तस्बिर स्रोत, PRAKASH PARKI/BBC
डडेल्धुराको आलिताल गाउँपालिका–७ चाई गाउँमा दशैँको चहलपहल बढेको छ। करन कामीका छोरा हिमाल घरको भित्तामा कमेरो पोत्दै छन्, जुन परिवारमा चाडपर्वको आगमनको प्रतीक हो। परिवारका सदस्यहरू जमघट भएका छन्, तर यो रमाइलो क्षण केही दिनका लागि मात्रै हो। दशैँ सकिएलगत्तै उनीहरू रोजगारीका लागि फेरि भारत फर्किनेछन्।
करन कामीको पाँच सदस्यीय परिवार भारतको बेङ्गलोरमा बस्दै आएको छ। उनी र उनकी श्रीमती अरूका घरमा सरसफाइको काम गर्छन्। उनीहरूको यही कमाइले घर खर्च र तीन छोराको पढाइ धानिएको छ। २०८१ साल जेठमा रोजगारीका लागि भारत पुगेका करन असोजको तेस्रो साता दशैँ मनाउन गाउँ फर्किएका हुन्।
तस्बिर स्रोत, PRAKASH PARKI/BBC
कुलदेवताको पूजा गर्ने र परिवारसँग चाडपर्व मनाउने उनको मुख्य योजना छ। त्यसपछि फेरि बेङ्गलोर फर्किनु उनको बाध्यता हो। करन भन्छन्, “बेङ्गलोरमा घरहरूको सरसफाइको काम गर्छु, झाडु–पोछा लगाउँछु। श्रीमतीले पनि अरूका घरमा खाना पकाउने र सरसफाइकै काम गर्छिन्। त्यसैबाट आउने पैसाले आफ्नो र छोराहरूको पढाइ खर्च बेहोर्छौँ।” आफ्नै घरमा परिवारसँगै बस्ने रहर भए पनि गाउँमा रोजगारी नपाउँदा परदेश जानुपरेको उनको दुखेसो छ। “मजस्ता सामान्य लेखपढ गरेका मान्छेलाई यहाँ रोजगारी छैन। सरकारले रोजगारी दिएको भए हामी किन घर छाडेर भारत जान्थ्यौँ र?” उनी प्रश्न गर्छन्।
तस्बिर स्रोत, PRAKASH PARKI/BBC
चाई गाउँकै मङ्गल कामीको बाध्यता पनि करनको जस्तै छ। बेङ्गलोरमा चौकीदारको काम गर्ने उनी असोज २४ गते दशैँ मनाउन गाउँ फर्किएका हुन्। उनकी श्रीमती, छोरा र बुहारी पनि बेङ्गलोरमै बस्छन्। मङ्गल र उनका छोरा भीमले चौकीदारी गरेर परिवारको खर्च जुटाउँछन्। गाउँमा भएको थोरै जमिन अधियाँमा दिएर सपरिवार भारत गएका मङ्गलको परिवारका लागि पनि दशैँ घर फर्किने केही दिनको अवसर मात्रै हो। उनी भन्छन्, “आफ्नो देशमा रोजगारी छैन। अर्काको देशमा काम गर्न सजिलो छैन। परिवार पाल्नकै लागि भए पनि भारतमा गएर गुजारा गर्नुपरेको छ।” कोही नेपाल र कोही भारत बस्दा खर्च धेरै हुने भएकाले सपरिवार भारत पस्नु परेको उनको भनाइ छ। आफ्नो काममा अर्को व्यक्ति राखेर दशैँ मनाउन आएका मङ्गल पनि चाडपर्व सकिएपछि परिवारसहित बेङ्गलोर फर्किने योजनामा छन्। करन र मङ्गलको कथा सुदूरपश्चिमका हजारौँ परिवारको साझा कथा हो, जो रोजगारीका लागि परदेशिन बाध्य छन्।
तस्बिर स्रोत, PRAKASH PARKI/BBC
दशैँ र तिहारजस्ता चाडपर्वमा रोजगारीका लागि भारत तथा अन्य मुलुक पुगेका नेपाली घर फर्किएपछि गाउँघरमा चहलपहल बढ्छ। सहरमा पढ्ने विद्यार्थी, कर्मचारी र मजदुर पनि दशैँ मनाउन गाउँ पुग्छन्। मान्यजनबाट टीका–जमरा ग्रहण गर्ने, आशीर्वाद लिने र कुलदेवताको पूजा गर्ने परम्पराले उनीहरूलाई गाउँसँग जोडिराखेको छ। भारतसँग सीमा जोडिएका गौरीफन्टा र गड्डाचौकी नाकाबाट पनि दशैँका बेला ठूलो सङ्ख्यामा नेपाली स्वदेश फर्किन्छन्।
तस्बिर स्रोत, PRAKASH PARKI/BBC
प्रहरीको तथ्याङ्कअनुसार दशैँको समयमा गौरीफन्टा नाकाबाट दैनिक करिब २,५०० र गड्डाचौकीबाट १,५०० भन्दा बढी नागरिक सुदूरपश्चिम फर्किरहेका छन्। यसरी दैनिक करिब ४ हजारभन्दा बढी मानिस चाडपर्व मनाउन घर फर्किने गरेको देखिन्छ। तर दशैँ सकिएपछि गाउँको दृश्य फेरि बदलिन्छ। रोजगारीका लागि गाउँ छोडेर भारत फर्किनेहरूको लर्को लाग्छ। केही दिनअघि भरिभराउ भएका घर फेरि सुनसान बन्छन्। गाउँमा वृद्धवृद्धा र बालबालिका मात्रै रहने अवस्था दोहोरिन्छ। सुदूरपश्चिमका गाउँमा दशैँले आफन्तलाई जोड्छ, घरमा खुसी फर्काउँछ। तर पर्याप्त रोजगारीको अभावमा त्यो खुसी केही दिनमै छुट्टिनुपर्ने बाध्यतामा बदलिन्छ, जसले वर्षौंदेखि यस क्षेत्रलाई पिरोलिरहेको छ।
