जनकपुरधाम, असार २१ गते। जनकपुरधाम उपमहानगरपालिकाले आगामी शैक्षिकसत्रदेखि नगरभित्रका सामुदायिक तथा संस्थागत (निजी) विद्यालयहरूमा कक्षा १ देखि ८ सम्म मैथिली भाषामा आधारित स्थानीय पाठ्यक्रम अनिवार्य रूपमा अध्यापन गराउने भएको छ। यस महत्वपूर्ण शैक्षिक सुधारले जनकपुरधामको मौलिक पहिचान, भाषा, संस्कृति र इतिहासलाई विद्यालय शिक्षासँग जोड्ने लक्ष्य लिएको छ।
उपमहानगरपालिकाले ‘अप्पन जनकपुरधाम’ नामक उक्त पाठ्यपुस्तकलाई चालु शैक्षिकसत्रमा कक्षा १ देखि ३ सम्मका लागि लागू गरिसकेको छ भने आगामी शैक्षिकसत्रदेखि यसको दायरालाई कक्षा ८ सम्म विस्तार गर्ने तयारी गरेको छ। स्थानीय इतिहास, भाषा, साहित्य, कला, संस्कृति, धार्मिक सम्पदा तथा मौलिक पहिचानलाई विद्यार्थीमाझ पुर्याउने प्रमुख उद्देश्यका साथ यो पाठ्यक्रम तयार पारिएको हो।
पाठ्यक्रम कार्यान्वयनको अन्तिम तयारी पूरा भएको उपमहानगरपालिकाले जनाएको छ। गत शुक्रबार एक औपचारिक कार्यक्रमका बीच पाठ्यक्रमका लेखक डा. हेमप्रसाद साहले नगरप्रमुख मनोजकुमार साहलाई उक्त पाठ्यक्रम हस्तान्तरण गर्नुभएको थियो। यस हस्तान्तरणसँगै जनकपुरधाममा स्थानीय भाषाको शिक्षालाई प्रवर्धन गर्ने सरकारी प्रतिबद्धता थप स्पष्ट भएको छ।
पाठ्यक्रम ग्रहण गर्दै नगरप्रमुख मनोजकुमार साहले जनकपुरधामभित्रका सबै विद्यालयमा कक्षा १ देखि ८ सम्म मैथिली माध्यमबाट स्थानीय पाठ्यक्रम अनिवार्य रूपमा लागू गरिने जानकारी दिनुभयो। उहाँले यस पाठ्यक्रमले विद्यार्थीहरूलाई आफ्नै भाषा, इतिहास, संस्कृति, धार्मिक तथा सांस्कृतिक सम्पदाबारे तथ्यमा आधारित ज्ञान प्राप्त गर्न मद्दत पुग्ने बताउनुभयो। नगरप्रमुख साहका अनुसार, “मैथिली भाषाको यस पाठ्यक्रमले विद्यार्थीहरूमा आफ्नो पहिचानप्रति गौरव र अपनत्वको भावना विकास गर्नेछ, जसले भाषिक र सांस्कृतिक संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ।”
जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख तथा पाठ्यक्रम लेखा तथा मस्यौदा समितिका संयोजक अन्जु पाण्डेले स्थानीय सरकार सञ्चालन ऐन र राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को व्यवस्थालाई आधार मानी स्थानीय आवश्यकता, भाषा, संस्कृति र पहिचानलाई केन्द्रमा राखेर पाठ्यक्रम तयार पारिएको जानकारी दिनुभयो। यसले संवैधानिक र कानुनी आधारमा स्थानीय शिक्षालाई सुदृढ गरेको उहाँको भनाइ छ।
उहाँका अनुसार, यस पाठ्यक्रममा जनकपुरधामको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा, स्थानीय भाषा, साहित्य, कला, चाडपर्व, सामाजिक मूल्य–मान्यता, प्राकृतिक सम्पदा तथा स्थानीय जीवनशैली लगायतका विविध विषयवस्तुहरू समेटिएका छन्। यसले विद्यार्थीहरूलाई आफ्नो परिवेशको समग्र ज्ञान प्रदान गर्नेछ। संयोजक पाण्डेले थप भन्नुभयो, “यो पाठ्यक्रमले स्थानीय ज्ञान, सीप र संस्कृतिको संरक्षण तथा प्रवर्धनमा दीर्घकालीन योगदान पुग्ने अपेक्षा गरिएको छ। धेरैको मेहनत र विशेषज्ञताका बाबजुद यो पाठ्क्रम बनाउन सफल भएका छौं, जसलाई चालु शैक्षिक सत्रमा कक्षा १ देखि ३ सम्म र आगामी शैक्षिक सत्रमा कक्षा ८ सम्म पूर्ण रूपमा लागू गरिनेछ।”
शिक्षा शाखा प्रमुख अन्जु पाण्डेको नेतृत्वमा तयार गरिएको उक्त पाठ्यक्रम मस्यौदा तथा लेखन समितिमा श्यामसुन्दर शशि, सुनिल मल्लिक र विनिता ठाकुरले विज्ञका रूपमा महत्वपूर्ण योगदान पुर्याएका छन्। उनीहरूको विशेषज्ञता र निरन्तर प्रयासका कारण एउटा व्यापक र गुणस्तरीय स्थानीय पाठ्यक्रम निर्माण सम्भव भएको हो, जसले जनकपुरधामको शैक्षिक र सांस्कृतिक विकासमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।
