बागलुङ, चैत १० गते। देशकै प्रतिष्ठित धार्मिक शक्तिपीठ बागलुङ कालिका मन्दिर परिसरमा बागलुङको मौलिक र ऐतिहासिक महत्त्व बोकेको वृहत् चैत्राष्टमी मेलाको भव्य शुभारम्भ भएको छ। चैत शुक्ल अष्टमीको अवसरमा हरेक वर्ष आयोजना हुने यो मेलाले बागलुङको धार्मिक, सांस्कृतिक र पर्यटकीय पहिचानलाई थप उचाइ दिएको छ।
मेलाको मंगलबार उद्घाटन गर्दै गुठी संस्थानका अध्यक्ष रमेश पोखरेलले बागलुङ कालिका मन्दिरको महत्त्व बढाउन सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले गुठी संस्थानले देशभरका मौलिक तथा ऐतिहासिक सम्पदाहरूको संरक्षण र प्रवर्द्धन गर्दै आएको बताउनुभयो। अध्यक्ष पोखरेलले आगामी दिनमा पनि मौलिक कला र संस्कृति संरक्षणमा निरन्तर साथ दिनेमा जोड दिनुभयो।
उद्घाटन समारोहमा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले चैते दशैंलाई मौलिक चाड र स्थानीय कला संस्कृतिको संरक्षण गर्ने पर्वका रूपमा निरन्तरता दिनुपर्ने बताउनुभयो। चैते दशैंको महत्त्व देश विदेशमा पुगेको भन्दै यसलाई अझ व्यवस्थित बनाउन सबैले साथ दिनुपर्नेमा उहाँले जोड दिनुभयो।
मेलाको उद्घाटन कार्यक्रममा बागलुङको ऐतिहासिक हनुमान नाच प्रदर्शन गरिएको थियो। विभिन्न जातजाति तथा समुदायको मौलिक नृत्य र झाँकीहरूले कार्यक्रममा रौनक थपे। बागलुङ बजारबाट सुरु भएको झाँकीले कालिका मन्दिर परिक्रमा गरेर औपचारिक कार्यक्रम सुरु गरिएको थियो।
शनिबारसम्म चल्ने यस मेलालाई मौलिक र ऐतिहासिक बनाउन बागलुङ भगवती गुठी व्यवस्थापन समितिले तयारी गरेको छ। कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र खड्काका अनुसार, बुधबारदेखि खुला पुरुष तथा महिला भलिबल, छेलो हान्ने प्रतियोगिता र राष्ट्रिय तथा स्थानीय कलाकारको सांगीतिक प्रस्तुति रहनेछ।
मेलामा ग्रामीण क्षेत्रमा बनेका मौलिक घरायसी सामग्रीसहित रमाइलो मेला र सयौं व्यापारिक स्टल पनि राखिएको छ। मेलालाई व्यवस्थित बनाउन गुठीले स्थानीय प्रशासन, सुरक्षा निकाय लगायतसँग समन्वय गरेको अध्यक्ष खड्काले बताउनुभयो।
पाल्पाका राजा मणि मुकुन्दसेनकी छोरी विश्रवादेवीलाई पर्वतका राजा प्रतापी नारायण मल्लसँग विवाह गराइदिंदा ल्याएको दाइजो कालीकाको मूर्ति बिसाएको स्थानबाट उठाउन नसकेपछि विक्रम संवत् १५९१ देखि विधिपूर्वक मन्दिर स्थापना गरी पूजा गर्न थालिएको किंवदन्ती छ। यस किंवदन्तीले मन्दिरको प्राचीनता र धार्मिक महत्त्वलाई उजागर गर्छ।
चैते दशैं र बडादशैंमा सयौं भक्तजन स्वतःस्फूर्त आउने भएकाले कालिका मन्दिरमा नित्य पूजाका साथै व्यवस्थापकीय काम गुठीले गर्दैआएको छ। यस मेलाले बागलुङको धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्न र स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।
