बुटवलको पुरानो बसपार्कस्थित थोक बजार केन्द्रमा बिक्रीका लागि ल्याइएको हरियो खुर्सानीमा अत्यधिक मात्रामा विषादी प्रयोग गरिएको भेटिएपछि खाद्य सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ। विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ, बुटवलले मंगलबार बिहान हरियो तरकारी तथा फलफूलको नमुना परीक्षण गर्दा खुर्सानीमा स्वीकार्य मापदण्डभन्दा धेरै विषादी पाइएको पुष्टि भएको हो।
प्रयोगशालाका नायब प्राविधिक सहायक राजीव भण्डारीका अनुसार, सल्यानको कपुरकोट गाउँपालिकास्थित ओम निखिलम तरकारी पसलबाट आएको उक्त हरियो खुर्सानीमा अर्गानोफस्फेट समूहको विषादीको मात्रा ५९.५२ प्रतिशत भेटिएको थियो। यो मात्रा मानव स्वास्थ्यका लागि अत्यन्तै हानिकारक मानिन्छ। सामान्यतयाः कुनै पनि तरकारीमा कार्वामेट र अर्गानोफस्फेट समूहको विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम भएमा मात्र त्यसलाई खान योग्य मानिन्छ।
विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाको मापदण्ड अनुसार, यदि विषादीको मात्रा ३५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म भएमा त्यसलाई केही दिन क्वारेन्टाइनमा राखेर पुनः परीक्षण गर्नुपर्ने हुन्छ। पुनः परीक्षणपछि मात्र त्यसलाई खान मिल्ने कि नमिल्ने भन्ने निर्णय गरिन्छ। तर, यदि विषादीको मात्रा ४५ प्रतिशतभन्दा बढी देखियो भने त्यसलाई सोझै खान योग्य मानिँदैन र तत्काल नष्ट गर्नुपर्ने नियम छ। यस घटनामा खुर्सानीमा ५९.५२ प्रतिशत विषादी भेटिनुले सोझै नष्ट गर्नुपर्ने अवस्था सिर्जना भएको हो।
अत्यधिक विषादी भेटिएपछि बुटवल उपमहानगरपालिकासँगको समन्वयमा उक्त विषादीयुक्त खुर्सानी तत्काल नष्ट गरिएको छ। प्रयोगशालाले थोक बजारमा दैनिकजसो आउने तरकारी तथा फलफूलको नमुना संकलन गरी बिहानै परीक्षण गर्दै आएको छ, जसले उपभोक्तालाई सुरक्षित तरकारी उपलब्ध गराउन मद्दत गर्छ। यस क्रममा हरियो खुर्सानीसँगै काउली, काँक्रो, सिमी, भान्टा, बोडी, घिरौला, गाँजर, गोलभेँडा, तनेबोडी, तितेकरेला, भिण्डी, आँप, डल्ले खुसार्नी र हरियो धनियाँको पनि नमुना परीक्षण गरिएको थियो। नायब प्राविधिक सहायक भण्डारीका अनुसार, अन्य तरकारीमा भने विषादीको मात्रा सामान्य भेटिएको थियो।
यद्यपि, बुटवलको थोक बजारभन्दा बाहिरबाट बिक्री हुने तरकारीमा विषादी परीक्षण हुन नसक्नुले उपभोक्ताको स्वास्थ्यमाथि थप जोखिम बढाएको छ। बजारका अन्य भागमा र सडक पेटीमा बिक्री हुने तरकारीमा पनि यस्तै किसिमको विषादी प्रयोग भएको हुन सक्ने सम्भावना नकार्न सकिँदैन। यसअघि पनि तने बोडी, काउली र काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको थियो, जसले तरकारीमा विषादी प्रयोगको समस्या व्यापक रहेको देखाउँछ।
विषादीयुक्त तरकारीको नियमित सेवनले मानव स्वास्थ्यमा गम्भीर असर पार्छ। यसले क्यान्सर, स्नायु प्रणालीमा क्षति, प्रजनन स्वास्थ्य समस्या र अन्य दीर्घकालीन रोग निम्त्याउन सक्ने विशेषज्ञहरू बताउँछन्। उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै स्थानीय सरकार तथा सम्बन्धित नियमनकारी निकायहरूले बजार अनुगमन र विषादी परीक्षणको दायरालाई अझ व्यापक बनाउनुपर्ने टड्कारो आवश्यकता देखिएको छ। थोक बजारमा गरिने परीक्षण सराहनीय भए पनि बजारका अन्य भागहरू र सडक पेटीमा बिक्री हुने तरकारीमा पनि नियमित परीक्षणको व्यवस्था नगरेसम्म आम उपभोक्ताले सुरक्षित खाद्यवस्तु उपभोग गर्न पाउने अधिकार सुनिश्चित हुन सक्दैन। कृषि उत्पादनमा अत्यधिक विषादीको प्रयोग घटाउन किसानहरूलाई प्राविधिक ज्ञान, तालिम र जैविक तथा प्राकृतिक खेती प्रणालीमा प्रोत्साहन गर्नुपर्नेमा समेत सरोकारवाला निकायहरूको तत्काल ध्यान जानु आवश्यक छ। साथै, विषादीको अनुचित प्रयोग गर्ने किसान वा बिक्रेताहरूलाई दण्डित गर्ने प्रावधानलाई कडाइका साथ लागू गर्नुपर्छ ताकि यस्ता घटनाहरू दोहोरिन नपाऊन् र समग्र खाद्य सुरक्षाको प्रत्याभूति होस्।
