प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले बाढीपीडितमाथि अनावश्यक टिप्पणी गरी पीडा दिने कार्यलाई “अपराधी” को संज्ञा दिँदै त्यस्ता व्यक्तिप्रति सरकार निर्मम हुने चेतावनी दिएका छन्। भदौ १० गतेको हिमचट्टान फुटेर भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी हराएका व्यक्तिका परिवारलाई लक्षित गरी सामाजिक सञ्जालमा भइरहेका नकारात्मक टिप्पणीका सन्दर्भमा उनले यो टिप्पणी गरेका हुन्।
बाढीबाट प्रभावित परिवारहरूले सरकारको खोजी, उद्धार र राहत कार्यमाथि गुनासो गर्दा सामाजिक सञ्जालमा उनीहरूमाथि नकारात्मक टिप्पणी र गालीगलौज हुने गरेको पाइएको छ। हालै एक पीडित महिलाले सरकारको कार्यप्रति गुनासो राखेपछि सामाजिक सञ्जालबाट चर्को गाली आएको भन्दै आफ्नो भनाई सार्वजनिक नगरिदिन आग्रह गरेकी थिइन्। उनले आफूलाई ‘पीडामाथि पीडा थपिएको’ महसुस भएको बताएकी थिइन्।
यस्तै गतिविधिहरूका विषयमा नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान गरिरहेको जनाएको छ। सामाजिक सञ्जालमा एउटा भिडिओ भाइरल भएको छ, जसमा एक महिलाले बाढीमा हराएका श्रीमान् र अन्य परिवारका सदस्यको खोजीमा सरकारले तत्परता नदेखाएको भन्दै आक्रोश व्यक्त गरेकी छिन्। उनले आफ्नो परिवार हराएको १० दिन बितिसक्दा पनि कुनै ठोस पहल नभएकोमा असन्तुष्टि जनाएकी थिइन्। यो भिडिओमाथि अश्लील तथा थप पीडा दिने खालका टिप्पणीहरू आएपछि ब्युरो सक्रिय बनेको हो।
ब्युरोका प्रवक्ता दीलिपकुमार गिरीले भदौ १० गतेदेखि नै १० जनाको टोलीले बाढीसम्बन्धी तथ्यहीन, भ्रामक तथा पीडितलाई थप पीडा दिने टिप्पणी गर्नेहरूको अनुगमन र पहिचान गरिरहेको बताए। उनले भने, “यसमा कसैले उजुरी नगरे पनि हामीले आफैँ अनुसन्धान गरिरहेका छौँ।” सो भिडिओमाथि नकारात्मक टिप्पणी गर्नेहरूको पहिचानका लागि ‘मेटा’ (फेसबुकको माउ कम्पनी) लाई पत्राचार भइसकेको पनि गिरीले जानकारी दिए।
यस्तै, कुनै समुदायलाई आँच पुर्याउने टिप्पणीहरूमाथि पनि अनुसन्धान भइरहेको छ। बैतडीका एक पुरुषले ‘रसुवामा बाढी आएको ठिक भयो…’ भन्दै समुदायलक्षित घृणा फैलाउने पोस्ट राखेकोमा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता गिरीले बताए। यस्ता साइबर अपराधमा विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ आकर्षित हुने जानकारहरू बताउँछन्, जसअनुसार दोषीलाई एकदेखि पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। प्रहरीले आफैँ अनुसन्धान गरिरहेकाले अरूलाई गालीगलौज गर्ने वा चरित्रहत्या गर्न खोज्ने व्यक्ति उम्किन नसक्ने भन्दै सचेत रहन आग्रह गरिएको छ।
कम्प्युटर विज्ञानमा विद्यावारिधि गरेकी तथा एआई विज्ञ दोभान राईका अनुसार सामाजिक सञ्जालमा यस्ता टिप्पणी गर्नेहरू मुख्यतया तीन प्रकारका हुन्छन्: सरकारका कट्टर समर्थक, अरूको दुःखमा टिप्पणी गर्न रमाउने र ‘रेज बेइटिङ’ गर्नेहरू जसले नकारात्मक कुरा लेखेर प्रयोगकर्तालाई आफ्नो सामग्रीमा धेरै बेर टिकाउने गर्छन्। उनले भनिन्, “नकारात्मक कुराहरूमा मन नपराएर अचम्ममा पर्नेहरू पनि अडिन्छन्, जसले एल्गोरिदम्को लागि उच्च मूल्य दिन्छ। यसले गर्दा त्यस्ता सामग्रीहरू माथि तैरिने गर्छन्।” राईले सरकारप्रति अत्यधिक सहानुभूति राखेर प्रश्न गर्नेलाई निन्दा गर्ने अतिवादले सामाजिक सञ्जालमा संवादलाई ध्रुवीकृत गरेको बताइन्।
राईले विपद्को बेला सरकारलाई आवश्यकता अनुसार झक्झकाउने र संयम हुनुपर्नेमा जोड दिइन्। “सरकारसँग नजिक रहेको टोलीले नै यस्तो (सरकारको आलोचना गर्नेलाई) गाली गर्ने समूह परिचालित गरेको छ भने त्यसको राजनीतिक मात्रै नभइ नैतिक जिम्मेवारी पनि सरकारले लिनुपर्छ,” राईले भनिन्। अधिवक्ता बाबुराम अर्यालले पनि सरकार पक्ष नै संयमित भएको भए उसका समर्थक पनि संयमित हुने धारणा व्यक्त गर्दै सरकारको संलग्नताले उसका बचाउ गर्नेहरूलाई आक्रामक बनाइरहेको उल्लेख गरे।
