काठमाडौं: नेपालको हिमाली पदमार्गमा समावेशी पर्यटनको नयाँ अध्याय सुरु भएको छ। बहिरा ट्रेकिङ गाइडहरूको बढ्दो सहभागिताले पर्यटन क्षेत्रमा सांकेतिक संवाद र नयाँ अवसरको सिर्जना गरिरहेको छ। यो पहलले शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई पनि समान अवसर प्रदान गर्न सकिन्छ भन्ने सन्देश दिएको छ, जसले नेपालको पर्यटनलाई थप मानवीय र व्यापक बनाउँदैछ।
यस समावेशी यात्राका अग्रदूतका रूपमा रसुवाको कालिका गाउँपालिका–५ का चोपप्रसाद पौडेल र सोलुखुम्बुका छिरी शेर्पा उदाएका छन्। उनीहरूको संघर्ष र सफलताको कथाले हिमाली पदमार्गका चुनौतीहरूलाई आत्मविश्वास र साहसले कसरी पार गर्न सकिन्छ भन्ने प्रेरणा दिएको छ। विगतमा भरिया र होटल कुकका रूपमा काम गर्दै आएका चोपप्रसादले हालै विश्वप्रसिद्ध मनास्लु सर्किट ट्रेक सफलतापूर्वक सम्पन्न गरेर नेपालको समावेशी पर्यटनमा महत्वपूर्ण उदाहरण प्रस्तुत गरेका छन्।
५ हजार १०६ मिटर उचाइमा रहेको मनास्लु पदमार्गको १५ दिने कठिन यात्रा उनको व्यक्तिगत सफलता मात्र होइन, फरक क्षमता भएका समुदायका लागि एक आशाको किरण पनि हो। चोपप्रसादका अनुसार, नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास परियोजनाद्वारा संयुक्त रुपमा सञ्चालित दिगो पर्यटन परियोजनाले बहिरा युवाका लागि ट्रेकिङ गाइड तालिम आयोजना गर्ने खबर सुनेपछि उनी सहभागी भएका थिए। उनले तालिमपछि आफ्नो ट्रेकिङ अनुभवमा ठूलो परिवर्तन आएको र यसले आत्मविश्वास बढाउनुका साथै कठिन परिस्थितिमा व्यवस्थापन गर्ने ज्ञान दिएको बताए।
तालिमपश्चात् चोपप्रसादले सामाजिक सञ्जालमार्फत दुई फ्रेन्च पर्यटकसँग सम्पर्क स्थापित गरी आवश्यक प्रक्रिया पूरा गरेपछि उनीहरूलाई मनास्लु सर्किट ट्रेकमा लगेका थिए। मनास्लु नेपालकै सर्वाधिक कठिन पदमार्गहरूमध्ये एक मानिन्छ, तर तालिमबाट प्राप्त पर्वतीय सुरक्षा, प्राथमिक उपचार, पदमार्ग व्यवस्थापन तथा पर्यटकसँगको व्यवहारिक सीपले उनको यात्रालाई सहज बनायो। एक सहयोगीको साथमा उनले सफलतापूर्वक ट्रेक सम्पन्न गरे। यो अनुभवले आफ्नो आत्मविश्वास अझ बढाएको र अब नेपालका अन्य पदमार्गमा पनि ट्रेकिङ गर्ने इच्छा जागेको उनको भनाइ छ।
तालिममा पर्वतीय सुरक्षा, प्राथमिक उपचार, पदमार्ग व्यवस्थापन, अतिथि सत्कार, सांस्कृतिक व्याख्या, वातावरणीय उत्तरदायित्व, संकट व्यवस्थापन तथा नेपालको भौगोलिक र सांस्कृतिक विविधताका बारेमा विस्तृत सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गरिएको थियो। चोपप्रसादको सफलताले बहिरा समुदायका लागि पर्यटन क्षेत्रमा नयाँ सम्भावनाहरू उजागर गरेको छ। सोही सम्भावनालाई मूर्त रूप दिइरहेका अर्का प्रेरणादायी पात्र हुन् सोलुखुम्बुका छिरी शेर्पा।
छिरी शेर्पाले लामो समयदेखि विदेशी पर्यटकहरूलाई हिमाली पदमार्गमा यात्रा गराउँदै आएका छन्। उनी सांकेतिक भाषामार्फत पर्यटकहरूसँग संवाद गर्छन् र भिडियो कल प्रयोग गरी ट्रेकिङ योजना बनाउनेदेखि यात्राको तयारीसम्मका सबै प्रक्रिया आफैं व्यवस्थापन गर्छन्। उनको यो कार्यशैलीले बहिरा गाइडहरूले पनि उच्चस्तरीय सेवा प्रदान गर्न सक्छन् भन्ने प्रमाणित गरेको छ।
हालै उनले एक अमेरिकी नागरिक र उनकी बहिरा नेपाली श्रीमतीलाई लिएर गोक्यो, चोला पास (५,३७५ मिटर) र एभरेष्ट बेस क्याम्प हुँदै लुक्लासम्मको कठिन ट्रेक सफलतापूर्वक सम्पन्न गराएका थिए। छिरी शेर्पाका अनुसार, सांकेतिक भाषाले यात्रु र गाइडबीच एक विशेष किसिमको विश्वास र आत्मीयता निर्माण गर्छ। ‘यात्राभर हामीले संकेतमा कुराकानी गर्यौं। यसमा शब्दभन्दा बुझाइ र व्यवहारको महत्व बढी भयो,’ उनले अनुभव सुनाए।
पर्यटन क्षेत्रका सरोकारवालाहरूले बहिरा युवाका लागि सञ्चालित यो ट्रेकिङ गाइड तालिमलाई नेपालको समावेशी पर्यटन विकासका लागि एउटा महत्वपूर्ण कोशेढुंगा मानेका छन्। राष्ट्रिय बहिरा महासंघ नेपालका अध्यक्ष सन्तोष केसीले बहिरा युवाहरूमा पनि नेपालको पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने क्षमता रहेको स्पष्ट पारे।
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वभर करिब ४३ करोड मानिस श्रवण समस्याबाट प्रभावित छन् भने ७ करोडभन्दा बढीले सांकेतिक भाषा प्रयोग गर्छन्। यस सन्दर्भमा नेपालमा सुरु गरिएको यो समावेशी पहलले पर्यटनलाई अझ मानवीय र व्यापक बनाउने संकेत दिएकोमा दिगो पर्यटन परियोजनाका प्रबन्धक धर्मराज दवाडीले खुसी व्यक्त गरे। उनले अब नेपालको पर्यटन हिमाल र प्राकृतिक सौन्दर्यमा मात्र सीमित नरहेको र समावेशिता तथा समान अवसरको अभ्यासले यसलाई नयाँ उचाइमा पुर्याउने बताए।
चोपप्रसाद र छिरी शेर्पाका यी प्रेरणादायी अनुभवले अवसर र तालिम पाएमा बहिरा समुदायका व्यक्तिहरू पनि पर्यटन क्षेत्रका सक्षम गाइड र प्रतिनिधिको रूपमा स्थापित हुन सक्छन् भन्ने प्रमाणित गरेका छन्। उनीहरूले सरकार, पर्यटन व्यवसायी र सरोकारवाला निकायहरूसँग बहिरा तथा फरक क्षमता भएका युवाका लागि थप रोजगारीका अवसरहरू सिर्जना गर्न अनुरोध गरेका छन्।
