अमेरिकी सेनाले दक्षिणी इरानमा क्षेप्यास्त्र स्थल र बारुदी सुरुङ बिछाउने प्रयास गरिरहेका डुङ्गाहरूलाई निशाना बनाएर नयाँ आक्रमण गरेको जनाएको छ। अमेरिकी सेन्ट्रल कमान्डले एक वक्तव्य जारी गर्दै यो आक्रमण “आत्मरक्षाका लागि” र “इरानी फौजबाट उत्पन्न खतराबाट हाम्रो सेनालाई जोगाउन” गरिएको स्पष्ट पारेको छ। सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले “युद्धविरामका क्रममा अमेरिकी सेनाले संयमपूर्वक आफ्नो सेनाको प्रतिरक्षा गरिरहेको” उल्लेख गरेका छन्। न्यूयोर्क टाइम्सका अनुसार हकिन्सले स्ट्रेट अफ होर्मुजस्थित इरानी जनसेनाको आधार रहेको दक्षिणी बन्दरगाह सहर बन्दर अब्बास क्षेत्रलाई आक्रमणको निशाना बनाइएको बताएका छन्।
यो आक्रमण इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले अमेरिकासँगको कुराकानीमा केही प्रगति भएको तर लडाइँ अन्त्यका लागि तत्कालै सम्झौता “तत्कालै नहुने” बताएपछि भएको हो। इरानका सरकारी सञ्चारमाध्यमले विस्फोटको आवाज सुनेपछि बन्दर अब्बासका स्थानीय अधिकारीहरूले अनुसन्धान गरिरहेको जनाएका छन्। इरानले अमेरिकी आक्रमणबारे तत्कालै कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। पछिल्लो हमलाले अमेरिका र इरानबीच हुने सम्भावित शान्ति सम्झौतामा कस्तो असर पार्छ भन्ने स्पष्ट भइसकेको छैन। यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दुवै पक्ष सहमतिको नजिक पुगेको बताए पनि लगत्तै आफूले वार्ताकारहरूलाई “हतार नगर्न” निर्देशन दिएको जनाएका थिए।

यस घटनाक्रमबीच, इरानका शीर्षस्थ वार्ताकार र विदेशमन्त्री अमेरिकासँगको सम्भावित सम्झौताबारे कतारका प्रधानमन्त्रीसँग कुराकानी गर्न दोहा पुगेका छन्। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि सोमवार नै सम्झौता हुन सक्ने सम्भावना व्यक्त गरेका थिए। तर, इरानी प्रवक्ता बाघेईले जारी छलफलमा धेरै विषयहरूमा एउटा निष्कर्षमा पुगेको स्वीकार गर्दै तत्कालै सम्झौतामा हस्ताक्षर हुने परिस्थिति कसैले पनि दाबी गर्न नसक्ने बताएका छन्। रोयटर्सले जनाएअनुसार, वरिष्ठ अधिकारीहरूको कुनै पनि खालको सफलतालाई महत्त्व नदिइरहेका बेला इरानका शीर्षस्थ वार्ताकार र विदेशमन्त्री अमेरिकासँगको सम्भावित सम्झौताबारे कतारका प्रधानमन्त्रीसँग कुराकानी गर्न दोहा पुगेका हुन्।

अमेरिका र इरानका फौजले गत अप्रिल ८ तारिखदेखि युद्धविरामको पालना गरिरहेका छन्। तैपनि, स्ट्रेट अफ होर्मुजमा तनाव कायम छ, जहाँ इरानले ढुवानी गर्ने जहाजहरूमाथि नियन्त्रण कायम राखेको छ र अमेरिकी जल सेना इरानी बन्दरगाहहरूमा नाकाबन्दी गर्ने प्रयासमा छ। मध्यपूर्वभरि लडाइँ चर्किएको पृष्ठभूमिमा यो आक्रमण भएको हो, जुन फेब्रुअरी २८ तारिखमा अमेरिका र इजरायलले इरानमाथि व्यापक स्तरको आक्रमण गरेपछि सुरु भएको थियो। इरानले त्यसको जवाफमा खाडीमा रहेका इजरेल र अमेरिकाका सहयोगी देशहरूमाथि आक्रमण गरेको थियो। स्ट्रेट अफ होर्मुजमा इरानको कडा नियन्त्रणका कारण विश्वव्यापी रूपमा तेलको मूल्य बढेको छ। इरानले कहाँबाट आएको भन्ने नखुलाएर एउटा “शत्रुतापूर्ण” ड्रोन खसालिदिएको पनि बताएको छ।

क्षेत्रीय तनावको यो अवस्थामा इजरेली सेनाले लेबनानभर व्यापक रूपमा आक्रमण सुरु गरेको जनाएको छ। इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले हिज्बुल्लाहमाथि आक्रमण तीव्र पार्ने घोषणा गरेलगत्तै यो लहर सुरु भएको हो। इजरेली डिफेन्स फोर्सेस (आईडीएफ) ले हिज्बुल्लाहका ठेगानाहरू रहेका लेबनानको पूर्वमा रहेको बेका उपत्यका र देशभरका अन्य क्षेत्रहरूमा आक्रमण गरेको बताएको छ। यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले पाकिस्तानसहित अन्य अरब र मुस्लिम देशहरूलाई बृहत् समझदारीको हिस्साको रूपमा इजरेलसँगको सम्बन्ध सामान्य बनाउन आह्वान गरेका थिए। तर, इजरेल-प्यालेस्टाइन द्वन्द्व समाधान गर्न विफल भएकाले यस्तो प्रस्ताव यस क्षेत्रमा अलोकप्रिय बनेको छ।
