बर्दिबास उद्योग वाणिज्य संघ र ईसेवाबिच सहकार्य: व्यवसायीका लागि निःशुल्क दुर्घटना सुरक्षा योजना लागू
रवीन्द्र उप्रेती
बर्दिबास, भदौ २५ गते ।
मधेश प्रदेशकै व्यावसायिक क्षेत्रमा एक नवीन र महत्वपूर्ण पहलस्वरुप बर्दिबास उद्योग वाणिज्य संघले आफ्ना सदस्यहरूको सामाजिक तथा आर्थिक सुरक्षालाई लक्षित गर्दै निःशुल्क दुर्घटना एवं सुरक्षा योजना लागू गरेको छ। डिजिटल भुक्तानी सेवा प्रदायक ईसेवासँगको सहकार्यमा सञ्चालनमा ल्याइएको यो योजनाले व्यवसायीहरूलाई आकस्मिक परिस्थितिमा आर्थिक टेवा पुग्ने अपेक्षा गरिएको छ।
यस योजनाअन्तर्गत, संघमा नयाँ सदस्यता लिने वा सदस्यता नवीकरण गर्ने प्रत्येक व्यवसायीलाई निःशुल्क ईसेवा दुर्घटना सुरक्षा योजना उपलब्ध गराइनेछ। बर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष दीपक कार्कीले बुधबार बर्दिबास उद्योग वाणिज्य संघ र ईसेवाबिच समझदारीपत्रमा हस्ताक्षर भएसँगै संघमा आबद्ध करिब तीन हजार व्यवसायी यस सेवाका प्रत्यक्ष लाभग्राही बनेको जानकारी दिनुभयो।
योजनाले दुर्घटनामा पर्न सक्ने व्यवसायीहरूका लागि विस्तृत सुरक्षा कवच प्रदान गरेको छ। यसमा दुर्घटनाबापत लाग्ने उपचार खर्च, दुर्घटनामा परी मृत्यु भएका सदस्यका परिवारलाई सहयोग, अन्त्येष्टि खर्च तथा शववाहन खर्चसमेत समेटिएको छ। अध्यक्ष कार्कीका अनुसार, दुर्घटनामा परेका संघका सदस्यले उपचारबापत अधिकतम एक लाख रुपियाँसम्म पाउनेछन्। यस्तै, दुर्घटनाबाट मृत्यु भएका सदस्यका परिवारलाई थप एक लाख रुपियाँको सहयोगका साथै अन्त्येष्टि र शववाहन खर्चका लागि थप २० हजार रुपियाँ उपलब्ध गराइने व्यवस्था मिलाइएको छ।
यस योजनाको मुख्य उद्देश्य व्यावसायिक हितसँगै सदस्यहरूको सामाजिक तथा आर्थिक सुरक्षाको प्रत्याभूति गराउनु रहेको अध्यक्ष कार्कीले स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “आफ्ना सदस्यलाई उपलब्ध गराइएको यो सुविधाले व्यवसाय सञ्चालनका क्रममा हुन सक्ने विभिन्न जोखिम तथा आकस्मिक दुर्घटनाबाट उत्पन्न आर्थिक समस्यालाई न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुग्नेछ। यसले व्यवसायीहरूमा सुरक्षाको भावना जगाउनुका साथै उनीहरूको आत्मविश्वास पनि बढाउनेछ।”
संघका सचिव रिमनाथ अधिकारीले मधेश प्रदेशमै पहिलो पटक व्यवस्थापन गरिएको यो नयाँ सुविधाले व्यवसायीहरूको हकहितका लागि एउटा कोसेढुङ्गा साबित हुने बताउनुभयो। उहाँका अनुसार, यो योजनाले शोक, समस्या र पीडामा परेका व्यवसायी तथा उनीहरूका परिवारलाई ठूलो राहत र भरोसा प्रदान गर्नेछ। अधिकारीले थप्नुभयो, “हामी विश्वस्त छौँ कि यो योजनाबाट व्यवसायीहरूको सामाजिक तथा आर्थिक सुरक्षा अभिवृद्धि हुनुका साथै नयाँ सदस्यता दर्ता तथा सदस्यता नवीकरण प्रक्रियालाई समेत प्रोत्साहन मिल्नेछ, जसले संघको आधार अझ फराकिलो बनाउन मद्दत गर्नेछ।”
स्थानिय व्यवसायीहरूले यस किसिमको सुरक्षा योजनाले आकस्मिक परिस्थितिमा आर्थिक टेवा पुग्ने भएकाले व्यावसायिक निरन्तरता र मनोबलमा सकारात्मक प्रभाव पार्ने बताएका छन्। यस सहकार्यले डिजिटल प्रविधि र व्यावसायिक संघसंस्थाबीचको सम्बन्धलाई थप सुदृढ पार्दै सदस्यहरूको कल्याणका लागि नवीन उपायहरू अपनाउन सकिने दृष्टान्त प्रस्तुत गरेको छ। बर्दिबास उद्योग वाणिज्य संघको यो पहल अन्य जिल्ला तथा प्रदेशका व्यावसायिक संघसंस्थाहरूका लागि पनि अनुकरणीय हुने विश्वास गरिएको छ।
