काठमाडौं, भदौ ५ गते । बालश्रम उन्मूलनको क्षेत्रमा विगत तीन दशकदेखि निरन्तर सक्रिय नेपाल गुडवीभ फाउन्डेशनको ३१ औँ वार्षिक साधारण सभाले किरण थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । गलैँचा कारखानाबाट बालश्रमको समूल अन्त्य गर्ने पवित्र उद्देश्यका साथ स्थापित यस संस्थाले आफ्नो ३० वर्ष लामो यात्रामा हजारौं बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सफल भएको छ । साधारण सभाले नयाँ नेतृत्व चयन गर्दै आगामी कार्यकालका लागि संस्थाको अभियानलाई थप ऊर्जा र गतिशीलता प्रदान गर्ने अपेक्षा गरिएको छ ।
नवनिर्वाचित कार्यसमितिमा थापाको नेतृत्वसँगै उपाध्यक्ष पदमा डा. रूपा मुनाकर्मी चुनिनुभएको छ भने महासचिवको जिम्मेवारी सन्तोष महर्जनले सम्हाल्नुभएको छ । यसैगरी, कार्यसमितिको रिक्त सदस्य पदमा स्वस्तिका सुवेदी र आशितोष कार्की निर्वाचित हुनुभएको छ । यो नयाँ टोलीले फाउन्डेशनको स्थापित उद्देश्य र बालश्रम विरुद्धको अभियानलाई थप सशक्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।
साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै समाज कल्याण परिषद्का सदस्यसचिव तथा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव चक्रबहादुर बुढाले राष्ट्रिय विकास र समृद्धिका लागि सामाजिक संघ संस्थाहरूले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सामाजिक क्षेत्रमा सक्रिय संस्थाहरूलाई प्रोत्साहन गरिनुपर्ने र निष्क्रिय तथा उद्देश्यविहीन संस्थाहरूलाई नियमनमार्फत बन्द गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । यो कदमले सामाजिक क्षेत्रमा सुशासन कायम गर्न र वास्तविक सेवा प्रवाहलाई सुनिश्चित गर्न मद्दत पुग्ने उहाँको भनाइ थियो ।
बुढाले सामाजिक संस्थाहरूलाई आफ्नो घोषित उद्देश्य अनुसार परिणाममुखी कार्य गर्न आग्रह गर्दै राज्य र सामाजिक संस्थाहरूबीचको प्रभावकारी समन्वयले मात्र विकासका गतिविधिहरूलाई अपेक्षित गति दिन सकिने स्पष्ट पार्नुभयो । उहाँले बालश्रम उन्मूलन जस्ता संवेदनशील मुद्दामा काम गर्ने संस्थाहरूले थप जिम्मेवारीबोधका साथ कार्य गर्नुपर्नेमा जोड दिनुभयो । सामाजिक संस्थाहरूले पारदर्शिता र जवाफदेहिताका साथ काम गरेमा मात्र जनताको विश्वास जित्न सकिने र उनीहरूको योगदानको कदर हुने उहाँको धारणा थियो ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष अर्जुन भट्टराईले नेपाल गुडवीभ फाउन्डेशनले बालश्रम उन्मूलनको क्षेत्रमा गर्दै आएको अतुलनीय योगदानको खुलेर प्रशंसा गर्नुभयो । उहाँले फाउन्डेशनले ३० वर्षको अवधिमा हजारौं बालबालिकालाई शिक्षा र सुरक्षित भविष्य प्रदान गरी समाजमा सकारात्मक परिवर्तन ल्याउन सफल भएको उल्लेख गर्नुभयो । नवनिर्वाचित अध्यक्ष किरण थापाले संस्थाको स्थापनाकालदेखिको यात्रा, यसको विकासक्रम र पछिल्लो समय सञ्चालित विभिन्न गतिविधिको विस्तृत जानकारी प्रस्तुत गर्दै आगामी रणनीतिक योजनाबारे प्रकाश पार्नुभएको थियो ।
फाउन्डेशनका कार्यवाहक अध्यक्ष बलराम गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बाल अभियन्ता तथा काठमाडौं विश्वविद्यालयकी प्राध्यापक डा. रूपा मुनाकर्मी, राष्ट्रिय कार्य समन्वय समूह नेपालका नरेन्द्र डंगोल र गोकर्णेश्वर नगरपालिकाकी मीना थापालगायत विभिन्न क्षेत्रका प्रतिनिधि तथा सरोकारवालाहरूले बालश्रम उन्मूलन र सामाजिक संस्थाको भूमिकाबारे आफ्ना धारणा राख्नुभएको थियो । यो साधारण सभाले नेपालमा बालश्रम विरुद्धको लडाईंमा नयाँ ऊर्जा र दिशा प्रदान गर्ने विश्वास गरिएको छ ।
