सुर्खेत — कर्णाली प्रदेशका छोरीहरू हरेक क्षेत्रमा सक्षम र प्रतिभावान बन्दै गएको भन्दै प्रदेश प्रमुख यज्ञराज जोशीले उनीहरूको सशक्तीकरणमा थप जोड दिनुपर्ने बताएका छन्। ज्योति फाउण्डेसनद्वारा सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली छोरी सम्मेलन–२०८३’ को दोस्रो संस्करणलाई सम्बोधन गर्दै उनले कर्णालीका महिलाहरू अब राजनीतिक तथा प्रशासनिक नेतृत्व तहमा समेत पुग्न सफल भएको उल्लेख गरे।
प्रदेश प्रमुख जोशीले कर्णालीमा अझै पनि ३३ प्रतिशत महिला निरक्षर रहेको तथ्याङ्क प्रस्तुत गर्दै यसलाई गम्भीर चुनौतीका रूपमा चित्रण गरे। उनले यी महिलाहरूलाई साक्षर बनाउन तीनै तहका सरकारले विशेष प्राथमिकताका साथ काम गर्नुपर्नेमा जोड दिए। कर्णालीलाई सधैँ पिछडिएको क्षेत्रका रूपमा मात्र हेरिनु अन्यायपूर्ण हुने भन्दै उनले कर्णालीका महिलाहरू विभिन्न क्षेत्रमा क्रियाशील भए पनि निरक्षरताका कारण उनीहरूको पूर्ण क्षमता प्रस्फुटन हुन नसकेको स्वीकारे। यस अवस्थामा रहेका महिलाहरूलाई शिक्षाको पहुँचमा ल्याएर सबल बनाउनु र उनीहरूलाई आत्मनिर्भर बनाउनु सबैको साझा दायित्व भएको उनको भनाइ थियो।
उनले कर्णालीलाई कला, संस्कृति र सभ्यताको धनी भूमि तथा नेपालका आधाभन्दा बढी जातिको उद्गम थलोका रूपमा व्याख्या गर्दै यसको गरिमालाई सबै नेपालीले सम्मान गर्नुपर्ने बताए। यस क्षेत्रको मौलिक पहिचान र विविधतालाई संरक्षण गर्दै अगाडि बढ्नुपर्नेमा उनले जोड दिए। राजनीतिक तथा प्रशासनिक पहुँचका विषयमा बोल्दै प्रदेश प्रमुख जोशीले अब महिलाहरूले समानुपातिक प्रतिनिधित्वको मात्र भर नपरी प्रत्यक्ष निर्वाचन प्रणालीमा मुखरित हुन आग्रह गरे। उनले संविधान संशोधनको बहस चलिरहेका बेला महिलाहरूले राज्यका हरेक संरचनामा हालको ३३ प्रतिशतबाट ५० प्रतिशत हिस्साका लागि सशक्त रूपमा माग गर्न र दबाब दिनुपर्नेमा जोड दिए। यसले मात्र महिला सहभागितालाई वास्तविक अर्थमा प्रतिनिधित्वमूलक बनाउने र निर्णायक भूमिकामा पुर्याउने उनको तर्क थियो।
कार्यक्रममा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले समाजमा महिलाहरूको उपस्थिति र भूमिकामा उल्लेख्य परिवर्तन आएको भए पनि राज्यको नीतिगत तहमा कर्णालीका छोरीहरूको पहुँच सुनिश्चित गर्न थप सशक्तीकरणको आवश्यकता औंल्याए। उनले महिला सहभागिताको संख्यात्मक वृद्धिसँगै गुणात्मक उपस्थितिका लागि नीति निर्माण तहमा उनीहरूको पहुँच अनिवार्य भएको स्पष्ट पारे।
पूर्वमुख्यमन्त्री शाहीले कर्मचारी प्रशासन, प्रहरीदेखि राज्यका उच्च निकायमा महिला नेतृत्व स्थापित हुनुलाई सकारात्मक सङ्केतका रूपमा हेरे। यसले समग्र समाजमा महिलाप्रति हेरिने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याएको उनको भनाइ थियो। उनले हिजोका दिनमा विद्यालय जानबाट वञ्चित रहेका कर्णालीका छोरीहरू आज ठूलो सङ्ख्यामा शिक्षाको मूल प्रवाहमा जोडिनुलाई ठूलो प्रगतिका रूपमा व्याख्या गरे। यसले भविष्यमा कर्णालीको मानव संसाधन विकासमा महत्त्वपूर्ण योगदान पुग्ने र समग्र प्रदेशको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
यद्यपि, प्रदेश सरकारले छोरीको सुरक्षा र सशक्तीकरणका लागि ल्याएका ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ जस्ता महत्त्वपूर्ण कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन हुन नसकेकोमा उनले दुःख व्यक्त गरे। यस्ता कार्यक्रमहरू केवल घोषणामा सीमित नभई वास्तविक रूपमा लक्षित वर्गसम्म पुग्नुपर्ने र त्यसका लागि सरकारले ठोस कदम चाल्नुपर्नेमा पूर्वमुख्यमन्त्री शाहीले जोड दिए। उनले कार्यान्वयन पक्षलाई बलियो बनाउँदै योजनाबद्ध तरिकाले अगाडि बढ्न सके मात्र यस्ता कार्यक्रमहरूको सार्थकता प्रमाणित हुने धारणा राखे।
