राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन आइतवार चितवनमा सुरु भएको छ। तीन दिनसम्म चल्ने महाधिवेशनमा पार्टी सभापति रवि लामिछानेले सम्बोधन गर्दै जनमतले शक्तिशाली बनेको रास्वपा “प्रतिशोध र दम्भभन्दा पर गएर” काम गर्ने बताएका छन्। उनले आफ्नो दल मात्र नभई अन्य दलहरू पनि सही बाटोमा गए देशले प्रगति गर्नेमा जोड दिए।
तस्बिर स्रोत: RSS
स्थापनाको चार वर्षमै सत्ताको नेतृत्व गर्ने जनमत पाएको रास्वपाले यस महाधिवेशनबाट मुख्य एजेन्डाका रूपमा “नीति र नेतृत्व निखार” को काम गर्ने पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिएका छन्। महाधिवेशनको उद्घाटन रास्वपा सभापति लामिछानेले गरेका हुन्।
महाधिवेशनलाई सम्बोधन गर्दै प्रमुख राजनीतिक दलका नेताहरूले रास्वपालाई शुभकामनाका साथै जिम्मेवारी बोधका लागि सचेत गराएका छन्। नेपाली कांग्रेसका सभापति गगन थापाले रास्वपाको जनमत “स्थिरताका लागि सही ढङ्गले अघि बढोस्” भन्दै उक्त दल आफ्नो “प्रतिस्पर्धी हो, दुश्मन होइन” भने। उनले जनमत पाएका दलहरूलाई गल्तीका बेला आफ्नै नेतालाई प्रश्न गर्ने साहस गर्न सुझाए।

तस्बिर स्रोत: RSS
नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले रास्वपा आन्दोलनलाई सङ्गठनमा रूपान्तरण गर्ने ‘टर्निङ प्वइन्ट’ मा रहेको बताए। उनले रास्वपाको काँधमा रहेको असिम जनमतको सदुपयोग नभए जोखिम भयावह हुन सक्ने चेतावनी दिँदै पारदर्शिता कायम गर्न र नेपाललाई केन्द्रमा राख्न सुझाए। ज्ञवालीले न्यायालय, राष्ट्रपति संस्था, संसद र जनताका आलोचनाका स्वर कमजोर भएमा जनमत सधैँभरि नरहने कुरामा ध्यान दिन आग्रह गरे।

तस्बिर स्रोत: RSS
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले विशाल जनमतसहित आएको रास्वपाको महाधिवेशनका नतिजाले “समग्र राष्ट्रिय जीवनलाई अर्थ राख्ने” बताए। उनले विधिसम्मत र संविधानभन्दा बाहिरका कदमहरू नचाल्न आग्रह गर्दै लोकतन्त्रमा बहुमतले विनम्रता र अल्पमतले धैर्यता सिक्नुपर्ने बताए।

तस्बिर स्रोत: RSS
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले जनता राजनीतिक दल र दर्शनभन्दा एक कदम पर सरेर निर्णय गर्न सक्षम भएको बताए। उनले रास्वपालाई मिलेको जनमतमा राजा चाहनेहरूको भोट पनि रहेको भन्दै विशिष्ट जिम्मेवारी स्मरण गराए। जनता समाजवादी पार्टी-नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको “आर्थिक विकास र समृद्धिका लागि सुशासन र सामाजिक न्याय महत्त्वपूर्ण रहेको” भन्दै महाधिवेशनले ऐतिहासिक निर्णयहरू गर्न शुभकामना दिए। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले रास्वपाको जनमतलाई पूरा कार्यकाल काम गर्न शुभकामना दिँदै दलभित्र एक भएर काम गर्न सुझाए। जनमत पार्टीका अध्यक्ष सीके राउतले रास्वपालाई “ऐतिहासिक परिघटना” भन्दै सहिदहरूको सपना र जनतासँगका बाचा नभुल्न आग्रह गरे।

तस्बिर स्रोत: RSS
रास्वपाका उपसभापति स्वर्णीम वाग्लेले रास्वपा “विद्रोहको लोकतान्त्रिक आवाज” बनेको बताउँदै “लोकतन्त्रको संस्थागत गुणस्तर धेरै माथि उठाउनुपर्ने” खाँचो औँल्याए। उनले “हामी कसैलाई हराउन भन्दा पनि नेपाललाई जिताउन आएका हौँ” भन्दै पार्टी आक्रोश मात्र नभई आशा बन्नुपर्ने र आन्दोलनको पार्टीलाई संस्थागत राजनीतिक शक्तिमा रूपान्तरण गर्न लागेको बताए।
महाधिवेशनमा पोखराबाट सहभागी टेकराज सापकोटाले रास्वपाको चुनावी नतिजापछि जनतामा देशले गति लिने आशा पलाएको बताए। चितवनकी ममता सापकोटाले महाधिवेशनमा सबैले एकताबद्ध भई पदभन्दा देश ठूलो हो भन्ने सोचेर अघि बढ्न आवश्यक रहेको धारणा राखिन्। सर्लाहीबाट आएका नवलकिशोर साहले देशमा व्याप्त बेथिति र भ्रष्टाचारविरुद्धको अभियानमा पार्टी नेतृत्वलाई साथ दिन आएको बताए।

तस्बिर स्रोत: Ishwor Joshi/BBC

तस्बिर स्रोत: Ishwor Joshi/BBC
करिब ३ हजार ७०० प्रतिनिधि सहभागी रहेको महाधिवेशनले पार्टीको “हालको तदर्थ केन्द्रीय समितिबाट निर्वाचित केन्द्रीय समिति” बनाउनेछ। केन्द्रीय समितिमा १५१ जना निर्वाचित हुने र ७ जना प्रदेश सभापति पदेन सदस्य रहने प्रस्ताव छ। पार्टी सभापतिले उल्लेख्य सङ्ख्यामा केन्द्रीय सदस्य मनोनयन गर्न पाउने गरी विधान संशोधनको काम भइरहेको रास्वपा नेताहरूले बताएका छन्। निर्वाचनको लागि ८० वटा विद्युतीय मेसिन प्रयोग गरिने र देशबाहिरका प्रतिनिधिहरूले मोबाइल एपमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको छ।
