त्रिशूली (नुवाकोट), भदौ ३० गते । भोटेकोशी नदीमा आएको बाढीले त्रिशूली नदीको जलस्तर असामान्य रूपमा बढाएपछि नुवाकोटका माथिल्लो त्रिशूली थ्री ‘ए’ र थ्री ‘बी’ जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी तथा कामदारहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ। नेपाली सेनाको नेतृत्वमा संयुक्त सुरक्षा फौज यो जटिल कार्यमा खटिएको छ।
माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनाका प्रमुख आनन्द ढुङ्गेलका अनुसार, बाढीपछि आयोजना र परामर्शदाताका तर्फबाट कार्यरत ४४ जना कर्मचारी सम्पर्कविहीन भएका छन्। यसका अतिरिक्त, आयोजनाको निर्माणमा संलग्न दुई वटा कम्पनीमा आबद्ध चार जना चिनियाँ नागरिकसहित १४२ जना कर्मचारी तथा कामदार बाढीमा फसेको आशङ्का गरिएको छ, जसअनुसार कूल १८४ जनाको खोजी भइरहेको छ।
खोज तथा उद्धार कार्यको आज जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहित सुरक्षा निकायका प्रमुखहरूले स्थलगत अवलोकन गर्नुभएको छ। उहाँहरूले उद्धारमा खटिएका सुरक्षाकर्मीहरूसँग भइरहेको प्रगति, देखिएका चुनौती र आवश्यक सहजीकरणका सम्बन्धमा जानकारी लिनुभयो।
माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् केन्द्रबाट बाढी आएको १० दिनपश्चात् दुई जनाको सकुशल उद्धार गरिएको थियो भने सोही क्रममा एक जनाको पहिचान नखुलेको शवसमेत भेटिएको थियो। थ्री ‘ए’ को विद्युत् उत्पादन गृहसहितको सुरुङ क्षेत्रमा संयुक्त सुरक्षा फौजले यसअघि नै खोज तथा उद्धार कार्य सम्पन्न गरिसकेको छ। हाल क्षतिग्रस्त स्थानहरूमा भग्नावशेष हटाउने कार्य जारी छ।
माथिल्लो त्रिशूली थ्री ‘बी’ मा भने सुरुमा प्रशासनिक भवन र पाँच वटा आवासीय भवनहरूमा खोजी गरिएको थियो, तर ती संरचनाहरू बाढीले बगाएर लगेको पाइएको छ। आयोजना प्रमुख ढुङ्गेलका अनुसार, अब कर्मचारी तथा कामदार हुनसक्ने सम्भावित स्थानका रूपमा विद्युत् उत्पादन गृहका लागि निर्माणाधीन भवन मात्र बाँकी रहेको छ। सोही क्षेत्रमा हेभी उपकरण प्रयोग गरी उत्खनन तथा भग्नावशेष हटाउँदै खोजीकार्यलाई तीव्र पारिएको छ।
बाढीका कारण आयोजना क्षेत्र दलदले लेदोसहितको बगरमा परिणत भएको र भौगोलिक अवस्था अत्यन्त जोखिमपूर्ण बनेको बहादुर श्री शेरगण नुवाकोटका गणपति, प्रमुख सेनानी आविष्कार ढुङ्गानाले जानकारी दिनुभयो। निर्माणाधीन भवनको अग्रभागका पाँच वटा पिल्लर देखिए पनि अन्य संरचना बाढीले बगाएर लगेको पाइएको छ। हालसम्म थप केही पत्ता लाग्न नसकेको उहाँले बताउनुभयो।
त्रिशूली थ्री ‘बी’ मा नेपाली सेनाका सेनानी केशव थापाको नेतृत्वमा ८६ जना र सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक प्रेमसिंह धामीको नेतृत्वमा १० जनाको टोली खटिएको छ। सुरुमा चीन, अष्ट्रेलिया, क्यानडा र दुबईबाट आएका उद्धार विज्ञसमेत परिचालन गरिए पनि अहिले जलविद्युत् आयोजनाका विज्ञसहित नेपाली टोलीले कार्यभार सम्हालेको छ। सेनानी थापाका अनुसार, नेपाल विद्युत् प्राधिकरण तथा जलविद्युत् क्षेत्रका विज्ञहरूसँगको परामर्शमा आवश्यक यन्त्र–उपकरण र स्रोतसाधन परिचालन गरी खोजी कार्य भइरहेको छ।
बाढीपछिको असहज परिस्थितिका बाबजुद नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित सम्बन्धित प्राविधिक विज्ञहरूको संयुक्त टोलीले दुवै जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी तथा कामदारको खोजीका लागि सम्भावित स्थानहरूमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ।
