पूर्वप्रधानमन्त्री माधव नेपाल: जेनजी आन्दोलनदेखि वर्तमान राजनीतिको समीक्षासम्म
कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनमा लामो समयदेखि सक्रिय पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले जेनजी आन्दोलन, त्यसपछिको राजनीतिक परिवेश र वर्तमान शासन सञ्चालनका विविध पक्षबारे स्पष्ट पारेका छन्। नागरिक दैनिकका सम्पादकसँगको कुराकानीमा उनले आफ्नो राजनीतिक यात्रा, व्यक्तिगत अनुभव तथा समकालीन चुनौतीहरूबारे धारणा व्यक्त गरे।
पछिल्लो समय सार्वजनिक कार्यक्रममा कम देखिएका नेपालले आफ्नो समय अध्ययन, चिन्तनमनन, भेटघाट, संगठन निर्माण र कार्यकर्ता परिचालनमै बितिरहेको बताए। सञ्चारमाध्यममा पनि उपयुक्त र शिष्ट अन्तर्वार्तालाई मात्र प्राथमिकता दिने गरेको उनको भनाइ छ।
अघिल्लो वर्षको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आफ्नो घरमा समेत भएको आगजनी र क्षतिको स्मरण गर्दै उनले भने, “मेरो मात्रै होइन, माइलो, कान्छो भाइको घर, सिंगै दाजुभाइका घर जलाइए। मेरो सबैभन्दा ठुलो नोक्सानी मसँग भएका किताब र राष्ट्रका लागि अमूल्य दस्ताबेजहरू हुन्।” आगजनीपछि झन्डै तीन-चार महिना घरबाहिर बस्नुपरेको जानकारी दिँदै उनले घर पूर्णरूपमा तयार नभए पनि बस्नलायक भएको बताए।
जेनजी आन्दोलनको मूल कारणबारे अहिले नै निष्कर्षमा पुग्न नसकिने बताउँदै नेपालले तत्कालीन सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीको ‘अहंकार’ ले आन्दोलन भड्किएको आरोप लगाए। युवाहरूले अघि सारेका सुशासन, भ्रष्टाचारविरुद्ध र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने माग आफैंमा बेठीक नभएको उनको भनाइ छ। आन्दोलनलाई ‘हाइज्याक’ गरेर तोडफोड र सम्पदामाथि विनाश गरिएको कार्यलाई ‘योजनाबद्ध र निन्दनीय’ भन्दै दोषीमाथि कारबाहीको माग गरे।
आन्दोलनपछिको संकटपूर्ण अवस्थामा राष्ट्रपति भवनमा भएको छलफलबारे पनि उनले प्रकाश पारे। भदौ २६ गते राष्ट्रपतिले बोलाएको बैठकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूसहित केही नेताहरू रातभर छलफलमा बसेको बताउँदै उनले संसद् विघटन गर्नु नहुने अडान राखेको जानकारी दिए। प्रधानसेनापतिको उपस्थितिबारे प्रश्न उठ्नु स्वाभाविक भए पनि उनले दलहरूलाई बेवास्ता नगर्न र ‘गृहयुद्ध’ को अवस्था आउन सक्ने चेतावनी दिएको बताए। तत्कालीन समयमा पूर्वराजा ज्ञानेन्द्रलाई पुनः फर्काउने हल्ला चलेपछि आफूहरू आतिएको तर राजतन्त्र फर्काउनु ‘दुनियाँका सामु टाउको देखाउन नसक्ने’ अवस्था हुने धारणा व्यक्त गरे।
वर्तमान प्रधानमन्त्री र सरकारबारे टिप्पणी गर्दै नेपालले आफू र प्रधानमन्त्रीबीच खासै सम्बन्ध र सहकार्य नभएको बताए। संसद् र जनताबाहिर प्रधानमन्त्री जान नमिल्ने भन्दै उनले दलीय व्यवस्थामा जनप्रतिनिधिसँग सम्बन्ध राख्नुपर्नेमा जोड दिए। प्रधानमन्त्रीले आफ्नो स्वभाव सुधार गर्नुपर्ने उनको सुझाव छ।
संघीयता र समावेशिताका विषयमा पुनर्विचार गर्ने कुरा अस्वीकार्य रहेको बताउँदै उनले संविधान समाप्त गर्ने कुनै पनि षड्यन्त्र स्वीकार गर्न नसकिने स्पष्ट पारे। समाजवादप्रति प्रतिबद्धता दोहोर्याउँदै उनले जनतालाई केन्द्रमा राखेर सामाजिक न्याय र आर्थिक समृद्धिका लागि काम गर्नुपर्ने आवश्यकता औंल्याए।
वामपन्थी एकताको प्रयास र नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणको विषयमा नेपालले २२-२५ घटकलाई मिलाउन सजिलो नहुने बताए। एकतामा हतार गर्दा पछि पश्चात्ताप गर्नुपर्ने विगतको अनुभवबाट सचेत रहेको बताउँदै उनले युवाहरूलाई ५० प्रतिशतसम्म जिम्मेवारी दिने सोच रहेको र उनीहरू लोकतान्त्रिक तरिकाले अघि बढ्नुपर्ने बताए।
आफ्नो लामो राजनीतिक जीवनको समीक्षा गर्दै नेपालले १५ वर्ष नेकपा एमालेको महासचिव रहँदा स्वेच्छाले राजीनामा दिएको र पद ठूलो कुरा नभएको बताए। प्रधानमन्त्रीका रूपमा जलवायु परिवर्तन, जनता आवास कार्यक्रम र फास्ट ट्र्याकजस्ता काम अघि बढाएको उनले स्मरण गरे।
पतञ्जलीको जग्गासम्बन्धी नीतिगत भ्रष्टाचारको आरोपलाई उनले ‘केपी ओलीको राजनीतिक प्रतिशोध’ भने। यो मुद्दा प्रथम दृष्टिमै खारेज हुनुपर्ने उनको भनाइ छ, किनभने यसमा नेपाल सरकारको एक टुक्रा जग्गा पनि नभएको र राजस्व पनि लिइएको उनको दाबी छ।
ज्ञानेन्द्रको राज्याभिषेकमा दाम चढाएको विषयलाई तत्कालीन परिस्थितिको चलन बताए। दरबार हत्याकाण्डको छानबिन समितिमा नबसेको आरोपबारे उनले आफूले नै छानबिन समितिको कुरा उठाएको तर राजनीतिक विवादबाट बच्न र स्वतन्त्र छानबिनका लागि त्यसमा नबसेको स्पष्ट पारे। वर्तमान सरकारले छानबिन गर्छ भने गर्नुपर्ने उनको भनाइ छ।
