असोज २, २०८३ शुक्रबार १६:४२:५४
काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकारका गलत नीति तथा कदमहरूविरुद्ध चाडपर्व लगत्तै राष्ट्रव्यापी आन्दोलन चर्काउने चेतावनी दिएका छन्। उनले नयाँ भनिएको सरकारले जनविरोधी गतिविधि गर्दै दमन, ज्यादती र अत्याचार सुरु गरेको आरोप लगाएका छन्।
शुक्रबार ललितपुरमा आयोजित अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले संसदभित्र प्रतिपक्षी दलहरूलाई एकताबद्ध गरी सरकारलाई खबरदारी गर्ने र सडकमा भने सुकुम्वासी, मजदुर, किसान, विद्यार्थी तथा ट्रेड युनियनसहितका विभिन्न जनवर्गीय संगठनहरूलाई समेटेर सशक्त सडक संघर्षमा उत्रने रणनीति सार्वजनिक गरे। उनले चाडपर्व सकिएलगत्तै उक्त आन्दोलनको स्वरूप र कार्यक्रम घोषणा गरिने संकेत दिए।
कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले मुलुकले हाल गम्भीर राजनीतिक चुनौतीहरूको सामना गरिरहेको बताउँदै वैदेशिक हस्तक्षेप र प्रतिक्रान्तिको खतरा बढ्दै गएकोमा चिन्ता व्यक्त गरे। उनले राष्ट्रियता र लोकतन्त्रको रक्षाका लागि सम्पूर्ण कम्युनिस्ट तथा वामपन्थी शक्तिहरूबीच व्यापक एकता र ध्रुवीकरण अपरिहार्य रहेकोमा जोड दिए। भाद्र २४ गते भएको घटनाक्रमले कम्युनिस्टहरूबीच नयाँ शिराबाट एकता प्रक्रिया अघि बढाउन नेतृत्वलाई दबाब र ऊर्जा प्रदान गरेको उनको भनाइ थियो। देशलाई विद्यमान सङ्कटबाट मुक्त गर्न र प्रतिक्रान्तिकारी प्रयासहरूलाई निस्तेज पार्नका लागि यो एकता अत्यावश्यक रहेको उनले प्रष्ट पारे।
प्रचण्डले ‘पुराना पार्टी र नेताहरूले विगत ३५ वर्षमा केही गरेनन्’ भनी फैलाइएको भ्रमपूर्ण भाष्यको खण्डन गरे। उनले आफ्नै नेतृत्वमा विभिन्न समयमा भएका प्रमुख विकास तथा पूर्वाधारका कामहरूको स्मरण गराउँदै देशको समग्र विकासमा कम्युनिस्ट आन्दोलनको महत्वपूर्ण भूमिका रहेको जिकिर गरे। उनले विकास र समृद्धिका लागि कम्युनिस्ट शक्तिहरूले खेलेको भूमिकालाई अवमूल्यन गर्ने प्रयास भइरहेको आरोप लगाए।
सोही बैठकमा नेकपाका सह-संयोजक माधवकुमार नेपालले पनि देश ठूलो संकटमा फसेको र बाह्य शक्तिहरूको चलखेलका कारण राष्ट्रियता जोखिममा परेको उल्लेख गरे। उनले दुई ठूला छिमेकी मुलुकको बीचमा अवस्थित नेपाललाई विदेशीहरूको खेलमैदान बन्न दिन नहुनेमा जोड दिए। नेपालको भूराजनीतिक संवेदनशीलतालाई मनन गर्दै राष्ट्रिय हित र सार्वभौमिकताको संरक्षणमा सबै राजनीतिक शक्तिहरू गम्भीर हुनुपर्ने उनको भनाइ थियो।
