जेठ ३१, २०८३ आइतबार १६:५७:३५
काठमाडौं : मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियान’का संयोजक दुर्गा प्रसाईंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजा र धर्मका एजेण्डालाई चुनावी स्वार्थमा बेचेको गम्भीर आरोप लगाएका छन्। एक नयाँ राजनीतिक शक्ति निर्माणको गृहकार्यबारे जानकारी दिन आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले राप्रपाले जनतालाई भ्रममा पारी सत्ता र भत्ताको राजनीतितर्फ उन्मुख भएको दाबी गरे।
प्रसाईंले राप्रपाले निर्वाचनका बेला राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डालाई प्रमुखताका साथ उठाउने तर सत्तामा पुगेपछि ती एजेण्डाहरूलाई बिर्सेर स्वार्थकेन्द्रित राजनीतिमा लिप्त हुने गरेको टिप्पणी गरे। उनले राप्रपाले देश र जनताको विकास तथा समृद्धितर्फ कुनै चासो नदेखाएको, बरु सांसद बन्ने र सत्ता सुखभोग गर्ने सीमित दायरामा अल्झिएको बताए। जनताले वैकल्पिक शक्तिको अपेक्षा गरे पनि राप्रपाले त्यसलाई पूरा गर्न नसकेको उनको भनाइ थियो।
सत्य र यथार्थ बोल्ने व्यक्तिहरूलाई वर्तमान व्यवस्थामा ‘अराजक’ को संज्ञा दिइने गरेको भन्दै प्रसाईंले आफू कुनै पनि हालतमा सत्य बोल्नबाट पछि नहट्ने स्पष्ट पारे। उनले देश र जनताको हितका लागि जस्तोसुकै चुनौतीको सामना गर्न तयार रहेको दृढता व्यक्त गरे। वर्तमान राजनीतिक व्यवस्थाले आम गरिब जनतामाथि प्रहार गरिरहेको, हजारौं सहकारी पीडितहरू न्यायबाट वञ्चित भइरहेको र किसानहरूले आफ्नो उत्पादन (दूध) को उचित मूल्य नपाएको अवस्थाप्रति उनले आक्रोश व्यक्त गरे। यस्तै अवस्था रहे वर्तमान सरकार र प्रमुख राजनीतिक दलहरू धेरै समय टिक्न नसक्ने उनको दाबी थियो।
सोही कार्यक्रममा बोल्दै पूर्व मन्त्री एवं नेता धवल शमशेर राणाले मुलुकमा एक सशक्त राष्ट्रवादी शक्तिको अपरिहार्यता रहेको औंल्याए। उनले राप्रपाले जनताको आशा र अपेक्षा अनुसारको भूमिका निर्वाह गर्न नसकेकाले नयाँ राष्ट्रवादी शक्ति निर्माणको आवश्यकता महसुस भएको बताए। मुलुकको वर्तमान राजनीतिक गतिरोधको समाधान राजसंस्थाको पुनर्स्थापना र वैदिक सनातन हिन्दु अधिराज्यको स्थापनाबाट मात्र सम्भव हुने उनको अडान थियो। राणाले सबै राजावादी, राष्ट्रवादी र हिन्दुवादी शक्तिहरूलाई एकै छानामुनि गोलबद्ध हुन आह्वान गर्दै राष्ट्रिय हितका लागि एकजुट हुनुपर्नेमा जोड दिए।
राणाले निकट भविष्यमै नयाँ पार्टीको नाम, झण्डा र चुनाव चिन्ह टुंगो लगाइने जानकारी दिए। उनले नयाँ पार्टीको संगठन विस्तारलाई सात वटै प्रदेश, ७७ वटै जिल्ला र सबै स्थानीय तहसम्म पुर्याइने योजना सुनाए। आफूहरूको यो मिलन कुनै व्यक्तिगत लोभ, लालच वा सत्ता प्राप्तिको स्वार्थका लागि नभई देशलाई वर्तमान संकटबाट निकास दिलाउनका लागि भएको शमशेरले दाबी गरे। उनले वर्तमान राजनीतिक प्रणालीले देशलाई थप दलदलमा फसाएको र यसबाट मुक्तिका लागि नयाँ वैचारिक शक्तिको उदय अनिवार्य भएको तर्क प्रस्तुत गरे।
नयाँ राजनीतिक शक्तिको रूपमा उदाउन खोजेको यो समूहले मुलुकमा वैकल्पिक राजनीतिक धार स्थापित गर्ने प्रयास गरेको छ। उनीहरूले वर्तमान संसदीय व्यवस्था र यसका सञ्चालक दलहरूलाई जनताका समस्या समाधान गर्न असफल भएको आरोप लगाउँदै राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डालाई पुनः राष्ट्रिय बहसको केन्द्रमा ल्याउने प्रयास गरिरहेका छन्। यस अभियानले आगामी दिनमा कस्तो आकार लिन्छ र यसले नेपाली राजनीतिमा कस्तो प्रभाव पार्छ भन्ने हेर्न बाँकी नै छ।
