सर्लाही, असार २९ गते । सर्लाही र रौतहटको सीमा भएर प्रवाहित हुने बागमती नदीमा सोमबार यस वर्षकै सबैभन्दा उच्च जलस्तर मापन गरिएको छ। नुनथरस्थित बागमती नदीमा अवस्थित पधेरादोभान जल मापन केन्द्रले सोमबार मध्यान्ह १२ बजे गरेको मापनअनुसार बागमतीको जलसतह ३.९० मिटर पुगेको थियो, जुन यस मनसुन अवधिको सबैभन्दा उच्च मापन हो।
यद्यपि, सोमबार अपरान्ह ४ बजेसम्ममा जलसतह केही घटेर ३.३० मिटरमा झरेको जल तथा मौसम विज्ञान विभागको पधेरादोभान जलमापन केन्द्रमा कार्यरत जलमापन सहायक राजु पाटा मगरले जानकारी गराउनुभयो। सोमबार दिउँसोदेखि सर्लाही क्षेत्रमा वर्षा रोकिएपछि नदीमा पानीको बहाव घट्न थालेको हो।
हालसम्म बागमती नदीले खतराको तह पार नगरेको भए पनि, सोमबार साँझदेखि काठमाडौँ लगायतका पहाडी क्षेत्रमा पुनः वर्षा भइरहेकोले नदीको जलस्तर जुनसुकै बेला बढ्न सक्ने सम्भावना रहेको स्थानीय प्रशासनले जनाएको छ। यस परिस्थितिलाई मध्यनजर गर्दै महेन्द्र राजमार्गदेखि दक्षिणतर्फका तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन र सजग रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।
सर्लाहीमा सोमबार दिउँसोबाट वर्षा रोकिएको भए तापनि मौसम अझै धुम्मिएको अवस्थामा छ र पुनः वर्षाको सम्भावना कायमै रहेको मौसमविद्हरूले बताएका छन्। यसले नदीमा पानीको बहाव पुनः बढ्न सक्ने जोखिमलाई उजागर गरेको छ।
जिल्लामा सोमबार साँझसम्म बाढीका कारण कहीँकतै डुबान वा कटानको ठूलो समस्या नदेखिएको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिनुभयो। उहाँका अनुसार, प्रतिकूल मौसम र निरन्तर वर्षाको सम्भावनाका कारण जिल्लास्थित सम्पूर्ण सुरक्षा निकायहरू उच्च सतर्कता (अलर्ट) अवस्थामै राखिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले बाढी तथा डुबानको कुनै पनि अप्रिय घटना आइहालेमा तत्काल परिचालन हुनका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोलीहरू तयारी अवस्थामा रहेको स्पष्ट पार्नुभयो। जिल्ला विपत् व्यवस्थापन समिति र सुरक्षा निकायहरूसँग उपलब्ध सम्पूर्ण स्रोतसाधन तथा सामग्रीसहित विपत् व्यवस्थापनका लागि पूर्ण तयारी गरिएको उहाँले उल्लेख गर्नुभयो।
सर्लाहीमा बागमती, लखन्देही र मनुष्मारा लगायतका नदी तथा खोलाहरूमा पानीको सतह बढ्नेबित्तिकै जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बरहथवा, बसबरिया, धनकौल, रामनगर, बलरा, गोडैता, विष्णु, कौडेना जस्ता आधा दर्जनभन्दा बढी स्थानीय तहहरूमा वर्षेनी कटान तथा डुबानको समस्या देखा पर्ने गर्दछ। मनसुन सुरु भएसँगै बर्सेनि बाढी र डुबानबाट पीडित हुँदै आएका स्थानीय बासिन्दा यस वर्ष पनि समान चिन्तामा रहेका छन्। उनीहरूले प्रशासनबाट दीर्घकालीन समाधानको अपेक्षा राखेका छन् भने तत्कालका लागि सुरक्षित रहन सचेतता अपनाइरहेका छन्।
