उपल्लो मुस्ताङको ढाकमर: प्रकृतिको रङ्गीन क्यानभास र पौराणिक कथाको संगम
मुक्तिनाथ (मुस्ताङ), चैत २२ गते। हिमालपारिको जिल्ला मुस्ताङस्थित लोघेकर दामोदरकुण्ड गाउँपालिका–२, ढाकमर आफ्नो अनुपम प्राकृतिक सौन्दर्य र ऐतिहासिक महत्वका कारण अहिले चर्चामा छ। समुन्द्री सतहदेखि ३८ सय २० मिटरको उचाइमा अवस्थित ढाकमरका चट्टानहरू रातो, खैरो, पहेँलो र सेतो रङ्गले सजिएका छन्, जसले लाखौँ वर्षको भूगर्भीय प्रक्रियाको कथा बोकेका छन्। उपल्लो मुस्ताङको लोमान्थाङ हुँदै तिब्बतको सिमानामा पर्ने कोरला नाकातर्फ भ्रमणमा निस्कने पर्यटकहरूका लागि ढाकमरको मनमोहक दृश्य र प्राचीन गुफाहरूको उपस्थिति एउटा नयाँ र आकर्षक गन्तव्य बनेको छ।
शताब्दीऔँ पुराना रहस्यहरू बोकेको ढाकमर क्षेत्रमा पर्यटकको सहजताका लागि पूर्वाधार विस्तारमा तीव्रता दिइएको छ। लोघेकर दामोदरकुण्ड गाउँपालिका, गण्डकी प्रदेश सरकार र अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) इलाका कार्यालय लोमान्थाङको संयुक्त पहलमा यहाँका पर्यटकीय संरचनाहरूलाई व्यवस्थित पारिएको छ। जोमसोम–लोमान्था–कोरला सडक खण्डको दुर्लभ अग्ला राता भीरमुनि शान्त रूपमा अवस्थित ढाकमर गाउँको प्राचीन जीवनशैलीले पनि यहाँ पुग्ने पर्यटकलाई छुट्टै संसारमा पुगेको अनुभूति गराउने लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्पेल विष्ट बताउनुहुन्छ।
गाउँपालिका अध्यक्ष विष्टका अनुसार ढाकमरका भीरहरू प्रकृतिले लाखौँ वर्षदेखि रङ्गाएका हुन्, हातले होइन। यस क्षेत्रको महत्वबारे पर्यटकलाई जानकारी गराउन पूर्वाधार निर्माण भइरहेका छन्। चालु आर्थिक वर्ष २०८२–८३ मा ढाकमर क्षेत्रमा भूगर्भीय अध्ययनका साथै ‘जिओलोजिकल पार्क’ निर्माणका लागि ४३ लाख रुपैयाँ विनियोजन भई काम अगाडि बढिरहेको छ। विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मार्फत थप बजेट भित्र्याउने योजनाका साथै ढाकमरको पर्याप्त प्रचार–प्रसारमा समेत गाउँपालिकाले जोड दिएको छ, किनकि हाल धेरै पर्यटकलाई यसको विशिष्टताका बारेमा जानकारी छैन।
गाउँपालिकाले विनियोजन गरेको बजेटबाट अग्लो स्थानमा रहेका गुफाहरू तथा जियो गुफासम्म पुग्न रेलिङसहितको सिँढी बाटो निर्माण गरिएपछि पर्यटकहरूलाई दृश्यावलोकनमा सहजता आएको छ। अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) इलाका कार्यालय लोमान्थाङका प्रमुख उमेश पौडेलका अनुसार यहाँको प्राकृतिक सुन्दरतालाई असर नपुग्ने गरी न्यून लागतका पूर्वाधारहरू बर्षेनी थपिँदैछन्। ढाकमर उपल्लो मुस्ताङको बसाइ लम्ब्याउन सक्ने एक महत्वपूर्ण गन्तव्य भएको उहाँको भनाइ छ।
ढाकमरको ऐतिहासिकता केवल भूगर्भीय संरचनामा मात्र सीमित छैन, यसको सम्बन्ध बौद्ध धर्मका संस्थापक गुरु पद्मसम्भवसँग जोडिएको पौराणिक कथासँग पनि छ। किम्बदन्ती अनुसार आठौँ शताब्दीमा गाउँमा एउटा भयानक राक्षसले सताउन थालेपछि बौद्ध धर्मको प्रचार अवरुद्ध भयो। गुरु रिन्पोछे (पद्मसम्भव) राक्षसलाई पराजित गर्न उपल्लो मुस्ताङको यात्रामा निस्किए, जसको रगत भीरहरूमा बगेपछि ती गाढा राता बनेको विश्वास गरिन्छ। यही कारणले तिब्बती भाषामा ‘ढाकमर’ नामको अर्थ ‘रातो रगत’ रहेको छ। लोघेकर दामोदरकुण्ड–१, चराङको मराङमा रहेको विश्वकै पहिलो गुम्बाले समेत ढाकमरको यस इतिहासलाई पुष्टि गर्दछ। स्थानीयले यसलाई पुर्खाको उपहार, भगवान्ले जोगाएको बस्तीका रूपमा चिनाउँदै विश्वास र शक्तिको केन्द्रका रूपमा व्याख्या गर्छन्।

ढाकमरका रङ्गीन पहाडहरू बाहेक, उपल्लो मुस्ताङमा हजारौँ वर्ष पुराना मानव निर्मित गुफाहरूको बृहत् सञ्जाल छ। करिब दुई हजार वर्षअघि तिब्बती अतिवादीबाट जोगिन निर्मित ‘सिजा झोङ्ग’ गुफाहरू सहित लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिका क्षेत्रमा अनुमानित एक हजार साना–ठूला गुफाहरू छन्। यसरी ढाकमर, आफ्नो अद्वितीय भूगर्भीय संरचना, प्राचीन कथा, र निरन्तर भइरहेको पर्यटकीय पूर्वाधार विकासका कारण उपल्लो मुस्ताङको मात्र नभई समग्र नेपालको पर्यटकीय नक्सामा एउटा विशिष्ट गन्तव्यका रूपमा स्थापित हुँदैछ।
