वीरगन्जस्थित कृषि औजार कारखाना २९ वर्षपछि राष्ट्रिय आविष्कार केन्द्रको पहलमा पुनः सञ्चालनमा आएको छ। सरकारी स्वामित्वमा रहेको यस कारखानाबाट कृषि यन्त्रहरूको उत्पादन तथा बिक्री–वितरण सुरु भएको छ। प्रारम्भिक चरणमा हातले धान रोप्ने मेसिनको माग किसानहरूमाझ उच्च देखिएको छ।
तत्कालीन सरकारले २०५३ जेठ १७ गते निजीकरणको निर्णय गर्दै कारखानालाई बन्द गरेको थियो। देशको एकमात्र कृषि औजार कारखानाको रूपमा स्थापित यस उद्योगलाई पुनः सञ्चालनमा ल्याउनका लागि सरकारले २०७९ माघ १ गते राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा लगाएको थियो। केन्द्रको वैज्ञानिक टोलीले करिब २८ महिनाको अथक प्रयासपछि उद्योगबाट व्यावसायिक उत्पादन सुरु गरेको हो।
राष्ट्रिय आविष्कार केन्द्र, वीरगन्जका प्रमुख तथा इन्जिनियर रितेश देवका अनुसार, हाल चितवनका किसानलाई हातले धान रोप्ने मेसिन बिक्री गरिएको छ। एउटा मेसिनको मूल्य २१ हजार पाँच सय रुपैयाँ तोकिएको छ। सोबाहेक, हातले चलाउने १५ वटा राइस प्लान्टर मेसिन पनि बिक्रीका लागि तयार छन्। धान रोप्ने हाते मेसिनका साथै, हिलोको झारपात हटाउन उपयोगी प्याडी विडर केज ह्विल, कोदो रोप्ने मिलेट प्लान्टर, र माछा पालनमा सहयोगी फिस इन्क्युवेटर तथा अक्सिजन टावरका उपकरणहरूको पनि उत्पादन एवं बिक्री–वितरण सुरु गरिएको छ।
उत्पादित यन्त्रहरूको मूल्यसूची अनुसार, प्याडी विडर केज ह्विलको मूल्य दुई हजार पाँच सयदेखि तीन हजार रुपैयाँसम्म निर्धारण गरिएको छ। फिस इन्क्युवेटर र अक्सिजन टावरको जोडीको मूल्य एक लाख रुपैयाँ, राइस प्लान्टर मेसिनको मूल्य १५ देखि २० हजार रुपैयाँ र मिलेट प्लान्टर मेसिनको मूल्य १५ हजार रुपैयाँ राखिएको छ। हालसम्म एक सयभन्दा बढी प्याडी विडर केज उपकरण बिक्री भइसकेको छ भने थप पाँच सय थानको माग आएको देवले जानकारी दिए। १२ सेट फिस इन्क्युवेटर र अक्सिजन टावर उपकरण पनि बिक्री भइसकेको केन्द्रले जनाएको छ।
इन्जिनियर देवका अनुसार, केन्द्रले बिक्री गरिरहेका यी उपकरणहरू नेपालमै पहिलो पटक उत्पादन भएका हुन्। उनले विदेशबाट आयातित कृषि यन्त्रभन्दा नेपाली उत्पादन बलिया र सस्तो रहेको दाबी गरे। धान रोपाइँको सिजन सँघारमा रहेकाले हाल धानबाली लक्षित कृषि उपकरणहरूको उत्पादन र बिक्रीमा बढी ध्यान केन्द्रित गरिएको छ। सिजन समाप्तिपछि अन्य उपकरणको उत्पादन र बिक्रीलाई पनि प्राथमिकता दिइनेछ।
आविष्कार केन्द्रले हालै ३ हजार वाटको लेजर वेल्डिङ मेसिन १८ लाख रुपैयाँमा टेन्डर प्रक्रियाबाट खरिद गरी कारखानामा भित्र्याएको छ। यो मेसिनले धातुको खिया सफा गर्ने, काट्ने र वेल्डिङ गर्ने क्षमता राख्ने भएकाले कारखानाको उत्पादन क्षमतामा उल्लेख्य वृद्धि पुर्याउन सहयोग मिल्ने देवले बताए। राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं वैज्ञानिक महावीर पुनले आफ्नो आत्मकथा बिक्री गरेर संकलन गरेको रकमबाटै हाल कारखाना सञ्चालनका लागि आवश्यक सम्पूर्ण काम अघि बढेको स्पष्ट पारेका छन्।
केन्द्रले हालसम्म धान काट्ने रिपर, आलु खन्ने डिगर, आलु रोप्ने प्लान्टर, गोबर पेल्ने डङ्ग डिवाटरिङ, प्लास्टिक बनाउने मल्चर, सुक्खा घाँस काट्ने, धान गोड्ने, खन्ने लगायतका विडर मेसिनहरूको सफल परीक्षण उत्पादन गरिसकेको छ। यसबाहेक, कुटो, कोदालो, चाप कटर जस्ता ससाना कृषि उपकरणहरू पनि उत्पादन गरिएको छ। केन्द्रको वैज्ञानिक टोलीले १४ देखि १५ प्रकारका कृषि यन्त्रहरूको उत्पादन गरी बिक्री–वितरण सुरु गरेको देवले बताए।
तत्कालीन सोभियत संघ सरकारको उपहार स्वरूप निर्माण गरिएको यो उद्योगको २०२४ साल फागुन २८ गते तत्कालीन राजा महेन्द्रले उद्घाटन गरेका थिए। उद्योग पूर्ण क्षमतामा सञ्चालनमा रहँदा हँसिया, खुर्पी, कुटो, कोदालो मात्र नभई विद्युत् प्राधिकरणका लागि पोल, यातायात संस्थानका लागि ट्रयांकर र शाही नेपाल वायु सेवा निगमका लागि जहाज चढ्ने सिँढीलगायतका उपकरण उत्पादन गर्दै करिब ३२५ जनालाई रोजगारी दिएको थियो।
