तस्बिर स्रोत, Mohammed Zaatari / AP
तस्बिरको क्याप्शन, दक्षिण लेबननमा अवस्थित बन्दरगाह सहर साइडन पनि इजरेली आक्रमणमा परेको छ
इजरेली सेनाले हिज्बुल्लाह लडाकु समूहका संरचनालाई निसाना बनाएर बिहीवार दक्षिणी लेबननमा आक्रमण गरेको जनाएको छ। यो आक्रमण गत १७ एप्रिलमा लागु भएको युद्धविराम उल्लङ्घनका आरोपहरूबीच भएको हो। इजरेल र हिज्बुल्लाह दुवैले एकअर्कालाई युद्धविराम पटकपटक उल्लङ्घन गरेको आरोप लगाएका छन्। हिज्बुल्लाह इरानबाट समर्थनप्राप्त शक्तिशाली शिया समूह हो।
इजरेल डिफेन्स फोर्सेज (आईडीएफ)ले ठूलो बल प्रयोग गरेर कारबाही गर्ने चेतावनी दिँदै इजरेलसँगको सीमावर्ती भूमिबाट मानिसहरूलाई जारानी नदीबाट उत्तरतिर जान उर्दी जारी गरेको थियो। जारानी नदी इजरेलसँगको सीमाबाट करिब ४० किलोमिटर उत्तरमा पर्छ। यो युद्धविरामपछि इजरेलले जारी गरेको सबैभन्दा ठूलो विस्थापन आदेश हो, जसले लेबननको झन्डै १४ प्रतिशत भूभागका करिब ३०० नगर र गाउँहरूलाई प्रभावित पारेको छ।
लेबनन सरकारद्वारा सञ्चालित समाचारसंस्था न्याश्नल न्यूज एजन्सी (एनएनए)का अनुसार बिहीवार बिहान टायरमा दुई पटक र उक्त सहरभन्दा पूर्वमा अवस्थित एउटा क्षेत्रमा एक पटक इजरेली हमला भयो। टायरमा खिचिएका भिडिओहरूमा बुधवार रातिदेखि बिहीवार बिहानसम्म कैयौँ पटक विस्फोटन भएको र आगो लागेको देखिन्छ। उज्यालो भएपछि अग्ला आवासीय भवनहरू भएको क्षेत्रमा ठूलो आगलागी हुँदा निस्किएको ज्वाला र धुवाँको मुस्लोले आकाश ढाकेको थियो। आक्रमणका कारण स्तब्ध स्थानीय बासिन्दाहरू सडकमा छरिएको भग्नावशेष हेरेर बसिरहेका देखिन्थे।
टायरस्थित एक हिज्बुल्लाह सदस्यले बीबीसीलाई बताएअनुसार परिस्थिति “निकै खतरनाक” भएकाले उद्धारकर्मीहरूले आफ्नो काम छोड्नु परेको थियो। इजरेली सेनाले कामदारहरूलाई ठाउँ खाली गर्न फोनबाट चेतावनी दिएको थियो। टायरमा थप आक्रमण हुने त्रास बढेका बेला एम्बुलेन्स सञ्चालन गर्ने टोलीहरूले सडक-सडकमा घुमेर मानिसहरूलाई अन्यत्र जान आह्वान गरिरहेका छन्। बुधवार राति निद्रामा परेको बेला जारी गरिएको विस्थापन आदेशले ठूलो क्षेत्रबाट मानिसहरू विस्थापित भएका छन्। साइडनमा रहेका आश्रयस्थलहरूमा थप मानिसहरू अटाउन सक्ने अवस्था नरहेको त्यहाँका नगरप्रमुखले बीबीसीलाई बताएका छन्। टायरका अधिकारीहरूले मानिसहरूलाई अझ उत्तरमा रहेको बेरुततिर जान सुझाव दिएका छन्।
एनएनएका अनुसार दक्षिणी लेबननबाट अन्यत्र जान लागेको एउटा परिवारमाथि इजरेली ड्रोन प्रहार हुँदा बालबालिकासहित छ जनाको मृत्यु भएको छ। लेबननी सञ्चारमाध्यमका अनुसार बुधवार दक्षिणी लेबनन र पूर्वी बेका उपत्यकामा भएका इजरेली हमलाहरूमा परी कम्तीमा चार जनाको मृत्यु भएको थियो। लेबननको स्वास्थ्य मन्त्रालयका अनुसार लडाइँ सुरु भएयता त्यहाँ कम्तीमा ३,२१३ जनाको मृत्यु भइसकेको छ। कति लडाकु र कति सर्वसाधारण हताहत भए भन्ने विवरण भने खुलाइएको छैन। इजरेलले सीमाको दुवैतर्फ गरी आफ्ना २३ सैनिक र चार सर्वसाधारणको मृत्यु भएको जनाएको छ।

तस्बिर स्रोत, AFP
तस्बिरको क्याप्शन, टायरनजिकै बुर्ज अल-शमालीमा मङ्गलवार भएको इजरेली हवाई हमलामा कम्तीमा १५ जनाको मृत्यु भएको थियो
इजरेली अधिकारीहरूले हिज्बुल्लाहले बारम्बार आक्रमण गरेर इजरेल र लेबनन सरकारबीच भएको अस्थायी युद्धविराम सम्झौता उल्लङ्घन भएको बताएका छन्। गत महिना लागु भएपछि युद्धविरामको अवधि दुई पटक थप भएको थियो। यता, लेबननी अधिकारीहरूले भने इजरेलले हवाई हमलाहरू गरेर सम्झौताको उल्लङ्घन गरेको दाबी गरेका छन्। हिज्बुल्लाहले आफ्ना लडाकुहरू र इजरेली सैनिकहरूबीच लिटानी नदीको उत्तरपट्टि रहेको जाउटर अल-शर्कियामा भिडन्त भएको बुधवार जनाएको थियो।
दक्षिणी लेबननको केही भाग आफ्नो नियन्त्रणमा लिने इजरेली सैनिकहरू र उत्तरी इजरेलमा बसोबास गर्ने मानिसहरूमाथि हिज्बुल्लाहले ड्रोन हमला गरेपछि इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले उक्त लडाकु समूहविरुद्ध कारबाही गर्ने घोषणा गरेका थिए। गत २ मार्चमा इजरेली आक्रमणमा परी इरानका सर्वोच्च नेताको मृत्यु भएपछि हिज्बुल्लाहले इजरेलमा रकेट प्रहार गरेको थियो। त्यसपछि उक्त समूह इजरेलको निसानामा परेसँगै लेबनन पनि अहिले जारी युद्धमा तानियो। इजरेलले लेबननभरि हवाई र स्थल कारबाही गरेर त्यसको जबाफ दियो।
अहिले बढेको तनावका कारण अमेरिका र इजरेलको इरानसँगको लडाइँ अन्त्य गर्ने उद्देश्यसहित जारी वार्ता भाँड्न सक्ने खतरा बढेको छ। इरानले शान्तिका लागि गरिने सम्झौतामा लेबननलाई पनि संलग्न गर्नुपर्ने अडान लिँदै आएको छ भने इजरेलले आफूसँग हिज्बुल्लाहबाट हुने खतराविरुद्ध लड्न पाउने अधिकार रहेको तर्क गर्दै आएको छ।
लेबननस्थित अन्तर्राष्ट्रिय रेड क्रस समिति (आईसीआरसी) को प्रतिनिधिमण्डलका प्रमुख एग्निस दुरले लेबननको दक्षिणी भेगको अवस्था निकै गम्भीर रहेको चेतावनी दिएकी छन्। उनले भनिन्, “जारी द्वन्द्वका कारण सर्वसाधारण मानिसहरूका लागि बस्न नसकिने अवस्था सिर्जना भएको छ र यसबाट दीर्घकालीन दुष्परिणामको जोखिम बढ्छ।”

तस्बिर स्रोत, Reuters
तस्बिरको क्याप्शन, इजरेली प्रधानमन्त्री नेतन्याहूले आफ्नो सेनाले लेबननमा स्थल कारबाही बढाउन लागेको बताएका थिए
