आगामी साता पहिलो महाधिवेशनको तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र आन्तरिक गुटबन्दीको आरोप लागेको छ। पार्टीका जिल्ला र प्रदेश अधिवेशनहरूमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह (वालेलेन्द्र शाह) पक्षधर नेताहरूबीच गुटबन्दी देखिएको आरोप छ।
कोशी प्रदेशको सभापतिमा उम्मेदवारी दिएकी गोमा (सरिन) तामाङले आफू गुटबन्दीकै कारण पराजित भएको दाबी गरेकी छन्। सुनसरी क्षेत्र १ बाट पछिल्ला दुई निर्वाचनमा रास्वपाबाट उम्मेदवार बनेकी र यसअघि प्रदेशको कार्यवाहक सभापतिसमेत रहेकी तामाङले पार्टी अधिवेशनमा दुई धारबीच देखिएको “गुटबन्दी” बारे स्पष्ट बोलेकी हुन्।
तामाङका अनुसार, “मैले नेतृत्वलाई विश्वास गरेर प्यानल बनाइनँ। तर यहाँ आएर दुईवटा गुट देखियो। एउटा वरिष्ठ नेता बालेनज्यूको प्यानल भनेर जिल्लाबाटै देखियो र अर्को सभापतिको नाम लिएर आए। त्यो हुँदा म छक्क परेँ।” उनले कोशी प्रदेशको सभापतिमा निर्वाचित चन्द्रबहादुर राईको विजयमा समेत गुटबन्दीको प्रभाव परेको आरोप लगाएकी छन्। तामाङले पार्टी नेताहरूबाट तयार गरिएको दाबी गर्दै उम्मेदवारको एउटा सूची नै सार्वजनिक गरेकी थिइन् र यस विषयमा पार्टीमा उजुरी गर्ने तयारी गरिरहेको बताएकी छन्। “तपाईँहरूको नाम बेचेर सङ्गठन लथालिङ्ग बनाउन खोजिएको छ। म रविजी र बालेनलाई दाजुभाइ भन्छु, दाजुभाइ सचेत नभए पार्टी समस्यामा पर्छ,” उनले भनिन्।
यद्यपि, पार्टीको निर्वाचन आयोग प्रमुख भुवन केसीले पार्टीमा शीर्ष नेताहरूको नाममा गुट बनाएर प्रतिस्पर्धा गर्न रोकिएको र यस विषयमा आचारसंहिता नै बनाएर कडाइ गरिएको बताएका छन्। उनी भन्छन्, “हाम्रोमा दुईवटा पक्ष भनेर गुटबन्दी छैन। अर्को कुरा हामीले आचारसंहिता लगाए प्रचारका काममा पनि सीमा तोकेका छौँ। हाम्रोमा गुटबन्दी नभएका कारण नयाँ मान्छे आएर पनि चुनाव जितिरहनुभएको छ र आफ्नो स्थान खोज्दा आकाङ्क्षी धेरै हुनुभएको हो।”
अधिवेशनका परिणाम र बालेनको भूमिका

अधिवेशन सकिएका अधिकांश जिल्ला र प्रदेशमा पार्टी सभापति रवि लामिछानेसँग निकट उम्मेदवारहरू निर्वाचित भएको रास्वपा नेताहरूले बताएका छन्। पार्टी नेता बने पनि काठमाण्डू महानगरका प्रमुख बालेन शाह पार्टी बैठक र अन्य कार्यक्रमहरूमा खासै नदेखिएको टिप्पणी हुँदै आएको छ। विगतमा उपसभामुखको निर्वाचनमा पार्टी सभापतिले राप्रपा उम्मेदवारलाई समर्थन गर्ने “वाचा गरिसकेको भए पनि” बालेनले श्रम संस्कृति पार्टीकी उम्मेदवारलाई समर्थन गर्न “बाध्य पारेको” भन्ने विवरण आएको थियो। उनीसँग निकट नेताहरूका अनुसार बालेनले पार्टी महाधिवेशनमा “त्यति चासो नदेखाएको” समेत बताइन्छ। यद्यपि, कोशी प्रदेशको अधिवेशनमा पार्टी वरिष्ठ नेता रहेका बालेनको नाम लिएर उनीसँग निकटस्थ व्यक्तिहरूले उम्मेदवारको प्यानल नै बनाएको पराजित तामाङको आरोप छ। गोरखामा गृहमन्त्री सुधन गुरुङसँग निकट र प्युठानमा सांसद सुशान्त वैदिकसँग निकट उम्मेदवार अधिवेशनमा पराजित भएको नेताहरूले बताएका छन्।
मधेशको अधिवेशन स्थगन र समायोजनको चुनौती

पार्टी महाधिवेशनको तयारीमा जुटेको रास्वपाले मधेश प्रदेशको अधिवेशन र उक्त प्रदेशका आठमध्ये सात जिल्लाको अधिवेशन पार्टी महाधिवेशनपछि मात्रै गर्ने निर्णय गरेको छ। निर्वाचन आयोग प्रमुख केसीका अनुसार यो प्रदेशका अधिकांश जिल्लामा यसअघि हुने भनिएको अधिवेशन “समायोजन प्रक्रिया” पूरा नभएकाले स्थगन गरिएको हो। उनले भने, “समायोजनको प्रक्रिया त्यहाँ टुङ्गिसकेको छैन। त्यसले गर्दा विभिन्न असमझदारीहरू पैदा भयो। त्यसलाई राम्रोसँग हेरेर मात्रै टुङ्ग्याउने भनेर हामीले स्थगित गरेका हौँ।” उनले स्वतन्त्र राजनीति गरिरहेका र अन्य दलबाट आएकाहरूलाई पनि रास्वपामा उचित स्थान दिइनुपर्ने मागले विवाद सृजना गरेको स्वीकार गरे।
बालेनले यसअघि फागुनको निर्वाचनमा आफूसँगै रास्वपा प्रवेश गरेका निकटस्थ उम्मेदवारहरूलाई टिकट दिलाउन पहल गरेको बताइन्छ। नेताहरूका अनुसार केही जिल्ला र प्रदेशमा बालेननिकट भनिएका नेताहरू निर्वाचित भए पनि अधिकांश जिल्लामा पार्टी समायोजनमा आएको बालेन समूह र विवेकशील साझा पृष्ठभूमिबाट आएका नेताहरू भने चुनिएर आएका छैनन्। मधेशका मतदातामा बालेनको प्रभाव व्यापक रहे पनि पार्टी सङ्गठनमा उनको प्रभाव कम रहेको एक नेताले बताएका छन्।
केन्द्रीय पदाधिकारीमा बालेनपक्षीय नेताहरूको सम्भावना

रास्वपाले समायोजन प्रक्रियाबाट आएका नेताहरूलाई महाधिवेशनमा समेट्न महामन्त्री भूपदेव शाहको नेतृत्वमा एउटा समिति गठन गरेको छ। भूपदेव शाह काठमाण्डू महानगरपालिकामा बालेनको प्रमुख स्वकीय सचिव रहेका थिए र समायोजनपछि रास्वपाको महामन्त्री बनेका हुन्। निर्वाचन आयोग प्रमुख केसीले स्थानीय अधिवेशनहरूमा समायोजनबाट आएको समूहलाई पनि स्थान सुनिश्चित गर्दै अगाडि बढिएको बताए। उनले पार्टीको चुनाव दुई चरणमा हुने जानकारी दिए। पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यहरूको निर्वाचन हुनेछ भने दोस्रो चरणमा केन्द्रीय सदस्यहरू मात्रै पदाधिकारीको उम्मेदवार बन्न पाउनेछन्। यसरी निर्वाचन गर्दा समायोजन प्रक्रियाबाट आएका नेताहरू पनि पार्टी नेतृत्वमा पुग्ने थप सुनिश्चितता हुने उनको दाबी छ। रास्वपा नेता मिलन लिम्बूले पार्टीप्रति प्रतिबद्ध नेताहरूलाई कुनै समूहका आधारमा महाधिवेशनमा भेदभाव नगरिने बताए। बालेनसँगै पार्टीमा समाहित नेतालाई पार्टीमा सभापतिपछिको पदाधिकारी बनाइने चर्चा हुँदै आएको छ। तर विवेकशील साझा पार्टीबाट आएका नेताहरू भने आगामी महाधिवेशन आफूहरूका लागि अस्तित्वको चिन्ताको विषय भएको बताउँछन्।
रास्वपाले ६४ वटा जिल्लामा अधिवेशन सकिएको जनाएको छ। मधेश प्रदेशबाहेक सिन्धुपाल्चोकमा पनि अधिवेशन रोकिएको छ। यो महाधिवेशनमा विद्युतीय मतदान उपकरण प्रयोग गरिने पार्टी निर्वाचन आयोगले जनाएको छ। साथै, नेपालभन्दा बाहिर रहेका पार्टीका प्रवास सङ्गठनका १७० देखि २०० जनाले रास्वपाको एप प्रयोग गर्दै मतदान गर्न सक्ने व्यवस्था मिलाइएको छ।
