मुटुको आपत्कालीन अवस्था भन्नाले तत्काल उपचार नगरे जीवन जोखिममा पर्ने स्थिति हो। मुटुले दिमागसहित शरीरका विभिन्न अंगमा अक्सिजन र पोषणयुक्त रगत प्रवाह गर्छ। यी अत्यावश्यक तत्वको आपूर्ति पाँच मिनेटभन्दा बढी अवरुद्ध भएमा दिमागको स्थायी क्षति भई जीवनको अन्त्य हुन सक्छ, अतः उपचारमा ढिलाइ घातक हुन्छ। मुटुजन्य आपत्कालमा रक्तसञ्चार अवरुद्ध भई अंगमा आपूर्ति घट्दा ज्यान खतरामा पर्छ। अस्पताल पुर्याउन वा उपचार सुरु गर्नमा हुने विलम्बका कारण धेरैले ज्यान गुमाएका छन्। मुटुजन्य आपत्कालमा घरमै उपचार खोज्ने वा लक्षण नभएको भन्दै टार्ने प्रवृत्ति गलत छ, तत्काल अस्पतालको इमर्जेन्सी विभागमा पुग्नैपर्छ।
हृदयाघात: छातीको बीच भागमा असह्य पीडा
छातीको बीच भागमा छुरीले रोपे जस्तो वा ढुङ्गाले थिचे जस्तो असह्य पीडा हृदयाघातको प्रमुख लक्षण हो। यससँगै मृत्युको भय, अत्यधिक पसिना र वाकवाकी देखा पर्छन्। छाती दुख्न सुरु भएको पहिलो एक घण्टालाई ‘स्वर्ण घण्टा’ (Golden Hour) भनिन्छ, जसमा उपचार गरे मुटुलाई पूर्ण क्षतिबाट बचाउन सकिन्छ; ढिलाइ भए स्थायी क्षति हुन्छ। तसर्थ, छाती दुख्नेबित्तिकै घरमै समय बर्बाद नगरी तुरुन्तै अस्पतालको इमर्जेन्सी विभागमा जानुपर्छ। अस्पताल पुग्नुअघि एस्पिरिन चुस्ने, जिब्रोमुनि सोरबिट्रेट राख्ने, कपडा फुकाल्ने र खुला हावामा बस्ने जस्ता प्राथमिक उपचार अपनाउन सकिन्छ। बिरामी बेहोस भएमा र नाडी बन्द भएमा, तत्काल छातीको मसाज (CPR) र कृत्रिम श्वास दिई अस्पताल नपुगुन्जेल बचाउने प्रयास गर्नुपर्छ।
दम धेरै बढ्नु: मुटु निष्क्रिय भएको संकेत
मुटुले काम गर्न छाडेपछि दम बढ्छ, जुन ‘मुटु फेल’ (Heart Failure) को महत्त्वपूर्ण खतराको घण्टी हो। आरामसाथ बस्दा वा सामान्य हिँडडुल गर्दा पनि अत्यधिक दम बढ्ने, वा सुतेको केही समयमै निसास्सिएर उठ्ने अवस्था मुटु निष्क्रियताको गम्भीर चरण मानिन्छ। दमसँगै खोकी, कफमा रगत र खुट्टा सुन्निने लक्षण हुन सक्छन्। यस्तो अवस्थामा तत्काल अस्पतालको इमर्जेन्सी विभागमा जानुपर्छ। घरमा प्राथमिक उपचारका रूपमा, खुट्टा तल झार्ने र टाउकोलाई सकेसम्म माथि उठाउने गरी बस्नुपर्छ; झोल पदार्थ पिउनु हुँदैन।
मुटुको धड्कन असामान्य हुनु
मुटुको गति प्रतिमिनेट ४० भन्दा कम वा १५० भन्दा बढी भएमा आपत्कालीन अवस्था हो, जसले चक्कर लाग्ने र बेहोस हुने खतरा निम्त्याउँछ। दिमागमा पर्याप्त रक्तप्रवाह नहुँदा क्षति पुग्छ, अतः चाँडो धड्कन सामान्य बनाउन उपचार सुरु गर्नुपर्छ। प्राथमिक उपचारका रूपमा, मुटु छिटो चलेमा गहिरो श्वास तानेर रोक्ने, आँखामा चिसो रुमाल राख्ने वा उल्टी गराउने प्रयास गर्न सकिन्छ। यदि मुटु धेरै छिटो चलेर बिरामी बेहोस भयो, रक्तचाप घट्यो र जीवन जोखिममा देखियो भने, दायाँ हात मुठी कसेर बिरामीको छातीको बीच भागमा एकपटक बेस्सरी बजार्नुपर्छ, जसले विद्युतीय झट्का (Shock) दिए जस्तै काम गरी ज्यान बचाउन सक्छ।
उच्च रक्तचापको आपत्कालीन अवस्था
यदि रक्तचाप १८०/११० मिमी वा सोभन्दा बढी पुग्यो र साथमा चक्कर लाग्ने, छाती दुख्ने, दम बढ्ने वा आँखा धमिलो देख्ने जस्ता लक्षण देखा परेमा यो आपत्कालीन अवस्था हो। यस्तो स्थितिमा तुरुन्त अस्पताल भर्ना भएर उपचार गर्नु अनिवार्य हुन्छ। यदि रक्तचाप धेरै बढेको छ तर कुनै लक्षण छैन भने डाक्टरको सल्लाहअनुसार घरमै औषधी सेवन गर्न सकिन्छ। तर, लक्षणहरू देखिएमा वा असहज महसुस भएमा अस्पताल भर्ना भएरै उपचार गर्नुपर्छ। उच्च रक्तचापलाई बेवास्ता गर्दा हृदयाघात, मस्तिष्कघात, अन्धोपन वा मिर्गौला फेल जस्ता गम्भीर परिणाम भोग्नुपर्ने हुन सक्छ। प्राथमिक उपचारका रूपमा: तातोपानी पिउने, नुन त्याग्ने, खुट्टा झुन्ड्याएर टाउको माथि पारी बस्ने, आँखा बन्द गर्ने; रक्तचाप घटाउने औषधी (जस्तै: डिपिन पाँच मिलिग्राम मुखमा राखेर चुस्ने) भए सेवन गर्न सकिन्छ।
एक्लै हुँदा आपत्कालीन स्व-उपचार (खोकी विधि)
यदि बिरामी एक्लै भएको अवस्थामा मुटुको गति बन्द हुने स्थिति आई चक्कर लाग्ने र बेहोस हुने खतरा १० सेकेन्डभित्रै देखियो भने, जोडसँग खोक्न सुरु गर्नुपर्छ। खोकी कफ निकाल्न सक्ने जति जोडका साथ हुनुपर्छ। प्रत्येक दुई–दुई सेकेन्डमा एकपटक गहिरो सास लिने र जोडसँग खोक्ने प्रयास जारी राख्नुपर्छ। यसले कृत्रिम श्वास र मुटुको बाहिरी मसाज (Heart Massage) गर्दाको जस्तै लाभ दिन्छ र अस्पताल नपुगुन्जेल बिरामीलाई बचाउन मद्दत गर्छ।
