दक्षिण कोरियाका राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक हङ म्यङ-बोले हालै सम्पन्न विश्वकपको समूहचरणबाट टोली बाहिरिएपछि पदबाट राजीनामा दिएका छन्। टोलीको निराशाजनक प्रदर्शनपछि देशभर चर्को आलोचना भइरहेका बेला राष्ट्रपति ली जे-म्यङले घटनाको छानबिन गर्न निर्देशन दिँदै ‘नातावाद’ को सम्भावनामाथि प्रश्न उठाएका छन्।
तस्बिर स्रोत: रोयटर्स
फिफा वरीयतामा ३२औँ स्थानमा रहेको दक्षिण कोरियाले यो विश्वकपमा तीन खेलमध्ये एकमा मात्र जित हासिल गर्यो भने दुई खेलमा पराजित भयो। चर्चित खेलाडी सन हङ-मिनको नेतृत्वमा रहेको उक्त टोली मेक्सिको र दक्षिण अफ्रिका रहेको समूह ‘ए’ मा तेस्रो स्थानमा सीमित भएको थियो। मेक्सिको फिफा वरीयतामा १५औँ र दक्षिण अफ्रिका ६०औँ स्थानमा छन्। समूहचरणमा तेस्रो भएर पनि नकआउट चरणमा प्रवेश पाउने झिनो आशा शनिबारको नतिजाले समाप्त पारिदियो, जसपश्चात् दक्षिण कोरियाली फुटबल समर्थकहरूले राष्ट्रिय टोलीको प्रदर्शनमाथि गम्भीर प्रश्न उठाएका छन्।

तस्बिर स्रोत: रोयटर्स। हङ विश्वकपमा दोस्रो पटक प्रमुख प्रशिक्षकको भूमिकामा थिए।
मेक्सिकोमा आयोजित पत्रकार सम्मेलनमा राजीनामा घोषणा गर्दै प्रशिक्षक हङले दक्षिण कोरियाका फुटबल समर्थकहरूसँग क्षमायाचना गर्दै आफू मुख्य प्रशिक्षक भएकाले यसको पूर्ण जिम्मेवारी लिने बताए। उनले भने, “हामीले हाम्रा फ्यानहरूले चाहे जस्तो नतिजा निकाल्न सकेनौँ।” हङले राष्ट्रिय टोली छोड्न लागे पनि कोरियाली फुटबल परित्याग नगर्ने प्रतिबद्धता व्यक्त गरे। “म आफ्नो मनैदेखि राष्ट्रिय टोलीलाई समर्थन गर्छु र फेरि एक पटक मानिसहरूले टोलीलाई विश्वास एवम् प्रेम गर्छन् भन्ने आशा गर्छु,” उनले थपे।

तस्बिर स्रोत: रोयटर्स
राष्ट्रपति ली जे-म्यङले टोलीको अनपेक्षित नतिजामाथि गहिरो आश्चर्य र अन्योल व्यक्त गरेका छन्। सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गर्दै उनले दक्षिण कोरियाको विश्वकपबाट चाँडै बहिर्गमन ‘सङ्गठन र कर्मचारीहरूको विफलता’ जस्तो देखिएको टिप्पणी गरे। उनले थप कडा शब्दमा भने, “कमान्डर छान्दा क्षमताभन्दा नातावाद र कृपावादलाई प्राथमिकता दिइन्छ भने त्यसको परिणाम आगोले कागज जलाए जस्तै हुन्छ।” यो अभिव्यक्तिले दक्षिण कोरियाली फुटबल सङ्घ (केएफए) भित्रको छनोट प्रक्रियामाथि सीधा प्रश्न उठाएको छ।
प्रशिक्षक हङको मुख्य प्रशिक्षक पदमा नियुक्ति सुरुदेखि नै विवादित थियो। सन् २००२ को विश्वकपमा दक्षिण कोरिया सेमिफाइनलसम्म पुग्दा टोलीका कप्तान रहेका हङले सन् २०१४ मा प्रशिक्षकको रूपमा टोलीको नेतृत्व गर्दा समूहचरण पार गर्न सकेनन् र कुनै खेल नजिती बाहिरिएका थिए। सन् २०२४ मा उनको फेरि सोही पदमा नियुक्तिको चर्को विरोध भयो। फुटबल प्रशंसकहरूले दक्षिण कोरियाली फुटबल सङ्घ (केएफए) का पुराना पदाधिकारीहरूले कडा छनोट प्रक्रियामा सहभागी विदेशी मूलका योग्य उम्मेदवारहरूलाई पाखा लगाई आफ्ना साथीलाई शीर्ष पद सुम्पिएको भन्दै आलोचना गरेका थिए। आइतबार हङले यो भूमिका स्वीकार गर्ने काम ‘सजिलो नभएको’ बताएका थिए र आफ्ना सबै निर्णयहरू कोरियाली फुटबललाई ध्यानमा राखेर नै गरेको स्पष्ट पारे।
यसैबीच, स्थानीय सञ्चारमाध्यमहरूका अनुसार प्रशिक्षक हङलाई अनलाइन माध्यमबाट ज्यान मार्ने धम्की दिइएको छ। यसलाई मध्यनजर गर्दै इन्चन विमानस्थल र अन्य स्थानमा सुरक्षाका लागि कडा निगरानी गरिएको प्रहरीले जनाएको छ।
