साउन ९, २०८३ शनिबार १९:४४:३३
काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सिता बादीको विशेष निर्देशनपछि नक्सालस्थित नेपाल बाल संगठनको केन्द्रीय बाल मन्दिरमा बृहत् पुनःसंरचना तथा पूर्वाधार सुधारको काम सुरु भएको छ। बाल मन्दिरको भौतिक अवस्था जीर्ण भई बालबालिकाको स्वास्थ्य र सुरक्षामा गम्भीर जोखिम देखिएपछि सरकारले तत्काल हस्तक्षेप गर्दै सुधार प्रक्रिया अघि बढाएको हो।
आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको समन्वयमा आयोजना प्रमुख, निर्माण कम्पनीका प्रतिनिधि तथा प्राविधिक टोलीको उपस्थितिमा ढल निर्माण कार्यको औपचारिक थालनी गरिएको छ। यो पहल बाल मन्दिरलाई सुरक्षित, स्वच्छ र व्यवस्थित वातावरणमा रूपान्तरण गर्ने सरकारी प्रतिबद्धताको महत्त्वपूर्ण कदम मानिएको छ।
गत साता मन्त्रालयले प्राप्त उजुरी तथा सार्वजनिक भएका भिडियो सामग्रीहरूको आधारमा बाल मन्दिरको स्थलगत अनुगमन गरेको थियो। उक्त अनुगमनका क्रममा बाल मन्दिरको भौतिक अवस्था अत्यन्त दयनीय र जीर्ण रहेको पाइएको थियो। भवनका विभिन्न भागमा पानी जम्ने, प्रभावकारी ढल निकासको व्यवस्था नहुँदा भित्र दुर्गन्ध फैलिएको, शौचालय तथा स्नानगृहहरू पूर्ण रूपमा प्रयोग अयोग्य बनेको अवस्था फेला परेको थियो। यसका साथै, सरसफाइको अवस्था पनि अत्यन्तै कमजोर रहेको र विभिन्न उमेर समूहका बालबालिकालाई एउटै अव्यवस्थित स्थानमा राखिएको पाइएको थियो।
यस्तो जोखिमपूर्ण अवस्थाले बालबालिकाको स्वास्थ्य, सुरक्षा र मनोसामाजिक विकासमा गम्भीर असर पुर्याउने देखिएपछि मन्त्रालयले तत्काल हस्तक्षेप गर्दै पहिलो चरणमा दुई वर्षमुनिका २० जना बालबालिकालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको थियो। मन्त्री सिता बादीले बाल मन्दिरको भौतिक अवस्था तत्काल सुधार गरी बालबालिकाका लागि सुरक्षित, स्वच्छ र व्यवस्थित वातावरण सुनिश्चित गर्न सम्बन्धित निकायलाई कडा निर्देशन दिएकी थिइन्। सोही निर्देशन कार्यान्वयनस्वरूप आजदेखि पुनःसंरचनाको काम सुरु गरिएको मन्त्रालयले जानकारी गराएको छ।
मन्त्रालयका अनुसार, पहिलो चरणमा बाल मन्दिरभित्रको ढल व्यवस्थापनको काम प्राथमिकताका साथ अगाडि बढाइएको छ। ढल प्रणालीको स्तरोन्नतिले फोहोर र दुर्गन्धको समस्या समाधान गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ। ढल व्यवस्थापनपछि भवन मर्मत, क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माण, शौचालय तथा स्नानगृहहरूको आधुनिक स्तरमा स्तरोन्नति, व्यवस्थित सरसफाइ व्यवस्थापन, सुरक्षित खानेपानीको व्यवस्था तथा बालबालिकाको उमेर र आवश्यकताअनुसार बालमैत्री पूर्वाधार निर्माणका काम क्रमिक रूपमा अघि बढाइनेछ। यसमा बालबालिकाका लागि सुरक्षित खेल मैदान, अध्ययन कक्ष र स्वच्छ सुत्ने कोठाको व्यवस्थापन पनि समावेश गरिनेछ।
मन्त्री सिता बादीले आयोजना प्रमुख र निर्माण कम्पनीलाई आगामी दसैंअघि नै बाल मन्दिरका सम्पूर्ण पुनःसंरचना तथा पूर्वाधार सुधारका कामहरू गुणस्तरीय रूपमा सम्पन्न गर्न निर्देशन दिएकी छिन्। दसैंसम्म बाल मन्दिरलाई एउटा सुरक्षित, स्वच्छ, व्यवस्थित र पूर्ण बालमैत्री संरक्षण केन्द्रका रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ। यो परियोजनाले नेपालमा बाल संरक्षणसँग सम्बन्धित पूर्वाधारमा देखिएका कमी कमजोरीहरूलाई सुधार गर्दै राज्यको संरक्षणमा रहेका प्रत्येक बालबालिकाले सुरक्षित, सम्मानजनक र गुणस्तरीय वातावरणमा हुर्किन पाउने अधिकार सुनिश्चित गर्ने दिशामा एक महत्त्वपूर्ण उदाहरण प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। मन्त्रालयले बाल अधिकारको सम्मान र कार्यान्वयनका लागि यस्ता सुधारका कामलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
