तस्बिर स्रोत, EPA
बोर्डो सहर नजिकबाट करिब ६० हजार मानिसहरूलाई अन्यत्र सार्ने फ्रान्सका अधिकारीहरूको आदेशसँगै फ्रान्स र स्पेनमा डढेलोका कारण विस्थापित हुनेहरूको कुल सङ्ख्या दुई लाख बीस हजारभन्दा बढी पुगेको छ।
दक्षिण-पश्चिम फ्रान्सको जिरोन्ड र ल्यान्ड्स क्षेत्रमा करिब दुई लाख मानिसहरूलाई खाली गरिएको छ। राष्ट्रपति एमानुएल माक्रोँले उद्धार कार्यका लागि सेना परिचालन गरेका छन्।
यसैबीच, मड्रिडनजिकै तीन वटा डढेलो एकसाथ मिसिएपछि उत्पन्न आगलागी अग्निनियन्त्रकहरूको नियन्त्रण क्षमताभन्दा बाहिर पुगेको स्पेनी अधिकारीहरूले चेतावनी दिएका छन्। स्पेन सरकारले राष्ट्रिय आपत्काल घोषणा गर्दै २५,००० मानिसहरूलाई अन्यत्र सर्न र करिब ४०,००० जनालाई घरभित्रै बस्न भनेको छ।
‘अग्निनियन्त्रकको क्षमताबाहिर’
तस्बिर स्रोत, Getty Images
मड्रिडका क्षेत्रीय प्रमुख इसाबेल डियाज आयुसोले त्यसलाई उक्त “क्षेत्रको इतिहासको सबैभन्दा खराब आगलागी” भनेर वर्णन गरेकी छिन्। त्यस भेगले उच्च तापक्रम, लगातारको हावा र जोडिइरहेका आगोका कारण “चर्को आँधी”को सामना गरिरहेको छ।
तस्बिर स्रोत, AFP via Getty Images
मड्रिड क्षेत्रीय सरकारका आपत्कालीन व्यवस्थापन प्रमुख कार्लोस नोभिलोले पत्रकारहरूलाई बताएअनुसार डढेलो उत्कर्षमा पुगेको छ र हाल अग्निनियन्त्रकहरूको नियन्त्रण क्षमताभन्दा बाहिर छ। उनले थपे, “त्यो क्षेत्रमा आगोसँग जुझ्न सम्भव छैन, त्यसैले रक्षात्मक उपायहरू अपनाइँदै छ।”
फ्रान्समा ‘निकै तनावपूर्ण अवस्था’
दक्षिण-पश्चिम फ्रान्समा शनिवार बिहानै बोर्डोनजिकैका चार सहरहरूलाई “सावधानीका रूपमा” खाली गरिएको थियो। तिनको कुल जनसङ्ख्या ५८,४०० छ।
गिरोन्डमा लागेको आगलागीबाट १९,००० हेक्टरभन्दा बढी जङ्गल जलेको छ र झन्डै ८० घरहरू नष्ट भएका छन्।
अधिकारीहरूले दक्षिणपश्चिमी तटमा रहेको क्याप फेरेट प्रायद्वीप पूरै खाली गराएका छन्। यस लोकप्रिय पर्यटकीय स्थलमा आगो फैलिएपछि सयौँ मानिसहरू डुङ्गा चढेर भागेका छन्।
तस्बिर स्रोत, Getty Images
त्यहाँका अग्नि तथा उद्धार प्रमुख मार्क भर्म्युलेनका अनुसार सन् २०२२ मा यस क्षेत्रमा लागेको विनाशकारी आगलागीको तुलनामा अहिलेको अवस्था बढी गम्भीर छ। लामो खडेरीका कारण आगो रातभरि फैलिएको बताइएको छ।
“हामीले यो परिमाणको कन्भेक्टिभ आगो कहिल्यै देखेका छैनौँ,” फ्रान्सका आन्तरिक मामिला मन्त्री लरेन्ट नुनेजले फ्रान्सेली प्रसारक टिएफवानलाई भने। उनले करिब ५० जना अग्नि नियन्त्रकहरू घाइते भएको समेत बताए।
राष्ट्रपति माक्रोँले देशको र विशेष गरी गिरोन्डको डढेलोको अवस्थालाई “निकै तनावपूर्ण” रहेको बताएका छन्।
दक्षिण युरोपभरि चरम अवस्था
दक्षिणी युरोपमा जारी गर्मीको लहर र लामो खडेरीबीच युरोपेली सङ्घ (ईयू) ले स्पेन र फ्रान्समा अग्नि नियन्त्रकहरूको प्रयासहरूलाई सघाउन विमान र हेलिकप्टरहरू खटाएको छ।
युरोप सबैभन्दा छिटो तापक्रम बढिरहेको महादेश हो जहाँ सन् १९८० को दशकदेखि विश्वव्यापी औसतभन्दा दोब्बरभन्दा बढीले तापक्रम बढिरहेको ईयूको कोपर्निकस क्लाइमेट चेन्ज सर्भिसले जनाएको छ।
तस्बिर स्रोत, Jo Kent/BBC
तातो र सुक्खा अवस्थाले वनस्पतिमा आर्द्रता कम गराई जङ्गलमा आगो लाग्न र छिटो फैलिने सम्भावना बढाउँछ। डढेलो प्रायः मानव गतिविधि (आकस्मिक वा जानाजानी) बाट उत्पन्न हुने कुनै ‘स्पार्क’बाट सुरु हुन्छ। अत्यधिक गर्मी, सुक्खा वनस्पति र तेज हावाका कारण आगो तीव्र गतिमा फैलिई नियन्त्रणबाहिर जान सक्छ।
युरोपेली वन अग्नि सूचना प्रणालीका अनुसार विगत दुई दशकको वार्षिक औसतभन्दा यस वर्ष युरोपमा डढेलोले धेरै जमिन जलाएको छ।
