१६ वर्षीया इनिसा विकको बलात्कार तथा हत्या प्रकरण: अनुसन्धान अन्तिम चरणमा, चारै जनाविरुद्ध मुद्दा चलाउने तयारी
सुर्खेत, चैत १० । सुर्खेतमा १६ वर्षीया बालिका इनिसा विकको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ। गत फागुन २३ गते मृत फेला परेकी इनिसाको शव अठार दिनदेखि कर्णाली प्रदेश अस्पतालको शव गृहमा राखिएको छ। पीडित परिवारले न्याय नपाएसम्म इनिसाको शव दाहसंस्कार नगर्ने अडान लिएका कारण शव अझै बुझाइएको छैन। यस घटनामा पक्राउ परेका चारै जनाविरुद्ध मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
इनिसाका बुवा इन्द्रबहादुर विकले छोरीको हत्यारालाई कारबाही नभएसम्म शव नबुझ्ने अडान व्यक्त गरेका छन्। ‘छोरीको ज्यान गइसकेको छ, हामी उसको शव ल्याएर के गरौँ,’ उनले भने, ‘न्याय निरुपणमा ढिलाइ हुनु भनेको न्याय नपाए सरह हो, हामीलाई छिटो न्याय दिइयोस्।’ दुबईमा रोजगारीमा रहेका इन्द्रबहादुरको बिदा सकिन लागेको र यता छोरीको दाहसंस्कार गर्न नसकेको अवस्थाले उनी चिन्तित छन्। न्यायमा ढिलाइ हुँदा घटना झनै रहस्यमय बन्दै जाने हो कि भन्ने शंका उनले व्यक्त गरेका छन्। पीडित परिवारले घटना लगत्तै सामूहिक बलात्कार र कर्तव्य ज्यानको आरोपमा पक्राउ परेका चारै जनाविरुद्ध किटानी जाहेरी दिएका थिए। इनिसालाई न्याय माग्दै देशैभर प्रदर्शन र दबाबका कार्यक्रमहरू जारी छन्।
घटना लगत्तै फागुन २३ गते जबरजस्ती करणीको आरोपमा एक १६ वर्षीय किशोरलाई घटनास्थलबाट नियन्त्रणमा लिइएको थियो। पक्राउ परेका किशोरको बयानका आधारमा फागुन २४ गते थप तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको थियो। घटनाको संवेदनशीलता र देशव्यापी दबाबका कारण केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को एक विज्ञ टोली पनि सुर्खेत आएको थियो। सीआईबीको टोलीले अनुसन्धान सकेर काठमाडौं फर्किसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए। उनका अनुसार, अनुसन्धानको अन्तिम चरणमा पुगिएको छ र दुई वटा ल्याब रिपोर्टको प्रतीक्षा भइरहेको छ।
डीएसपी बुढथापाका अनुसार, टक्सिकोलोजिकल, भिसेरा र बायो सेरोलोजिकल रिपोर्ट आउन बाँकी छ भने पोस्टमार्टम, सीआईबी र डिजिटल रिपोर्ट आइसकेका छन्। अनुसन्धानको महत्त्वपूर्ण पाटो मानिएको पोस्टमार्टम रिपोर्ट यसअघि नै आइसकेको छ। बाँकेको भेरी अस्पतालका फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्य नेतृत्वको टोलीले कर्णाली प्रदेश अस्पताल पुगेर इनिसाको शव पोस्टमार्टम गरेको थियो। पोस्टमार्टम रिपोर्टमा बलपूर्वक शारीरिक सम्बन्धपछि संवेदनशील अंगमा गम्भीर चोट लागि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको उल्लेख छ।
घटनास्थलबाट पक्राउ परेका मुख्य १६ वर्षीय युवकले इनिसासँग शारीरिक सम्बन्ध राखेपछि अत्यधिक रक्तस्रावका कारण उनी अचेत भएको बयान दिएका छन्। उनले इनिसा बोल्न छाडेपछि आत्तिएर दुई/तीन जना मिल्ने साथीलाई फोन गरेको बताए। अन्य तीन जनाले भने आफूहरू सहयोगका लागि घटनास्थलमा पुगेको बताएका छन्। प्रहरीले ती युवकहरूको बयान, सीसीटीभी फुटेजको समय र कल डिटेल्सहरू मेल खाएको जनाएको छ।
प्रहरीका अनुसार, इनिसा घटनाको अनुसन्धान ९९ प्रतिशत पूरा भइसकेको छ र पक्राउ परेका चारै जनाविरुद्ध मुद्दा चलाउने तयारी भइसकेको छ। अनुसन्धानका सबै प्रतिवेदनहरू एक–दुई दिनभित्र सरकारी वकिल कार्यालयमा हस्तान्तरण गरिनेछ। फागुन २३ गते पक्राउ परेका १६ वर्षीय युवक र इनिसा केही समयदेखि प्रेम सम्बन्धमा रहेको र पूर्वसल्लाह अनुसार नै २३ गते बिहान शहीद पार्क नजिकैको जंगलमा गएको अनुसन्धानले देखाएको छ। ती किशोरले आफूहरूबीच सहमतिमै शारीरिक सम्पर्क भएको र त्यसपछि इनिसाको यौनांगबाट अत्यधिक रगत बगेर उनी अचेत भएकी बयान दिएका छन्।
प्रहरीलाई दिएको बयानमा १६ वर्षीय ती किशोरले साथीहरूको सहयोग मात्र मागेको र सामूहिक बलात्कार नभएको बताएका छन्। प्रहरीका अनुसार, २४ गते पक्राउ परेका अन्य तीन जना युवकको प्रत्यक्ष संलग्नता पुष्टि भएको छैन, तर उनीहरू सहयोगको लागि करिब ९ बजे घटनास्थलमा पुगेको सीसीटीभी फुटेजले पुष्टि गर्छ। अन्य तीन युवक घटनामा प्रत्यक्ष संलग्न नभए पनि घटनास्थलमा लापरबाही गरेको प्रहरीको ठहर छ। उनीहरूले समयमै प्रहरीलाई खबर नगरेको र अन्य मानिसहरूलाई ढिला जानकारी दिएको लगायतका केही सामान्य कैफियत देखिएकाले उनीहरूविरुद्ध पनि मुद्दा चलाइने बताइएको छ।
