दुबईस्थित फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई नियमित व्यावसायिक उडान सञ्चालनमा ल्याएसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पीआईए) ले स्थापनापछि पहिलो पटक नियमित अन्तर्राष्ट्रिय हवाई सेवा प्राप्त गरेको छ। दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको फ्लाई दुबईको बोइङ ७३७ म्याक्स जहाज आज साँझ ६ः१९ बजे एक सय १३ यात्रु बोकेर पोखरामा अवतरण गरेको थियो। विमानस्थलमा जहाजलाई ‘वाटर क्यानन स्यालुट’ सहित पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसहित सरकारी अधिकारी र पर्यटन प्रतिनिधिहरूले स्वागत गरेका थिए। सोही जहाज आजै साँझ ७ः१५ बजे एक सय ५३ यात्रु लिएर दुबईका लागि प्रस्थान गरेको छ।
सन् २०२३ जनवरीदेखि सञ्चालनमा आएको यस विमानस्थलले नियमित अन्तर्राष्ट्रिय उडानका लागि लामो समयदेखि प्रतीक्षा गरिरहेको थियो। यसअघिका अन्तर्राष्ट्रिय उडानहरूले निरन्तरता पाउन नसकेको पृष्ठभूमिमा फ्लाई दुबईको यो सेवाले पोखराका लागि नयाँ आशा जगाएको छ। यो उडानले पर्यटकीय राजधानी पोखरामा सीधा विदेशी पर्यटक आकर्षित गर्नुका साथै दुबई हुँदै युरोप, अमेरिका, अष्ट्रेलियालगायत विश्वका विभिन्न गन्तव्यहरूमा जाने नेपाली यात्रुहरूलाई यात्रा अवधि र खर्च दुवैमा सहजता प्रदान गर्ने विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए। वैदेशिक रोजगारी, अध्ययन र घुमफिरका लागि खाडी मुलुक तथा अन्य देशमा जाने यात्रुहरूका लागि समेत यो सेवा लाभदायी हुनेछ।
नेपाल सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकहरूलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने घोषणा गरेको केही समयमै फ्लाई दुबईले उडान सुरु गरेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठ २५ गते यस उडानका लागि फ्लाई दुबईलाई अनुमति दिएको थियो। सरकारले वायुसेवा कम्पनीहरूलाई आकर्षित गर्न विसं २०८५ भदौ मसान्तसम्मका लागि पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा तथा ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था समेत गरेको छ।
फ्लाई दुबईको दैनिक उडान तालिका अनुसार, जहाज हरेक साँझ ६ः१५ बजे पोखरामा अवतरण गरी ७ः१५ बजे दुबईका लागि प्रस्थान गर्नेछ। विश्वव्यापी हवाई ट्रान्जिट हब दुबईसम्मको यस सीधा उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा बलियो रूपमा जोडेको छ, जहाँबाट फ्लाई दुबईले विश्वका १२० भन्दा बढी गन्तव्यहरूमा सीधा उडान गर्दै आएको छ। फ्लाई दुबई र इमिरेट्स एयरलाइन्सबीचको रणनीतिक कोडसेयर साझेदारीअन्तर्गत यो सेवा सञ्चालन हुने भएकाले यात्रुहरूले एउटै टिकटमा विभिन्न गन्तव्यसम्म झण्झटरहित यात्रा गर्न सक्नेछन्। यस नियमित सेवाले पोखराको पर्यटन प्रवर्धन, आर्थिक विकास र क्षेत्रीय कनेक्टिभिटीका लागि महत्त्वपूर्ण योगदान पुर्याउने निश्चित छ।
