पौरस्त्य ज्ञानपरम्परामा गुरु चेतनाको आलोक, संस्कृतिको संवाहक र सभ्यताको आत्मा हुनुहुन्छ । वेद-उपनिषद्, पुराण तथा गुरुकुलीय परम्पराले गुरुको महिमालाई मानव जीवनको सर्वोच्च आध्यात्मिक मूल्यका रूपमा प्रतिष्ठित गरेका छन् । मुण्डकोपनिषद्को ‘तद्विज्ञानार्थं स गुरुमेवाभिगच्छेत्’ उद्घोषले सत्य, विवेक र आत्मबोधको यात्रामा गुरुको अपरिहार्यता दर्शाउँछ भने गुरुगीताले गुरुतत्त्वलाई परब्रह्मकै अभिव्यक्ति मानेको छ । यही ज्ञानपरम्पराले पौरस्त्य सभ्यतालाई हजारौँ वर्षसम्म ज्ञान, संस्कार र नैतिकताको आधारमा जीवित राखेको छ ।
गुरुपूर्णिमा आज पनि केवल धार्मिक पर्व नभई ज्ञान, कृतज्ञता, संस्कार र सभ्यताको पुनर्स्मरण गर्ने सांस्कृतिक महापर्वका रूपमा आफ्नो गरिमा कायम राखिरहेको छ । यस वर्ष पाशुपत क्षेत्रमा ब्रह्मलीन सन्तशिरोमणि परमपूजनीय श्री १००८ डा. स्वामी रामानन्द गिरिजी महाराजको नवौँ स्मृतिमहोत्सव र गुरुपूर्णिमा विशेष समारोह सम्पन्न भयो । यो केवल स्मृतिसभा मात्र नभई गुरुपरम्परालाई अनुसन्धान, प्रकाशन, गुरुकुलीय शिक्षा, संस्कृत संरक्षण र सामाजिक जागरणसँग जोड्ने सांस्कृतिक घोषणापत्रका रूपमा प्रस्तुत भएको छ ।
ब्रह्मलीन स्वामी रामानन्द गिरिजी महाराजले आफ्नो सम्पूर्ण जीवन सनातन धर्म, वेदान्त, संस्कृत शिक्षा, गुरुकुलीय संस्कार र पाशुपत क्षेत्रको आध्यात्मिक पुनर्जागरणका लागि समर्पित गर्नुभयो । उहाँको दृष्टिमा धर्म कर्मकाण्डमा सीमित नभई समाजलाई नैतिक, बौद्धिक र आध्यात्मिक रूपमा उन्नत बनाउने जीवनपद्धति थियो । उहाँले गुरुकुललाई विद्यार्थी बस्ने आश्रमका रूपमा मात्र नभई समाज निर्माण गर्ने संस्कारकेन्द्रका रूपमा व्याख्या गर्नुभयो । उहाँको प्रेरणाबाट सुरु भएका शैक्षिक, धार्मिक, अनुसन्धानमूलक र सामाजिक अभियानहरू आज पनि निरन्तर विस्तार भइरहेका छन् । गुरुको वास्तविक स्मरण उहाँले देखाएको मार्गलाई जीवनमा उतार्नुमा निहित हुन्छ ।
परम्परागत गुरुकुल आश्रममा सीमित भए पनि आजको गुरुकुल समाजमा फैलिनुपर्ने दृष्टिकोणलाई मूर्त रूप दिन वि.सं. २०७७ देखि आचार्य कपिलदेव सुवेदीको अध्यक्षतामा ‘घरघरमा गुरुकुल अभियान’ सञ्चालित छ । यो अभियानले प्रविधिलाई संस्कारको माध्यम बनाउँदै अनलाइन माध्यमबाट हजारौँ परिवारमा संस्कृत भाषा, वैदिक स्तोत्र, शास्त्रीय अध्ययन, नीतिशिक्षा र आध्यात्मिक साधनाको अभ्यास गराउँदै आएको छ । यसले सूचना र ज्ञान फरक रहेको तथा प्रविधिले संस्कार दिन नसक्ने भए पनि सही प्रयोगले यसलाई संस्कारको शक्तिशाली संवाहक बनाउन सकिने तथ्य प्रमाणित गरेको छ ।
गुरुपूर्णिमाविशेष समारोहको सबैभन्दा जीवन्त पक्ष करिब दुई सय पचास प्रशिक्षार्थीद्वारा सम्पन्न सामूहिक ‘सौन्दर्यलहरी’ र ‘गोपीगीत’ को पारायण थियो । यो केवल स्तोत्रपाठ नभई शास्त्र, साधना र संस्कारको सजीव अभ्यास थियो । आदि शङ्कराचार्यकृत सौन्दर्यलहरी अद्वैत वेदान्त, शक्तिदर्शन, तन्त्रसाधना, काव्यसौन्दर्य र आध्यात्मिक अनुभूतिको अद्भुत समन्वय हो भने श्रीमद्भागवतको दशम स्कन्धमा समाविष्ट गोपीगीत भक्तियोगको उत्कर्ष अभिव्यक्त गर्ने अनुपम काव्य हो । आजको पुस्तालाई संस्कृत साहित्यलाई परीक्षा उत्तीर्ण गर्ने विषयका रूपमा नभई जीवन निर्माण गर्ने आध्यात्मिक र सांस्कृतिक सम्पदाका रूपमा परिचित गराउनु समयको आवश्यकता हो । यसै दृष्टिले सामूहिक स्तोत्रपारायणको अभ्यास संस्कृत भाषा संरक्षण, स्मरणशक्ति, उच्चारणशुद्धि, अनुशासन र सामूहिक चेतनाको विकास गर्ने प्रभावकारी शैक्षिक विधि पनि हो ।
यस वर्षको स्मृतिमहोत्सवलाई विशिष्ट बनाउने अर्को आयाम महेश संस्कृत गुरुकुलद्वारा प्रकाशित अनुसन्धानमूलक ग्रन्थ ‘पाशुपत क्षेत्रका ६४ सिद्धलिङ्ग’ को शिवार्पण थियो । यो ग्रन्थले पाशुपत क्षेत्रको ऐतिहासिक, पौराणिक, तान्त्रिक परम्परा र चौसट्ठी सिद्धलिङ्गहरूको महत्त्वलाई अनुसन्धानका आधारमा अभिलेखीकरण गर्ने प्रशंसनीय प्रयास गरेको छ । यस्ता अनुसन्धानमूलक कृतिको शिवार्पण गुरुको ज्ञानमार्गलाई निरन्तर अघि बढाउनु नै गुरुदक्षिणाको सर्वोच्च रूप हो भन्ने सन्देश दिन्छ ।
ज्ञानपरम्पराप्रतिको कृतज्ञतास्वरूप यस समारोहमा आध्यात्मिक प्रवक्ता स्वामी नीलकण्ठानन्द गिरिजी महाराज, न्यायशास्त्रवेत्ता डा. विश्वनाथ धिताल तथा ‘वेदनिधि पुरस्कार-२०८२’ बाट सम्मानित प्रा. विद्यानाथ भट्टलाई विद्वत्सम्मान गरिएको थियो । यो सम्मान ज्ञानको निरन्तरतासँग प्रत्यक्ष सम्बन्धित हुने र सांस्कृतिक उत्तराधिकारको संरक्षण गर्ने सशक्त माध्यम हो । ब्रह्मलीन स्वामी रामानन्द गिरिजी महाराजप्रति सच्चा श्रद्धाञ्जलि उहाँले प्रज्वलित गर्नुभएको ज्ञानदीपलाई अनुसन्धान, गुरुकुलीय शिक्षा, संस्कृत संरक्षण र जीवनमूल्यको अभ्यासमार्फत समाजका प्रत्येक घरसम्म पुर्याउनु नै हो । जब प्रत्येक घर गुरुकुल बन्छ र प्रत्येक नागरिक ज्ञानको साधक बन्छ, तब मात्र सांस्कृतिक पुनर्जागरणको सपना सार्थक हुन्छ ।
