काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन्द्र शाहले मुस्ताङ भ्रमणका क्रममा प्रदर्शन गरेको सरलतालाई संसदीय गरिमा र प्रक्रियामा पनि अवलम्बन गर्न आग्रह गरेका छन् । सांसद केसीले प्रधानमन्त्रीको सादगीपूर्ण यात्राको प्रशंसा गर्दै सोही आचरण संसदमा प्रस्तुत गर्न जोड दिएका हुन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद केसीले प्रधानमन्त्री शाहको मुस्ताङ यात्रालाई ‘तामझामरहित’ र ‘साधारण’ भन्दै उच्च प्रशंसा व्यक्त गरे । उनले दुई-चार गाडीको लस्करविना, कुनै विशेष तामझाम नगरी प्रधानमन्त्रीले यात्रा गरेकोमा त्यसलाई ठूलो गुणका रूपमा चित्रण गरे । “प्रधानमन्त्रीजी मुस्ताङ जानुभयो । त्यसभित्र के कस्ता किसिमका राजनीतिक या धार्मिक, गैरराजनीतिक परिवेश छ, म त्यतातिर प्रवेश गर्न चाहन्नँ,” केसीले भने, “तर, जुन साधारण ढंगले उहाँ जानुभयो, म त्यसलाई प्रशंसा गर्न चाहन्छु।”
सांसद केसीले प्रधानमन्त्रीको सोही सरलता र सादगीलाई संसदमा पनि देखाउनुपर्नेमा जोड दिए । उनले संसदलाई प्रधानमन्त्रीको निर्माता, निर्देशक र नियन्त्रण गर्ने सर्वोच्च शक्ति भएको स्मरण गराउँदै संसदको सम्मान र गरिमालाई आत्मसात् गर्न आग्रह गरे । “कमसे कम दुई–चार वटा मोटर नलिई, कुनै तामझाम नगरी जुन जानुभयो, त्यो सरलता सबैभन्दा ठूलो गुण हो,” उनले थपे, “त्यत्रो ठूलो सरलता देखाउने प्रधानमन्त्रीले त्यो सरलता र सादगी संसदमा आएर देखाए कति राम्रो हुन्थ्यो।”
केसीले प्रधानमन्त्रीले संसदलाई सादगीपूर्ण रूपमा लिएको भए वर्तमान परिस्थिति धेरै फरक हुने टिप्पणी गरे । उनले सरकारले असल काम गरे पनि त्यसको ‘छाँटकाँट’ अर्थात् काम गराइको शैली र प्रक्रिया राम्रो नभएकोमा असन्तुष्टि व्यक्त गरे । “त्यसलाई विधि, प्रक्रिया, पद्धति पुर्याएर गरोस्,” उनले भने, “यत्रो ठूलो बहुमत ल्याएर बनेको सरकार छ । हामी यसको स्थिरताको पक्षमा छौं।” उनले सरकारलाई स्थापित विधि र प्रक्रियाको पालना गर्न गम्भीरतापूर्वक आग्रह गरे ।
सांसद केसीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र आन्तरिक विवाद हुन नहुनेमा पनि जोड दिए । उनले वर्तमान सरकारले आफ्नो पाँच वर्षे कार्यकाल सफलतापूर्वक पूरा गर्नुपर्नेमा नेपाली कांग्रेसको स्पष्ट धारणा रहेको बताए । कांग्रेसले धैर्यतापूर्वक प्रतीक्षा गर्ने र पाँच वर्षपछि मात्रै प्रतिस्पर्धामा उत्रिन चाहेको उनको भनाइ थियो । “हामी पाँच वर्षपछि मात्रै यहाँहरूसँग प्रतिस्पर्धा गर्न चाहन्छौं,” केसीले भने ।
तर, उनले सरकारको कार्यशैलीप्रति चेतावनी पनि दिए । “यदि उहाँहरूले छाँटकाँट राम्रो भएन, प्रक्रिया र पद्धति राम्रोसँग पूरा गर्नुभएन, ब्रेक नभएको गाडी चढेर जता पनि लाग्नुभयो भने त्यो दुर्भाग्यपूर्ण हुन्छ,” केसीले भने । सांसद केसीको यो भनाइले सरकारलाई विधि, प्रक्रिया र संसदीय मर्यादाको पालना गर्दै जनहितमा काम गर्न सचेत गराएको छ ।
