ गणना चैतको अन्तिममा तस्बिर लिने कार्य सम्पन्न भएको बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिए। कँडेलका अनुसार, ‘बाँकेमा बाघको संख्या बढेर दोब्बर भएकोमा हामी निकै खुसी छौँ। सबैको समन्वय र सहकार्यका कारण यो शतप्रतिशत वृद्धि सम्भव भएको हो। बासस्थान संरक्षण, आहारा प्रजातिको सुलभ उपलब्धता, चोरी शिकार नियन्त्रण र समुदायको सचेतनाले नै यो सफलता प्राप्त गर्न सक्यौँ।’
यद्यपि, मानव-बाघ द्वन्द्व न्यूनीकरण अबको मुख्य चुनौती रहेको उनले औँल्याए। कँडेलले सबै सरोकारवालाहरूको सहकार्यले मानव र बाघको सहअस्तित्व कायम गर्न सफलता मिल्ने विश्वास व्यक्त गरे। बाघको अध्ययन, अनुसन्धान, यसको संख्या, आहारा प्रजातिको घनत्व तथा बासस्थान मापन गरी दीर्घकालीन संरक्षणका लागि प्रत्येक पाँच वर्षमा बाघ गणना गर्ने गरिन्छ। सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा आयोजित बाघ संरक्षणसम्बन्धी शिखर सम्मेलनमा बाघको संख्या सन् २०२२ सम्म दोब्बर पार्ने प्रतिबद्धता (Tx2 लक्ष्य) नेपालले जनाएको थियो। यसपटकको तथ्यांकले नेपालले Tx2 लक्ष्य प्राप्त गरिसकेको र निरन्तर प्रगति गरिरहेको स्पष्ट पारेको छ।
साउन १३, २०८३ बुधबार १५:३०:४९
