सूचना तथा सञ्चारमन्त्रीद्वारा प्रेस स्वतन्त्रताको सम्मान र पत्रकारिताको दायित्वमा जोड
२१ असार, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालमा प्रेस स्वतन्त्रताको हनन कसैले पनि गर्न नसक्ने दृढता व्यक्त गरेका छन्। सरकार प्रेस स्वतन्त्रताको संकुचन गर्नेतर्फ नलागेको र लोकतन्त्रको आधारस्तम्भका रूपमा यसको सम्मान गर्ने प्रतिबद्धता उनले जनाएका छन्।
आइतबार ललितपुरमा नेपाल पत्रकार महासंघले आयोजना गरेको ‘बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रताः सञ्चार कानुन र जिम्मेदवार पत्रकारिता’ विषयक कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले प्रेस स्वतन्त्रतालाई लोकतान्त्रिक प्रणालीको अपरिहार्य अंशका रूपमा स्वीकार गरिएको बताए।
उनले पत्रकारिता क्षेत्रमा सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्न लागेको भनी उत्पन्न हुनसक्ने आशंकाप्रति लक्षित गर्दै चिन्तित नहुन आग्रह गरे। “हामीलाई लोकतन्त्रको आधारस्तम्भ नै प्रेस स्वतन्त्रता हो भन्ने पूर्ण जानकारी छ,” मन्त्री तिमिल्सिनाले भने, “आज मूल प्रश्न प्रेस स्वतन्त्रता हुने कि नहुने भन्ने होइन, कसैले पनि प्रेस स्वतन्त्रताको हनन गर्न सक्दैन।”
मन्त्री तिमिल्सिनाले नागरिकका संवैधानिक हक–अधिकारहरूको कार्यान्वयनमा सरकारले बाधा पुर्याएमा वा ती अधिकारहरू प्रदान नगरिएमा त्यसका लागि देशमा पर्याप्त संवैधानिक तथा कानुनी व्यवस्था रहेको स्मरण गराए। उनले यस्ता विषयमा संवादका माध्यमबाट समाधान खोज्न सकिने स्पष्ट पारे।
कुनै विषयमा बुझाइ र व्याख्यामा भिन्नताका कारण प्रेस स्वतन्त्रताको हनन भएको वा नभएको भन्नेमा फरक धारणा आउन सक्ने यथार्थलाई पनि उनले स्वीकार गरे। मन्त्री तिमिल्सिनाका अनुसार, “कुनै विषयलाई कसैले प्रेस स्वतन्त्रताको हनन भएको ठान्नसक्छ भने अर्काले त्यो प्रेस स्वतन्त्रता हननको विषय होइन भन्न पनि सक्छ।” यस्ता जटिलतालाई सम्बोधन गर्न खुल्ला संवाद र छलफल अपरिहार्य रहेको उनको भनाइ थियो।
मन्त्री तिमिल्सिनाले सरकार पत्रकारहरूसँग हरेक विषयमा छलफल गर्न तयार रहेको र समस्या समाधानका लागि सधैँ खुला रहने प्रतिबद्धता व्यक्त गरे। उनले प्रेस स्वतन्त्रताको रक्षाका लागि सरकार र पत्रकार दुवैले जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए।
आजको मूल प्रश्न प्रेस स्वतन्त्रताको अवस्थाभन्दा पनि सरकारको जिम्मेवारी र पारदर्शीतामा केन्द्रित हुनुपर्ने उनको तर्क थियो। “आजको मूल प्रश्न प्रेस स्वतन्त्रता छ कि छैन भन्ने होइन। हामी यस्तो अवस्थामा छौँ, जहाँ कसैले पनि प्रेस स्वतन्त्रताको हनन गर्न सक्दैन। तर मेरो विचारमा यहाँ सबैको हितका लागि मूलभूत प्रश्न सरकार जिम्मेवार हुनुपर्छ भन्ने हो,” उनले भने।
मन्त्री तिमिल्सिनाले सरकार जिम्मेवार हुनैपर्नेमा कुनै विवाद नरहेको उल्लेख गर्दै यदि सरकार कतै गैरजिम्मेवार भएको छ भने त्यसमाथि प्रश्न उठाउनु पत्रकारहरूको सबैभन्दा ठूलो दायित्व भएको स्पष्ट पारे। उनले पत्रकारिताको यो महत्त्वपूर्ण भूमिकालाई सरकारले सदैव सम्मान गर्ने र लोकतान्त्रिक मूल्यमान्यताको संरक्षणका लागि सहकार्य गर्न तत्पर रहेको सन्देश दिएका थिए।
