बागलुङ, वैशाख २१ गते ।
पश्चिमी बागलुङको बडिगाड गाउँपालिकामा अविरल वर्षासँगै परेको चट्याङका कारण एक जनाको ज्यान गएको छ भने दर्जनौं घरमा क्षति पुगेको छ। यसैगरी, लगातारको वर्षाका कारण यस क्षेत्रका ग्रामीण सडकहरूमा समेत व्यापक क्षति भई जनजीवन प्रभावित बनेको छ।
आइतबार साँझ परेको भीषण चट्याङले बडिगाड गाउँपालिका-१, सिरानका ४८ वर्षीय रुमबहादुर भुजेलको निधन भएको वडाध्यक्ष बोमबहादुर थापाले पुष्टि गर्नुभएको छ। थापाका अनुसार, भुजेलको घरमै चट्याङ लागेर ज्यान गएको हो। चट्याङ पर्ने क्रममा भुजेल विद्युत्को मेन स्विच बन्द गर्न खोज्दै गर्दा हाइभोल्टेज करेन्ट प्रवाहका कारण निधन भएको हुनसक्ने वडाध्यक्ष थापाले अनुमान व्यक्त गर्नुभयो। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
चट्याङले भुजेलको निधन मात्र नभई बडिगाड क्षेत्रका दर्जनभन्दा बढी घरहरूमा समेत ठूलो क्षति पुर्याएको छ। विशेषगरी, बडिगाड गाउँपालिका वडा नं. १ का अधिकांश घरहरूमा रहेका ससाना विद्युतीय उपकरणहरूमा व्यापक क्षति भएको वडाध्यक्ष थापाले जानकारी दिनुभयो। यस क्रममा घरका राउटर, बल्ब, चार्जर, टेलिभिजन लगायतका उपकरणहरूमा क्षति पुगेको स्थानीयबासीले बताएका छन्। विद्युतीय उपकरणमा भएको क्षतिले गर्दा स्थानीय बासिन्दालाई आर्थिक भार परेको छ भने दैनिक कामकाजमा समेत असर पुगेको छ।
घटनाको जानकारी पाएसँगै इलाका प्रहरी कार्यालय हरिचौर र प्रहरी चौकी खर्बाङबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरी चौकी खर्बाङका प्रमुख, प्रहरी नायब निरीक्षक नारायण कुँवरले मृतक भुजेलको शव पोस्टमार्टमका लागि इलाका प्रहरी कार्यालय हरिचौर लैजाने तयारी भइरहेको जानकारी दिनुभयो। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको र क्षति यकिन गर्ने कार्य भइरहेको बताएको छ।
यसैबीच, पछिल्लो समय लगातार भइरहेको वर्षाका कारण बडिगाड गाउँपालिकालगायत पश्चिम बागलुङका विभिन्न ग्रामीण सडकहरूमा व्यापक क्षति पुगेको छ। वर्षाका कारण सडकमा पहिरो खस्ने र हिलाम्मे हुने समस्याले गर्दा आवतजावतमा असहजता सिर्जना भएको स्थानीयले गुनासो गरेका छन्। यसले दैनिक उपभोग्य वस्तुको ढुवानीमा समेत अवरोध पुगेको छ भने बिरामीहरूलाई स्वास्थ्य संस्थासम्म पुर्याउन कठिनाइ भएको स्थानीयबासीले बताएका छन्। लगातारको वर्षा र चट्याङका कारण यस क्षेत्रको जनजीवन निकै प्रभावित बनेको छ। स्थानीय प्रशासनले आवश्यक राहत र सहयोगका लागि समन्वय गरिरहेको जनाएको छ।
