जेठ २१, २०८३ बिहीबार २०:३२:३४
काठमाडौंः नेपालमा प्रोटोन ई.मास सेबेन १६० किलोवाटको सफल सुरुवातपछि, नेपालका लागि प्रोटोन सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो विद्युतीय सवारी (ईभी) पोर्टफोलियो विस्तारको योजनालाई तीव्रता दिएको छ। नेपाली उपभोक्ताबाट प्राप्त उत्साहजनक प्रतिक्रियाले कम्पनीलाई नेपालमा ईभी क्षेत्रको थप विकासका लागि प्रेरित गरेको छ।
मलेसियामा प्रोटोनले विद्युतीय सवारी क्षेत्रमा हासिल गरेको उल्लेखनीय प्रगतिले कम्पनीको विश्वव्यापी रणनीतिलाई स्पष्ट पारेको छ। सन् २०२६ को जनवरीदेखि अप्रिलसम्मको अवधिमा मलेसियामा प्रोटोनको ईभी बिक्रीमा ३२९ प्रतिशतको प्रभावशाली वृद्धि देखिएको छ, जहाँ चार महिनामै ११ हजार ६१७ भन्दा बढी सवारीसाधन हस्तान्तरण भएका छन्। यो बढ्दो मागलाई सम्बोधन गर्न प्रोटोनले तान्जुङ मालिमस्थित आफ्नो ईभी उत्पादन कारखानाको विस्तारका लागि ३७ मिलियन मलेसियन रिङ्गिट लगानी गर्ने घोषणा गरेको छ। यस लगानीसँगै कम्पनीले वार्षिक उत्पादन क्षमतालाई दोब्बरभन्दा बढी बढाएर ४२ हजार युनिट पुर्याउने महत्वाकांक्षी लक्ष्य राखेको छ।
जगदम्बा मोटर्सका एक अधिकारीले बताए, “नेपालमा प्रोटोन ई.मास सेबेनले पाएको प्रतिक्रिया अत्यन्तै उत्साहजनक छ। यसले नेपाली उपभोक्तामाझ विद्युतीय सवारीसाधनको आकर्षण तीव्र बनेको र उनीहरू गुणस्तरीय तथा अत्याधुनिक विकल्पको खोजीमा रहेको स्पष्ट संकेत दिएको छ। कम्पनी आगामी योजनाहरूलाई लिएर निकै उत्साहित छ।”
हाल नेपाली ग्राहकहरूले १६० किलोवाट क्षमताको विद्युतीय मोटरद्वारा सञ्चालित प्रिमियम इलेक्ट्रिक एसयूभी प्रोटोन ई.मास सेबेन १६० किलोवाटको उच्चस्तरीय अनुभव प्राप्त गरिरहेका छन्। यो गाडीले एनइडिसी मापदण्डअनुसार एकपटकको पूर्ण चार्जमा अधिकतम ४७५ किलोमिटरसम्मको यात्रा गर्न सक्षम छ। यसमा ३६० डिग्री सराउन्ड भ्यु क्यामेरा, उन्नत हेडरेस्ट स्पिकर प्रणाली, अत्याधुनिक ड्राइभिङ प्रविधि, फराकिलो र आधुनिक भित्री सजावटका साथै उच्चतम सुरक्षा र कनेक्टिभिटी सुविधाहरू समावेश छन्।
हाल ई.मास सेबेन खरिद गर्ने ग्राहकहरूले एक वर्षको निःशुल्क बीमा, एक वर्षको सडक कर छुट, निःशुल्क ७ किलोवाट क्षमताको होम चार्जर, ८ वर्षको ब्याट्री वारेन्टी तथा आकर्षक नगद छुटजस्ता विशेष सुविधाहरूको लाभ लिइरहेका छन्। यस उत्साहलाई अझ बढाउँदै, जगदम्बा मोटर्सले निकट भविष्यमा प्रोटोन ई.मास फाईबलाई पनि नेपाली बजारमा प्रस्तुत गर्ने तयारी गरेको छ। सन् २०२६ मा मलेसियाको सर्वाधिक बिक्री भएको विद्युतीय सवारी बनेको ई.मास फाईब, शहरी जीवनशैली र नयाँ पुस्ताको गतिशीलतालाई ध्यानमा राखी विकसित गरिएको मोडल हो। यो गाडीले प्रोटोनको अत्याधुनिक ईभी प्रविधिलाई नेपाली उपभोक्ताको व्यापक वर्गसम्म पुर्याउने अपेक्षा गरिएको छ।
जगदम्बा मोटर्स, प्रोटोनका अतिरिक्त नेपालमा टिभिएस दुईपाङ्ग्रे सवारी, चेरी वाण्डाका व्यावसायिक विद्युतीय सवारी तथा जेएमइभी विद्युतीय सवारीको आधिकारिक वितरक पनि हो। विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका विद्युतीय तथा आधुनिक सवारीसाधन नेपाली बजारमा उपलब्ध गराउँदै आएको जगदम्बा मोटर्सले नेपालको द्रुत गतिमा विस्तार भइरहेको विद्युतीय गतिशीलता क्षेत्रमा आफ्नो अग्रणी भूमिकालाई थप सुदृढ पारेको छ।
