काठमाडौँ, जेठ २९ गते। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सिंहदरबार वैद्यखाना विकास समितिको आकस्मिक अनुगमन तथा निरीक्षण गर्नुभएको छ। अनामनगरस्थित वैद्यखानाको वर्तमान अवस्था, औषधि उत्पादन क्षमता र वित्तीय व्यवस्थापनबारे जानकारी लिँदै मन्त्री मेहताले आयुर्वेद औषधि उत्पादनको यस ऐतिहासिक केन्द्रलाई पुनः स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले आयुर्वेद चिकित्सा पद्धतिको संरक्षण र प्रवर्द्धनमा वैद्यखानाको भूमिका महत्त्वपूर्ण रहेकोमा जोड दिनुभयो।
अनुगमनका क्रममा मन्त्री मेहताले वैद्यखानाको समग्र सुधारका लागि मन्त्रालय सधैँ तत्पर रहेको बताउनुभयो। उहाँले मुलुकलाई आवश्यक उच्च गुणस्तरीय आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी बनाउन जोड दिनुभयो। यसका लागि वैद्यखानाको क्षमता अभिवृद्धि, उत्पादन प्रक्रियाको आधुनिकीकरण, गुणस्तर नियन्त्रण र बजार प्रवर्द्धनका लागि आवश्यक स्रोतसाधन, आधुनिक औजार, प्रविधि र दक्ष जनशक्तिको विस्तृत विवरणसहित कार्ययोजना तत्काल पेस गर्न निर्देशन दिनुभयो।
मन्त्री मेहताले वैद्यखाना परिसरको सरसफाइमा विशेष ध्यान दिन, उत्पादन कक्षहरूको स्वच्छता कायम राख्न र समग्र व्यवस्थापनमा पारदर्शिता तथा प्रभावकारिता ल्याउन निर्देशन दिनुभयो। उहाँले वैद्यखानाको ऐतिहासिक गरिमा कायम राख्दै यसलाई औषधि उत्पादन केन्द्र मात्र नभई आधुनिक आयुर्वेद अनुसन्धान, विकास तथा तालिम केन्द्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। राष्ट्रिय स्वास्थ्य प्रणालीमा आयुर्वेद औषधिको पहुँच बढाउन यसको भूमिका महत्त्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो।
मन्त्रालयका सचिव डा. विकास देवकोटाले वैद्यखानाबाट उत्पादित आयुर्वेद औषधिहरूको गुणस्तर उच्च रहेको र बजारमा यसको छुट्टै पहिचान र विश्वसनीयता कायम रहेको बताउनुभयो। उहाँले बढ्दो बजार माग र जनविश्वासलाई सम्बोधन गर्न वैद्यखानाको उत्पादन क्षमतालाई अझ बढाउनुपर्नेमा जोड दिनुभयो। सचिव देवकोटाले वैद्यखानाको आधुनिकीकरण, पूर्वाधार विकास र विस्तारका लागि मन्त्रालयले नीतिगत, प्राविधिक र वित्तीय समन्वय तथा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।
सो अवसरमा वैद्यखानाका कार्यकारी निर्देशक डा. प्रदीप केपीले मन्त्री मेहतालाई वैद्यखानाको हालको अवस्था, विगतका चुनौतीहरू, हाल उत्पादन भइरहेका औषधि तथा खाद्यपुरक पदार्थका बारेमा विस्तृत प्रस्तुति दिनुभयो। उहाँले विगत पाँच वर्षदेखि घाटामा रहेको यस संस्थालाई कुशल व्यवस्थापन र उत्पादन वृद्धि मार्फत नाफामा पुर्याउन सफल भएको जानकारी गराउनुभयो। डा. केपीका अनुसार हाल वैद्यखानाले विभिन्न रोगका लागि १०३ प्रकारका आयुर्वेद औषधिहरू उत्पादन गरिरहेको छ।
कार्यकारी निर्देशक केपीले सरकारको थप सहयोग, विशेषगरी आधुनिक मेसिनरी र दक्ष जनशक्तिको उपलब्धता भएमा वैद्यखानाको उत्पादन क्षमता उल्लेखनीय रूपमा वृद्धि गर्न सकिने र यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सकिने सम्भावना औँल्याउनुभयो। वैद्यखानाले परम्परागत ज्ञान, वैज्ञानिक विधि र आधुनिक प्रविधिको समन्वयबाट गुणस्तरीय आयुर्वेद औषधि उत्पादनमा प्राथमिकता दिएको स्पष्ट पार्नुभयो। अनुसन्धान र विकासमा लगानी बढाउनुपर्ने आवश्यकतामा पनि उहाँले जोड दिनुभयो।
मन्त्रीको यस महत्त्वपूर्ण अनुगमनले सिंहदरबार वैद्यखानाको पुनरुत्थान, व्यवस्थापकीय सुधार र समग्र आयुर्वेद क्षेत्रको विकासमा नयाँ ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ। नेपालको मौलिक चिकित्सा पद्धतिको संरक्षण, संवर्द्धन र यसलाई जनस्वास्थ्यसँग जोड्न वैद्यखानाको सशक्तिकरण अपरिहार्य रहेको सरोकारवालाको भनाइ छ।
