काठमाडौँ, असार ४ गते। दशौँ राष्ट्रिय महिला खुला बास्केटबल च्याम्पियनसिपमा बुढानिलकण्ठ नगरपालिका समूह चरणका सबै खेल जित्दै अपराजित यात्रा कायम राखेर सेमिफाइनलमा प्रवेश गरेको छ। नेपाल बास्केटबल सङ्घ (नेबा) को आयोजनामा कीर्तिपुर कभर्डहलमा जारी यस प्रतियोगितामा बुढानिलकण्ठले बलियो दावेदारी प्रस्तुत गरेको हो।
समूह ‘बी’ अन्तर्गतका आफ्ना तीनवटै खेलमा विजयी हुँदै बुढानिलकण्ठले शीर्ष स्थानमा रहेर अन्तिम चारमा स्थान सुरक्षित गरेको छ। उसले ट्रेनिङ ग्राउण्डलाई ५७–५० को अङ्क अन्तरले पराजित गर्दै आफ्नो लगातार तेस्रो जित दर्ता गरेको हो। निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा बुढानिलकण्ठले पहिलो क्वाटरमा १४–१४ को बराबरी खेले पनि दोस्रो क्वाटरमा १२–८ को अग्रता लियो। यद्यपि, तेस्रो क्वाटरमा १७–२३ को प्रदर्शन गर्दै ट्रेनिङ ग्राउण्डले पुनरागमनको सङ्केत दिएको थियो। तर, चौथो तथा निर्णायक क्वाटरमा बुढानिलकण्ठले १४–५ ले उत्कृष्ट खेल प्रदर्शन गर्दै जित सुनिश्चित गर्यो।
बुढानिलकण्ठकी अनुसा मल्लले खेलमा सर्वाधिक २७ अङ्क जोड्दै प्लेयर अफ द म्याचको उपाधि हात पारिन्। यस जितसँगै बुढानिलकण्ठ ६ अङ्कका साथ समूह ‘बी’ को शीर्ष स्थानमा रहन सफल भयो।
यसै समूहको अर्को खेलमा ट्रेनिङ ग्राउण्डले लुम्बिनी प्रदेशलाई ७७–६ को फराकिलो अन्तरले पराजित गर्दै समूह उपविजेताका रुपमा सेमिफाइनलमा स्थान बनाउन सफल भयो। उक्त एकपक्षीय खेलमा ट्रेनिङ ग्राउण्डले ३३–०, १४–४, १७–०, १३–२ को प्रभावशाली क्वाटर स्कोर प्रस्तुत गरेको थियो। ट्रेनिङ ग्राउण्डकी विनामनी योन्जनले सर्वाधिक १५ अङ्क जोडेकी थिइन् भने हिरा बोहरा प्लेयर अफ द म्याच घोषित भइन्। तीनमध्ये दुई जित र एक हारबाट कुल पाँच अङ्क जोड्दै ट्रेनिङ ग्राउण्डले उपविजेताको रुपमा सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो।
यस्तै, समूह ‘ए’ अन्तर्गतका खेलहरूमा सुनसरी बास्केटबल एसोसिएसन र अन्नपूर्ण बास्केटबल एसोसिएसन विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन्। सुनसरीले रोमाञ्चक प्रतिस्पर्धामा आइएस नेपाललाई ३८–३६ को झिनो अन्तरले पराजित गर्यो। सुरुवाती दुई क्वाटरमा आइएस नेपालले क्रमशः ४–३ र १०–७ को अग्रता लिए पनि सुनसरीले तेस्रो क्वाटर १३–१३ को बराबरी गर्दै खेलमा फर्कियो। चौथो तथा निर्णायक क्वाटरमा १५–९ ले उत्कृष्ट प्रदर्शन गर्दै सुनसरीले सनसनीपूर्ण जित हात पार्यो।
अर्को खेलमा अन्नपूर्ण बास्केटबल एसोसिएसनले लेट्स गो बास्केटबल एकेडेमीलाई ४८–४१ ले पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गर्यो।
असार ६ गतेसम्म सञ्चालन हुने यस प्रतियोगिताको विजेता टोलीले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ३० हजार रुपैयाँमा चित्त बुझाउनेछ। यसका अतिरिक्त, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (एमभीपी) लाई १० हजार रुपैयाँ, उदीयमान टोलीलाई १० हजार रुपैयाँ र उपत्यकाबाहिरबाट सहभागी उदीयमान खेलाडीलाई ५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।
