चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आफ्ना माग सम्बोधनका लागि धनगढीमा सुरु गरेको धर्नाका कारण उनको स्वास्थ्य अवस्था चिन्ताजनक बन्न थालेपछि सरकारले तत्काल संवादको पहल थालेको छ। स्वास्थ्य क्षेत्रमा लामो समयदेखि विकृति र विसंगति अन्त्यको माग गर्दै आएका डा. केसी यस पटक पनि आफ्ना सरोकारहरू राख्दै सत्याग्रहमा बसेका हुन्, जसका कारण उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले डा. केसीसँग संवादमार्फत सहमतिपूर्ण समाधान खोज्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्। शनिबार डा. केसीको स्वास्थ्यमा समस्या देखिएको र अवस्था जटिल बन्दै गएको सूचना सार्वजनिक भएलगत्तै मन्त्री पोखरेलले सामाजिक सञ्जालमार्फत सरकार वार्ताका माध्यमबाट समस्या समाधान गर्ने प्रयासमा रहेको जानकारी गराएका हुन्। उनले सरकार डा. केसीले उठाएका हरेक विषयमा सकारात्मक र गम्भीर रहेको जनाएका छन्।
मन्त्री पोखरेलले आफूले शुक्रबार साँझ नै डा. गोविन्द केसीसँग टेलिफोनमार्फत प्रत्यक्ष संवाद गरेको र त्यसको निरन्तरतास्वरूप शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चुणामणि पौडेललाई धनगढी पठाइएको जानकारी दिए। सचिव पौडेलको धनगढी भ्रमण वार्तालाई औपचारिक रूपमा अघि बढाउने तथा डा. केसीले राखेका माग तथा सरोकारका विषयमा प्रारम्भिक छलफल गर्ने उद्देश्यले गरिएको मन्त्रालयले स्पष्ट पारेको छ।
संवादलाई थप प्रभावकारी र उच्चस्तरीय बनाउन आइतबार प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जे.पी. अग्रवाल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव पनि धनगढी पुगेर वार्तामा सहभागी हुने कार्यक्रम रहेको छ। यस उच्चस्तरीय टोलीको सहभागिताले डा. केसीले उठाएका मागहरूप्रति सरकारको गम्भीरता र शीघ्र समाधानको दृढता प्रदर्शन गरेको छ।
स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रमा सुधारका लागि दशकौँदेखि निरन्तर आन्दोलन गर्दै आएका डा. केसीको पछिल्लो धर्ना पनि यिनै जनमुखी मागहरूसँग सम्बन्धित रहेको बुझिएको छ। उनका हरेक आन्दोलनले सार्वजनिक स्वास्थ्य सेवा र शिक्षामा पहुँच, गुणस्तर, पारदर्शिता र जवाफदेहिताका विषयमा गम्भीर बहस सिर्जना गरेका छन्। विगतमा पनि सरकारले डा. केसीसँग पटकपटक वार्ता गरी सहमति गर्दै आएको पृष्ठभूमि छ, त्यसकारण यसपटक पनि सहमतिबाटै निकास निस्कनेमा सरकार विश्वस्त रहेको छ।
मन्त्री पोखरेलले सरकारले संवाद र सहकार्यका माध्यमबाट डा. केसीले उठाएका जायज मागहरूमा यथाशीघ्र सहमतिपूर्ण समाधानमा पुग्ने प्रतिबद्धता दोहोर्याएका छन्। उनले डा. केसीको जीवन रक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताउँदै, उनको स्वास्थ्यमा थप जटिलता नआओस् भन्नेमा सरकार सचेत रहेको र त्यसका लागि आवश्यक सबै प्रयास भइरहेको समेत उल्लेख गरेका छन्। सरकारले डा. केसीको स्वास्थ्य अवस्था नजिकबाट नियाल्दै आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन तयार रहेको जनाएको छ।
हाल धनगढीमा सरकारी प्रतिनिधिमण्डल र डा. केसीबीचको वार्ताले कुन रूप लिन्छ र उनका मागहरूमा कसरी सहमति जुट्छ, त्यसको प्रतीक्षा सबैले गरेका छन्। यस संवेदनशील अवस्थामा डा. केसीको स्वास्थ्यलाई मध्यनजर गर्दै दुवै पक्षबाट लचकताका साथ समाधान खोजिनुपर्नेमा जोड दिइएको छ। सरकारले संयमता र उत्तरदायित्वका साथ संवाद प्रक्रियालाई अगाडि बढाउँदै यथाशीघ्र निकास निकाल्नेमा सरोकारवालाहरूले आशा व्यक्त गरेका छन्।
