बेलायतको लिड्स विश्वविद्यालयका प्राध्यापक डंकन क्विन्सेले दुई दशकभन्दा लामो समयदेखि हिमाल र हिमनदीको अध्ययनमा आफूलाई समर्पित गर्दै आएका छन्। सन् २००४ देखि नेपालमा हिमनदीको परिवर्तन र जलवायु संकटका प्रभावबारे निरन्तर अनुसन्धानरत उनी यस पटक सातौँ पटक सगरमाथा क्षेत्रमा पुगेका छन्। खुम्बु हिमनदीमा अन्यत्रभन्दा तीव्र गतिमा हिउँ पग्लिरहेको रहस्य पत्ता लगाउने उद्देश्यका साथ प्राध्यापक क्विन्से र उनको टोली एक महिना लामो सगरमाथा अध्ययन मिसनमा संलग्न छ।
प्राध्यापक क्विन्सेले नेपाललाई संस्कृतिमा धनी मुलुकको रूपमा लिँदै यहाँका मानिस र वातावरणबीचको गहिरो सम्बन्धलाई आफ्नो अध्ययनको महत्त्वपूर्ण पक्षका रूपमा औँल्याएका छन्। उनले भने, “नेपालको पहाडी क्षेत्रमा देखिएका परिवर्तनहरू ऐतिहासिक दृष्टान्तभन्दा बाहिर छन्, जसले पर्वतीय र तल्लो तटीय दुवै क्षेत्रका बासिन्दालाई प्रत्यक्ष प्रभाव पारिरहेको छ।” उनले नेपालका हिमालले आफ्नो हृदयमा विशेष स्थान ओगटेको बताए।
सगरमाथा क्षेत्रको समग्र स्वास्थ्यबारे टिप्पणी गर्दै प्राध्यापक क्विन्सेले यसलाई स्पष्ट रूपमा ‘संकट’ को संज्ञा दिएका छन्। “नेपालका हिमालहरूको स्वास्थ्य राम्रो छैन, यो समयसँगै खस्कँदै गएको छ,” उनले थपे। भूउपग्रहका माध्यमबाट गरिएका मापनले सगरमाथा हुँदै बग्ने हिमनदीहरू लगातार संकुचित हुँदै गएको र हिउँ हराउने दर बढिरहेको देखाएको छ। पग्लिएको हिउँको स्थानमा ताल र पोखरीहरू देखा पर्नु, भित्री तहका हिउँका तहहरू सतहमा देखिनु र पर्वतीय धारहरू अस्थिर भई हिमपहिरोको जोखिम बढ्नु यसका प्रत्यक्ष प्रमाण हुन्। उनले यो संकट रोक्न तत्काल कदम चाल्नुपर्नेमा जोड दिए।
यस पटकको मिसनको उद्देश्यबारे बताउँदै प्राध्यापक क्विन्सेले अघिल्लो अध्ययनको अप्रत्याशित नतिजाको गुत्थी सुल्झाउनु रहेको उल्लेख गरे। खुम्बु हिमनदीमा १९० मिटर गहिराइसम्म ड्रिल गर्दा सबैभन्दा चिसो हिउँको तापक्रम समेत माइनस ३.३ डिग्री सेल्सियस मात्र पाइनु एक ‘वेक अप कल’ थियो। हालको अध्ययनले सगरमाथाको ६ हजार मिटर उचाइमा रहेको ‘वेस्टर्न सिडब्लुएम’ मा सतही तापक्रम माइनस ५ देखि माइनस १५ डिग्री सेल्सियस हुँदा पनि पग्लेको पानी देखिनुको कारण खोज्नेछ। उनले कडा सूर्यको तापले हिउँ पग्लेर पानी भित्र प्रवेश गर्दा पुन: जम्ने प्रक्रियामा ताप छोडी हिउँलाई तातो बनाइरहेको परिकल्पनामाथि परीक्षण गरिने बताए। यस अध्ययनबाट हिमनदीको भविष्यबारे सन् २०५०, २०७५ र २१०० सम्मको अवस्था आकलन गर्न सकिने विश्वास व्यक्त गरे।
नेपालले आगामी ‘सगरमाथा संवाद’ मा हिमाल र हिमनदीको सन्दर्भलाई अधिकतम पैरवी गर्नुपर्ने सुझाव दिँदै प्राध्यापक क्विन्सेले तथ्याङ्कसहित विश्वव्यापी मञ्चमा यो विषय उठाउनु पर्ने बताए। “हामी यस्तो बाटोमा छौँ, जहाँ आगामी एक पुस्ताभित्रै केही क्षेत्र लगभग बस्न अयोग्य हुनेछन्,” उनले भने। उनले विश्व समुदाय, विशेषगरी जी–२० देशहरूले जीवाश्म इन्धनबाट नवीकरणीय ऊर्जामा तत्काल स्थानान्तरण गर्नुपर्ने र नेपाल जस्ता कम योगदानकर्ता, तर बढी प्रभावित देशहरूलाई क्षतिपूर्ति र समायोजनका लागि सहयोग गर्नुपर्ने माग गरे।
जलवायु परिवर्तनलाई कूटनीतिक विषयका रूपमा हेर्दै प्राध्यापक क्विन्सेले नेपालका राजनीतिज्ञहरूले ठुला राष्ट्रका नेताहरूसँग संवाद गर्नुपर्ने र उनीहरूलाई पहाडी वातावरणमा ल्याएर भइरहेका परिवर्तनहरू प्रत्यक्ष देखाउनुपर्ने बताए। दीर्घकालीन परिवर्तनका लागि बलियो नेतृत्व अपरिहार्य रहेको उनको भनाइ छ। जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय अदालतमा भइरहेका कानुनी कारबाही र जलवायु कोषको महत्त्वमाथि प्रकाश पार्दै उनले जी ७ र जी २० देशहरू यसमा अगाडि आउनुपर्नेमा जोड दिए।
अन्त्यमा, प्राध्यापक क्विन्सेले नेपालसँग अझै पनि विश्वका सबैभन्दा सुन्दर पर्वत शृंखलाहरू रहेको बताउँदै पर्यटन उद्योगको महत्त्व दर्शाए। उनले विश्वका मानिसलाई नेपाल भ्रमण गरी यहाँको वातावरणको आनन्द लिन आग्रह गरे, किनकि केही पुस्तामा नेपालका पहाडी क्षेत्रहरू धेरै फरक देखिनेछन् भन्ने उनको भनाइ थियो।
सगरमाथा। फाइल तस्बिर: सौजन्य इसिमोड
