चिनियाँ राष्ट्रपति सी जिन्पिङ ११ वर्षयता पहिलो पटक संयुक्त राज्य अमेरिकाको राजकीय भ्रमणमा जाँदैछन्। उनको अमेरिकासँगको पहिलो साक्षात्कार भने सर्वाधिक शक्तिशाली नेता बन्नुअघि चार दशकअघि भएको थियो। त्यसबेला सी एक काउन्टी अधिकारीका रूपमा आइअवा राज्यको भ्रमणमा गएका थिए, जहाँ उनले कृषिबारे जानकारी लिँदै स्थानीय परिवारसँग बसे। चिनियाँ सञ्चारमाध्यमले तात्कालिक आइअवा गर्भनर टेरी ब्रान्स्टेडसँगको मित्रतालाई सीको अमेरिकासँगको सम्बन्धसँग जोड्ने गर्छ। आज अमेरिका र चीनबीचको सम्बन्ध विश्वव्यापी प्रभाव, आयातकर, प्रविधि र सैन्य प्रतिद्वन्द्विताले परिभाषित छ। चीनको नेताका रूपमा १४ वर्षमा ७३ वर्षीय सीले कम्युनिस्ट पार्टी र देशको विश्वव्यापी उपस्थितिलाई रूपान्तरित गरिसकेका छन्।
सम्पूर्ण कुरा गुमाएका ‘राजकुमार’
सीको जीवनको आरम्भ सन् १९५३ मा बेइजिङमा जनवादी गणतन्त्र चीन स्थापनामा सघाएका क्रान्तिकारी तथा उपप्रधानमन्त्री सी जोङ्सिनका सन्तानका रूपमा सुविधासम्पन्न परिवेशमा भएको थियो। बाल्यकालमा प्रतिष्ठित विद्यालयमा पढेर विशेष हैसियत उपभोग गरे पनि, १९६० को दशकमा उनका पितालाई पार्टीविरोधी आरोपमा निर्वासनमा पठाइयो। १५ वर्षीय सीलाई ‘प्रतिक्रान्तिकारी’ पिताका सन्तानका रूपमा माओको आदेशमा ‘पुनः शिक्षा’का लागि दुर्गम पहाडी गाउँ लिअङ्जिआह पठाइयो। त्यहाँ उनले सात वर्ष पहाड खोपेर बनाइएको गुफामा बिताए, जहाँ उनले खेतीपाती र कठोर शारीरिक श्रम गरे। कठिनाइ महसुस गरे पनि उनले आफ्नो अनुभवलाई ‘स्नेहपूर्ण’ स्मरण गर्ने बताएका छन्।
शक्तिमा उदय
२२ वर्षमा प्रतिष्ठित चिङ्ख्वा विश्वविद्यालयमा केमिकल इन्जिनिअरिङ अध्ययनका लागि गाउँ छाडेपछि, सीले फुजियान र जजीआङ जस्ता समृद्ध प्रान्तहरूमा स्थानीय अधिकारीको रूपमा काम गरे। पिताको पहुँचले उनलाई केन्द्रीय सरकार र सेनामा सम्बन्ध स्थापित गर्न सहयोग पुग्यो। सीको पहिलो विवाह चिनियाँ राजदूतकी छोरीसँग भए पनि तीन वर्षमै सम्बन्धविच्छेद भयो। पछि उनले लोकगायिका पङ लीआनसँग विवाह गरे, जो त्यसबेला उनीभन्दा धेरै चर्चित थिइन्। ‘प्रथम महिला’ का रूपमा पङ लीआनले चिनियाँ परम्परा तोड्दै सीका विदेश भ्रमणहरूमा साथ दिने गरेकी छन्। सन् २००७ मा शाङ्घाईको प्रमुख नेता बनेलगत्तै सी चिनियाँ कम्युनिस्ट पार्टीको स्थायी समितिमा पुगे र सन् २०१२ मा पार्टीको सर्वोच्च नेता बने।
सीले बनाएको चीन
सीको चौधवर्षे शासनकालमा चीनले उल्लेखनीय आत्मविश्वास र समृद्धि हासिल गरेको छ। विदेशमा उनले ‘बेल्ट एन्ड रोड इनिशिएटिभ’ जस्ता महत्वाकांक्षी परियोजनाहरू अघि बढाएका छन् र ‘ग्लोबल साउथ’ को अवधारणा प्रवर्द्धन गरेका छन्। प्रमुख प्रजातान्त्रिक राष्ट्रहरूसँग चीनको सम्बन्ध तनावपूर्ण छ, विशेषगरी दक्षिण चीन सागर र ताइवान मुद्दामा अमेरिकासँग तनाव बढ्दो छ। आन्तरिक रूपमा, सीले व्यापक नियन्त्रण कायम गर्दै राजनीतिक रूपमा बलियो स्थिति बनाएका छन्। उनको नेतृत्वमा सिन्जियाङ, तिब्बत र हङकङ जस्ता क्षेत्रमा सुरक्षा र स्थायित्वका लागि कठोर उपायहरू लागू गरिएका छन्, जसलाई आलोचकहरूले नागरिक स्वतन्त्रतामा कटौतीका रूपमा हेरेका छन्। सीले ‘नयाँ युगका लागि चिनियाँ विशेषताको समाजवादसहितको सी जिन्पिङ विचारधारा’ नामक दर्शन अघि सारेका छन् र संविधानबाट राष्ट्रपतिको कार्यकालको सीमा हटाएर पदमा अनिश्चितकालसम्म रहने मार्ग प्रशस्त गरेका छन्।
मित्र वा शत्रु?
विदेशी नेताहरूसँग सीको सम्बन्ध चीनको विदेशनीतिको प्राथमिकता अनुसार कहिले नजिक र कहिले टाढा हुने गरेको छ। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग सीको सम्बन्ध सबैभन्दा निकट मानिन्छ; उनीहरूबीच ४० भन्दा बढी भेटघाट भएका छन् र सीले पुटिनलाई ‘निकटस्थ विश्वासपात्र’ भनेका छन्। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्ध जटिल रह्यो, ट्रम्पले ‘व्यापारयुद्ध’ सुरु गरे पनि सीको शक्तिको प्रशंसा गर्थे। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सुरुमा व्यक्तिगत कूटनीतिमा जोड दिए पनि सन् २०२० मा सीमामा भएको घातक झडपले दुई देशको सम्बन्ध खराब अवस्थामा पुर्यायो। सीले व्यक्तिगत सम्बन्धभन्दा राज्यको बृहत्तर हितलाई प्राथमिकता दिने गरेका छन्। यसै साता वाशिङ्टन डीसी पुग्दा, सी जिन्पिङ अब आइअवाका जिज्ञासु कनिष्ठ अधिकारी मात्र नभई, २१औँ शताब्दीका एक निर्णायक विश्व राजनीतिक व्यक्तित्वका रूपमा उपस्थित हुनेछन्।
