यसअघि सार्वजनिक चौतारो भएको स्थान । अहिले यहाँ एउटा कटेरो निर्माण गरिएको छ ।
ऐतिहासिक सार्वजनिक चौतारा अतिक्रमण: खोटाङ दिक्तेलमा विवाद चर्कियो
खोटाङ, ४ भदौ। खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित हस्पिटल चोकमा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक सार्वजनिक चौतारा पाँच वर्षदेखि गायब भएको छ। स्थानीय समुदायले यो चौतारा निजी जग्गामा मिचेर आँगन बनाइएको आरोप लगाएका छन्, जसले गर्दा लामो समयदेखि विवाद उत्पन्न भएको छ।
स्थानीय समुदायको धर्म, संस्कार र सामाजिक परम्परासँग गहिरो रूपमा जोडिएको यो चौतारा रहेको ठाउँ सम्याएर निजी घरको आँगन बनाइएको स्थानीयको आरोप छ। चौतारा गायब भए पनि सोही समयको ‘मूलधारा’ नामले परिचित पुरानो ढुङ्गे धारा भने अहिले पनि कायम छ। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त धाराको संरक्षण गरिएको छ।
भूमि प्रशासन कार्यालय खोटाङका अनुसार, सार्वजनिक चौतारा नजिकै दुई कित्ता सार्वजनिक जग्गा छन्। कित्ता नम्बर २९६ मा सात आना तीन दाम दुई पैसा क्षेत्रफलको जग्गा सार्वजनिक चौताराका नाममा र कित्ता नम्बर १११२ मा नौ आना दुई पैसा क्षेत्रफलको जग्गा सार्वजनिक धाराका नाममा दर्ता रहेको देखिन्छ। यो जग्गा साविक दिक्तेल गाउँ विकास समिति–२ र ३ को सीमाना तथा हाल दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१, दिक्तेलमा पर्छ।
दिक्तेल बजार सामाजिक गुठीका अध्यक्ष विष्णुकुमार श्रेष्ठ ‘स्याण्डे’का अनुसार, सार्वजनिक चौतारा नजिकै रहेको आफ्नो निजी जग्गामा स्थानीय नारायणकाजी श्रेष्ठले विसं २०७८ मा पक्की घर निर्माण गर्दा चौताराको नाममा रहेको जग्गालाई आँगन बनाएका हुन्। उनले यस कार्यमा अघिल्लो स्थानीय सरकारका जनप्रतिनिधि तथा प्राविधिक कर्मचारीको समेत मिलेमतो रहेको आरोप लगाएका छन्। गुठीका सदस्यहरूले वर्षौंदेखि प्रयोग गर्दै आएको जग्गामा संस्कार गर्न जाँदा घरधनीबाट दुर्व्यवहार सहनुपरेको बताएका छन्। स्थानीयस्तरबाट समस्या समाधान नभए अख्तियार दुरूपयोग अनुसन्धान आयोग गुहार्ने तयारीमा रहेको जानकारी पनि उनले दिए।
सार्वजनिक जग्गा अतिक्रमणको विषयमा स्थानीयले विसं २०८३ असार २९ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा गुनासो र साउन ७ गते उजुरी दर्ता गराएका थिए। नेपाल सरकारमा उजुरी पुगेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जिल्ला प्रशासन कार्यालय खोटाङलाई यस विषयमा अध्ययन गर्न निर्देशनसमेत आएको छ।
यता, सार्वजनिक जग्गा अतिक्रमणको आरोप लागेका नारायणकाजी श्रेष्ठले भने आफूले चौताराको नाममा रहेको सार्वजनिक जग्गा नमिचेको दाबी गरेका छन्। उनले आफूले आफ्नो पाँच आना तीन पैसा एक दाम जग्गाभित्र मात्रै घर निर्माण गरेको र सार्वजनिक चौतारा रहेको जग्गा अहिले दिक्तेल–लफ्याङ सडक बनेको बताएका छन्। आफ्नै जग्गामा घर बनाएर बस्दा पनि ‘साथीहरूले दुःख दिएको’ भन्दै उनले गत साउन २१ गते विपक्षीका नाममा जिल्ला अदालत खोटाङमा मुद्दा दर्ता गराएको जानकारी दिए।
दिक्तेल बजारका नेवार, बस्नेत, खड्का र दमाई समुदायको धर्म तथा संस्कारसँग जोडिएको यो चौतारामा कसैको मृत्यु हुँदा काजकिरिया, पितृकार्य तथा धार्मिक एवं सामाजिक संस्कारहरू गरिँदै आएका थिए। विशेषगरी नेवार समुदायले हरेक वर्ष मनाउने जात्रा पनि सोही स्थानमा सेलाउने परम्परा थियो। सार्वजनिक चौतारा भत्काइएपछि नेवार समुदायले सोही ठाउँमा कटेरो बनाएर परम्परागत मृत्यु संस्कार गर्दासमेत घरधनीबाट अपशब्द प्रयोग गरी गालीगलौज हुने गरेको दिक्तेल बजार सामाजिक गुठीका सचिव सरोज सैँजूले बताए।
दुई वर्षअघि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको न्यायिक समितिमा सार्वजनिक चौतारा प्रयोग गर्न नपाएको भन्दै निवेदन परेको थियो। दुवै पक्षबीच छलफल पश्चात् विसं २०८१ भदौ ७ गते न्यायिक समितिले यस विषयमा निर्णय गरेको थियो। नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक विशन राईका अनुसार, स्थानीयले उक्त स्थानमा आफ्नो संस्कारअनुसार खाना पकाएर खाने तथा नेवार समुदायले जात्रा सेलाउने गरेको पाइएपछि उक्त सार्वजनिक जग्गा दिक्तेल बजार सामाजिक गुठीले संरक्षण गर्ने र परम्परागत रूपमा गर्दै आएको संस्कार गर्न पाउने अधिकार लिखित रूपमा दिइएको छ। न्यायिक समितिको निर्णयपछि नेवार समुदायले दुवै कित्ताको जग्गामा काजकिरियाका दशौँ, एघारौँ र बाह्रौँ दिनका संस्कार गर्दै आएको बताइएको छ।
