बेलायतमा एन्डी बर्नहम आगामी सोमबार आधिकारिक रूपमा नयाँ प्रधानमन्त्रीको पदभार ग्रहण गर्दैछन्। एक दशकभित्र सातौं प्रधानमन्त्री पाउने बेलायतका लागि यो नेतृत्व परिवर्तन महत्त्वपूर्ण छ। निवर्तमान प्रधानमन्त्री कीर स्टारमरले पार्टीभित्रको विद्रोहका बीच राजीनामाको घोषणा गरेपछि म्यान्चेस्टरका पूर्व मेयर एन्डी बर्नहमका लागि प्रधानमन्त्री बन्ने बाटो खुलेको हो। यो संक्रमणकालका लागि केही महत्वपूर्ण संवैधानिक र परम्परागत प्रक्रियाहरू पूरा हुन आवश्यक छ।
बेलायतको संसदीय प्रणाली अनुसार, मतदाताले प्रधानमन्त्री नभई सरकार चलाउन पार्टीलाई भोट दिन्छन्। सत्तामा रहने पार्टीले नेता चयन गर्छ र यसपटक लेबर पार्टीले एन्डी बर्नहमलाई अघि सारेको छ। बर्नहमले सत्तारूढ लेबर पार्टीको नेतृत्वका लागि निर्विरोध उम्मेदवारी दिएका थिए। पार्टीका झण्डै ९५ प्रतिशत सांसदहरूको अभूतपूर्व समर्थनका कारण उनी निर्विरोध नेता चुनिए। यसले गर्दा उनको प्रधानमन्त्री बन्ने बाटो एक औपचारिकता मात्र बनेको छ।
आगामी सोमबार बर्नहम आधिकारिक रूपमा बेलायतको प्रधानमन्त्री बन्ने अपेक्षा गरिएको छ। यो सम्पूर्ण प्रक्रिया निम्नानुसार चरणबद्ध रूपमा अगाडि बढ्नेछ:
पहिलो चरणमा, शुक्रबार लेबर पार्टीले आफ्नो नेतृत्वको दौडको नतिजा घोषणा गर्न एक विशेष सम्मेलन आयोजना गर्दैछ। यस सम्मेलनमा बर्नहमलाई आधिकारिक रूपमा पार्टी नेता नियुक्त गरिनेछ। एक मात्र उम्मेदवार भएकाले घोषणा अपेक्षित छ।
दोस्रो चरण अन्तर्गत, बर्नहम पार्टी प्रमुख बनेको दुई दिनपछि, सोमबार बिहान निवर्तमान प्रधानमन्त्री कीर स्टारमरले बकिङ्घम प्यालेसमा राजा चार्ल्स तृतीयसमक्ष आफ्नो राजीनामा बुझाउनेछन्। राजा चार्ल्सले आफ्नो चार वर्षभन्दा कम समयको शासनकालमा लिज ट्रस, ऋषि सुनक र अब स्टारमर गरी तेस्रो प्रधानमन्त्रीलाई बिदाइ गर्दैछन्, जसले बेलायती राजनीतिक अस्थिरता झल्काउँछ।
तेस्रो चरणमा, स्टारमरको राजीनामालगत्तै, एन्डी बर्नहम बकिङ्घम प्यालेस जानेछन्। त्यहाँ राजाले उनलाई नयाँ सरकार गठन गर्न औपचारिक रूपमा आग्रह गर्नेछन्। इतिहासमा ‘किसिङ ह्यान्ड्स’ भनेर चिनिने यो परम्परा हाल शासकसँग हात मिलाउने औपचारिक भेटमा परिणत भएको छ।
चौथो चरणमा, राजाबाट आधिकारिक अनुरोध प्राप्त गरेपछि, बर्नहम १० डाउनिङ स्ट्रिटस्थित प्रधानमन्त्रीको निवासमा पुग्नेछन्। त्यहाँ प्रेसका सदस्यहरू उनको प्रवेशको तस्बिर लिन प्रतीक्षारत हुनेछन्। बेलायतमा परिचित यस दृश्यमा, उनी डाउनिङ स्ट्रिट बाहिरको पोडियममा छोटो भाषण दिई भित्र प्रवेश गर्नेछन्।
अन्तिम, पाँचौं चरणमा, १० डाउनिङ स्ट्रिटको ढोकाबाट भित्र छिरेपछि, एन्डी बर्नहमको प्रधानमन्त्रीकाल आधिकारिक रूपमा सुरु हुनेछ। त्यसलगत्तै सरकार चलाउने वास्तविक कार्यभार सुरु हुनेछ। उनले आफ्नो मन्त्रिपरिषद् गठन गरी लेबर पार्टीका योजनाहरू कार्यान्वयन गर्न थाल्नेछन्। बर्नहमले आफ्नो कार्यकालमा जीवनस्तर सुधार्ने र लन्डनबाट शक्ति अन्य शहर तथा क्षेत्रहरूमा विकेन्द्रित गर्ने वाचा गरेका छन्। उनले म्यान्चेस्टरमा प्रधानमन्त्री कार्यालयको शाखा स्थापनाको प्रतिबद्धता जनाएका छन्।
