तस्बिर स्रोत, Getty Images
अमेरिका र इरानबीच लामो समयदेखि जारी द्वन्द्व अन्त्यका लागि सम्झौतामा हस्ताक्षर हुने तयारी भइरहेका बेला इरानमा त्यसको विरोधमा व्यापक प्रदर्शन भएका छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आगामी आइतबार नै सम्झौतामा हस्ताक्षर हुने बताएका छन्, तर इरानले भने हस्ताक्षरको निश्चित मितिबारे आशंका व्यक्त गरेको छ। यो सम्झौताले होर्मुज स्ट्रेट सबैका लागि खुला गर्ने ट्रम्पको दाबी छ।
यस विषयमा मुख्य मध्यस्थकर्ताको भूमिका खेलिरहेको पाकिस्तानले आगामी २४ घण्टाभित्र सम्झौतालाई अन्तिम रूप दिने अपेक्षा गरेको जनाएको छ। पाकिस्तानले “विद्युतीय हस्ताक्षर” को तयारी भइरहेको समेत उल्लेख गरेको छ। यद्यपि, ट्रम्पको टिप्पणी अघि इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले हस्ताक्षरको मिति आइतबार नहुने बताउँदै सावधानी अपनाउन आग्रह गरेका थिए।
सम्झौताको खबरसँगै इरानमा विरोध प्रदर्शन किन?
तस्बिर स्रोत, EPA/Shutterstock
बीबीसी पर्शियन सेवाका अनुसार, इरानमा सम्भावित सम्झौताको विरोधमा प्रदर्शनहरू भएका छन्। तेहरानको इब्न सिना स्क्वायरमा आयोजित यी प्रदर्शनहरूमा सहभागीहरूले विदेशमन्त्री अब्बास अराग्ची र संसद्का सभामुख मोहम्मद बगर गालिबाफविरुद्ध नाराबाजी गरेका थिए। प्रदर्शनकारीहरू इरानको कट्टरपन्थी एवं अतिवादी सङ्गठन “पर्सिस्टेन्स फ्रन्ट” निकट रहेको बताइएको छ।
विदेशमन्त्री अराग्चीले अमेरिकासँगको सम्भावित सम्झौताबारे दिएको अभिव्यक्तिको विरोधमा दर्जनौँ मानिस विदेश मन्त्रालयको भवन अगाडि भेला भएका थिए। फार्स न्यूज एजेन्सीले सार्वजनिक गरेको भिडियोमा प्रदर्शनकारीहरूले अराग्चीको विरोधमा चर्को नाराबाजी गरेको देखिन्छ।
प्रदर्शनकारीहरू प्रस्तावित सम्झौता इरानको राष्ट्रिय हितमा नभएको र यसले स्ट्रेट अफ होर्मुजमा इरानको रणनीतिक प्रभाव कमजोर पार्ने विश्वास गर्छन्। बीबीसी पर्शियनका अनुसार, विदेशमन्त्री अराग्चीले एक टेलिभिजन अन्तर्वार्तामा उक्त सम्झौताले इरानी बन्दरगाहमा अमेरिकी नौसेनाको नाकाबन्दी हटाउने सहमति समावेश गरेको बताएका थिए। उनले स्ट्रेट अफ होर्मुजलाई इरानको प्रमुख “निरोधक क्षमता” को रूपमा परिभाषित गरेका थिए।
ट्रम्पको चेतावनी: अन्तिम विकल्प छ
तस्बिर स्रोत, Reuters
राष्ट्रपति ट्रम्पले सम्झौताको तयारी अपेक्षित रूपमा अघि नबढेमा कडा कदम चाल्ने चेतावनी दिएका छन्। उनले वाशिङ्टनसँग “अन्तिम विकल्प” रहेको र “चीजहरूले छिटो, सजिलै र सहज रूपमा काम नगरेमा” त्यसको प्रयोग फेरि कहिल्यै नगरियोस् भन्ने आशा व्यक्त गरेका छन्।
यसअघि पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले “शान्ति सम्झौताको नजिक पुगेको” बताउँदै आगामी २४ घण्टाभित्र यसलाई अन्तिम रूप दिइने अपेक्षा गरेका थिए। उनले विद्युतीय हस्ताक्षर पछि अर्को हप्ता प्राविधिक तहको वार्ता हुने जानकारी दिए। इरानका विदेशमन्त्री सइद अब्बास अराग्चीले पनि शुक्रबार अमेरिकासँग सम्झौताको नजिक पुगेको उल्लेख गरेका थिए।
ट्रम्पले इरानको युरेनियम भण्डारबारे टिप्पणी गर्दै, “उपयुक्त समयमा जब सबै कुरा शान्त हुन्छ, हामी भित्र जाने छौँ र परमाणु धुलो प्राप्त गर्ने छौँ,” र त्यो नष्ट गरिने बताए। पश्चिमा देशहरूले दशकौंदेखि इरानमाथि परमाणु हतियार बनाउन खोजेको आरोप लगाउँदै आएका छन्। इरानले भने आफ्नो कार्यक्रम बिजुली उत्पादन र अनुसन्धान उद्देश्यका साथ शान्तिपूर्ण रहेको बताउँदै आरोपको खण्डन गर्दै आएको छ।
अमेरिका र इजरायलले २८ फेब्रुअरीमा इरानमाथि आक्रमण गरेपछि यो युद्ध सुरु भएको थियो। त्यसको जवाफमा इरानले खाडीमा रहेका अमेरिकी सहयोगी राष्ट्रहरू र इजरायलमा आक्रमण गर्दै विश्वको लागि तेल र तरलीकृत प्राकृतिक ग्यासको मुख्य ढुवानी जलमार्ग स्ट्रेट अफ होर्मुज बन्द गरिदिएको थियो। अप्रिलमा युद्धविराम सहमति भए पनि, अमेरिका र इरानबीच बेलाबेलामा गोली हानाहान भएको छ, यसै हप्ता पनि दुई चरणको आक्रमण-प्रत्याक्रमण भएको थियो। युद्धविराम विस्तारका साथै इरानको परमाणु कार्यक्रम लगायतका प्रमुख मुद्दाहरूबारे कुराकानी सुरु गर्ने वार्तामा इजरायल संलग्न छैन।
