काठमाडौँ, वैशाख ६ गते । नेपाली कांग्रेसले आफ्ना क्रियाशील सदस्यतालाई प्रविधिमैत्री र सहज बनाउने उद्देश्यले राष्ट्रव्यापी डिजिटल अद्यावधिक अभियान थालेको छ। यसै क्रममा पार्टीका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका नेता तथा कार्यकर्ताहरूलाई उक्त अभियानमा सक्रिय सहभागी भई सफल पार्न विशेष आग्रह गर्नुभएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार आयोजित जिल्ला सभापति, केन्द्रीय सदस्य र ‘पार्टीले जरा अभियान’ का लागि खटाइएका प्रतिनिधिहरूको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै महामन्त्री पौडेलले यस पहलले पार्टी संगठनलाई सुदृढ र पारदर्शी बनाउने विश्वास व्यक्त गर्नुभयो।
महामन्त्री पौडेलले क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक प्रक्रियाले सदस्यहरूको विवरण संकलन, व्यवस्थापन र नवीकरण कार्यलाई निकै सरल बनाउने बताउनुभयो। उहाँले एकपटक डिजिटल प्रणालीमा आबद्ध भइसकेपछि भविष्यमा नवीकरणका लागि हुने झन्झट स्वतः न्यून हुने र यसले सदस्यता व्यवस्थापनमा क्रान्तिकारी परिवर्तन ल्याउने दाबी गर्नुभयो। “यो केवल नवीकरणको प्रक्रिया मात्र नभई पार्टीलाई आधुनिक युग सुहाउँदो बनाउने एउटा महत्वपूर्ण पाइला हो,” पौडेलले भन्नुभयो।
यस अभियानबारे उत्पन्न हुन सक्ने अन्योलता हटाउँदै महामन्त्री पौडेलले पुरानो क्रियाशील सदस्यता खारेज नभई त्यसलाई डिजिटल माध्यमबाट अद्यावधिक मात्र गर्न लागिएको स्पष्ट पार्नुभयो। उहाँले यस विषयमा कुनै पनि नेता तथा कार्यकर्ता अलमलमा नपर्न आग्रह गर्नुभयो। उहाँले वर्तमान समयमा सूचना प्रविधिको महत्व बढ्दै गएको र निर्वाचन प्रचार शैलीदेखि पार्टी सञ्चालनका हरेक पक्षमा डिजिटल प्रविधिको प्रयोग अपरिहार्य बनिसकेको औँल्याउनुभयो। पार्टी सर्कुलर जारी गर्न, आम सदस्यहरूको राय तथा सुझाव संकलन गर्न, र पार्टीका गतिविधिबारे तत्काल जानकारी दिन अब डिजिटल प्रविधि नै मुख्य माध्यम बन्ने पौडेलको भनाइ थियो।
महामन्त्री पौडेलले क्रियाशील सदस्यताको डिजिटल अभिलेखीकरणले पार्टीभित्र सदस्यहरूको विचार र क्षमतालाई सही ढंगले पहिचान गर्न मद्दत पुग्ने बताउनुभयो। यसबाट पार्टीले आफ्ना सदस्यहरूलाई अझ जिम्मेवार बनाउन सक्ने र उनीहरूको व्यक्तिगत क्षमताको रोस्टर तयार पार्न सकिनेछ, जसले पार्टीलाई आवश्यक परेको बेला उपयुक्त व्यक्तिलाई सही जिम्मेवारी दिन सहज हुनेछ। यो प्रणालीले प्रत्येक सदस्यलाई पार्टी प्रणालीसँग जोड्न र उनीहरूमा अपनत्वको भावना विकास गर्न प्रोत्साहित गर्ने उहाँको तर्क थियो।
डिजिटल अद्यावधिकको प्रक्रियामा वडा समितिको भूमिकालाई विशेष जोड दिइएको छ। महामन्त्री पौडेलले सदस्यहरूलाई आफ्नै वडामा फर्काउन, स्थानीय तहमा उनीहरूको चिनारी बढाउन र पार्टीसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउन वडामा नै उपस्थित हुनुपर्ने व्यवस्था गरिएको बताउनुभयो। “हरेक क्रियाशील सदस्यलाई प्रणालीमा जोड्न र अपनत्वको भाव विकास गर्न वडामै जान प्रोत्साहित गरिएको हो,” उहाँले भन्नुभयो, “यसले सदस्यता विवरणमा पारदर्शिता समेत कायम गर्न सकिनेछ र फर्जी सदस्यताको सम्भावना न्यून हुनेछ।” कुनै विशेष कारणवश वडामा जान नसक्ने सदस्यहरूको हकमा भने छलफलमार्फत उपयुक्त विकल्प खोजिने उहाँले जानकारी दिनुभयो।
पार्टीले यस अभियानलाई व्यवस्थित बनाउन जिल्ला सभापतिमार्फत सबै वडामा सदस्यता फारम पठाउने व्यवस्था मिलाएको छ। वडा सभापतिहरूले नयाँ क्रियाशील सदस्यता फारम वितरण गर्ने, अद्यावधिक गरिएका तथा नवीकरण भइसकेका सदस्यहरूको विवरणलाई सदर गरी डिजिटल प्रणालीमा प्रविष्ट गरेपछि मात्र ती सदस्यता वैध मानिनेछन्। महामन्त्री पौडेलले सदस्यता नवीकरण नगरेकाले नयाँ फारम भर्न सक्ने तर डिजिटल माध्यमबाट अद्यावधिक नभएका सदस्यहरूले आगामी महाधिवेशनसम्बन्धी कुनै पनि प्रक्रियामा भाग लिन नपाउने स्पष्ट चेतावनी दिनुभयो। यसले अभियानलाई गम्भीरताका साथ लिई निर्धारित समयभित्रै सदस्यता अद्यावधिक गर्न प्रोत्साहन मिल्नेछ।
