२३ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले जेनजी आन्दोलनका शहीदहरूको बलिदान खेर जान नदिने दृढ प्रतिबद्धता व्यक्त गरेका छन् । सुशासनको पक्षमा आवाज उठाउँदै ज्यान गुमाएका शहीदहरूको योगदानलाई स्मरण गर्दै उनले उनीहरूको त्यागले राष्ट्रमा सुशासनको नयाँ मार्ग प्रशस्त गरेको बताएका हुन् ।
जेनजी शहीद दिवसका अवसरमा जेनजी शहीद कल्याणकारी समाजले आयोजना गरेको एक कार्यक्रममा बोल्दै सांसद सुनारले शहीदका परिवारजनलाई धैर्य धारण गर्न र उनीहरूको बलिदानलाई राष्ट्रले कहिल्यै नबिर्सनेमा विश्वस्त रहन आग्रह गरे । उनले भावनात्मक शैलीमा शहीदहरूको बलिदानलाई एउटा ‘बीउ’ सँग तुलना गर्दै भने, “तपाईंको गर्भबाट जन्मेको छोरा मरेको होइन, बरु यो समाज र देशमा सुशासनको नयाँ वृक्ष उमार्नका लागि एउटा बीउ बनेर रोपिएको छ । उनीहरूको त्यागले नै नयाँ सुशासनको जग बसेको छ ।”
सांसद सुनारले शहीदहरूले देशलाई दिएको योगदान अतुलनीय रहेको भन्दै उनीहरूका कारण नै देशले उन्नति र प्रगतिको मार्गमा हिँड्ने अवसर पाएको बताए । “तिम्रो छोरो ढल्यो, यो देश उठ्यो । तिम्रो छोरोले गोली खायो र यो देशले सिटामोलको गोली खान पायो,” उनले थपे, “यस्तो महान् बलिदानका लागि शहीद जन्माउने आमाहरू धन्य हुनुहुन्छ । कसैले पनि खिन्न वा कमजोर मन गर्नु पर्दैन, किनभने उनीहरूको बलिदानले यो देशलाई उज्यालो किरण प्रदान गरेको छ ।”
कार्यक्रममा उनले वर्तमान सरकार भ्रष्टाचार नियन्त्रणका लागि कठोर रूपमा प्रस्तुत हुने दाबी गरे । सांसद सुनारका अनुसार, भ्रष्टाचारविरुद्धको शून्य सहिष्णुता नीति अख्तियार गर्दै सरकारले कुनै पनि कसर बाँकी राख्नेछैन । पूर्व वा बहालवाला जुनसुकै पदमा रहेका पदाधिकारी भए पनि, यदि भ्रष्टाचार गरेको प्रमाणित भएमा कानुन बमोजिम निष्पक्ष र कडा कारबाही हुने उनको भनाइ थियो । यो सरकारको मुख्य प्राथमिकता सुशासन प्रवर्धन रहेको र यसमा कुनै सम्झौता नहुने उनले स्पष्ट पारे ।
सांसद सुनारले शहीदका परिवारजन, जेनजी आन्दोलनका घाइतेहरू तथा आन्दोलनले उठाएका मागहरू पूरा गर्न सरकारलाई विशेष आग्रह गरे । उनले सरकारले शहीदका परिवारलाई उचित सम्मान, आर्थिक तथा सामाजिक सुरक्षा प्रदान गर्नुपर्ने र घाइतेहरूको उपचार तथा पुनःस्थापनाका लागि आवश्यक पहल गर्नुपर्नेमा जोड दिए । शहीदहरूको सपना साकार पार्न र उनीहरूले परिकल्पना गरेको सुशासित राष्ट्र निर्माणका लागि सरकार प्रतिबद्ध रहेको सन्देश पनि उनले दिए ।
जेनजी आन्दोलनका शहीदहरूको बलिदानले नेपाली समाजमा सुशासन र न्यायका लागि नयाँ चेतना जगाएको बताउँदै सांसद सुनारले उनीहरूको त्यागले प्राप्त भएको उपलब्धिहरूको रक्षा गर्नु र त्यसलाई थप मजबुत बनाउनु सबैको दायित्व भएको धारणा राखे । उनले यस प्रकारका कार्यक्रमहरूले शहीदहरूको योगदानलाई जीवन्त राख्न मद्दत पुग्ने र भावी पुस्तालाई राष्ट्रभक्ति र सुशासनका लागि प्रेरणा दिने विश्वास व्यक्त गरे ।
