काठमाडौं : सरकारले विवादास्पद व्यवसायी दीपक भट्टमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा पुनः छानबिन थालेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा गृह मन्त्रालयले उनलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ। यो निर्णयसँगै भट्टको आवागमनमा कडाइ गरिने भएको छ।
गृह मन्त्रालयले भट्टको विवरण कालोसूचीमा राख्न अध्यागमन विभागलाई पत्राचार गरिसकेको छ। अध्यागमन विभागले उक्त विवरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयलाई पठाएसँगै उनको राहदानीसमेत कालोसूचीमा परेको छ। यसबाट भट्टले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत नेपालका कुनै पनि अध्यागमन नाकाबाट सहजै आवागमन गर्न नपाउने भएका छन्। उनी झन्डै दुई साताअघि मात्र काठमाडौं फर्किएका थिए।
जगदम्बा स्टिल्स प्रालिबाट व्यवसायी दीपक भट्टको व्यक्तिगत खातामा ४५ करोड रुपैयाँ शंकास्पद रूपमा जम्मा भएको खुलासा यसअघि नै भएको थियो। २०७७ सालमा भट्टको स्वामित्वमा रहेको इन्फिनिटी होल्डिङ प्रालिको चुक्ता पुँजी ३ करोड रुपैयाँ मात्र थियो। तर, डेढ वर्षको अन्तरालमा उक्त पुँजी ४८ करोड पुगेको देखिएको थियो, जसमा ४५ करोड रुपैयाँ जगदम्बा स्टिलबाट आएको पाइएको थियो। १८ महिना अघिदेखि विभिन्न पटक गरी ठूलो परिमाणमा भएको यो ‘एकतर्फी ट्रान्जेक्सन’ बारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन थाले पनि बीचमा रोकिएको थियो।
सन् २०२१ जुन २७ मा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको ट्रान्जेक्सन रेफर नम्बर ००१०डब्लूएनडी२११७६००१९ बाट भट्टको खातामा जगदम्बा स्टिल्स प्रालिबाट १५ करोड रुपैयाँ भुक्तानी भएको पाइएको छ। त्यसको भोलिपल्ट जुन २८ मा रेफर नम्बर ००१०डब्लूएसडी२११७९०००३ बाट जम्मा गरिएको १४ करोड रुपैयाँ भने तुरुन्तै फिर्ता भएको देखिन्छ। पुनः जुन २९ मा रेफर नम्बर ००१०डब्लूएसडी२११८०००१८ बाट अर्को कारोबार भयो। अर्थात्, अघिल्लो दिन जम्मा हुन नसकेको १४ करोड रुपैयाँ त्यसदिन भट्टको खातामा दाखिला भयो। त्यसको भोलिपल्ट जुन ३० मा जगदम्बाबाट भट्टको खातामा पुनः १६ करोड रुपैयाँ जम्मा भएको थियो। यसरी चार दिनभित्र ४५ करोड रुपैयाँ एउटा व्यापारिक घरानाले व्यक्तिका नाममा किन उपलब्ध गरायो भन्ने विषयमा थालिएको छानबिन बीचमै रोकिएको थियो।
भट्ट हिमालयन रि–इन्स्योरेन्स कम्पनी स्थापनाको ‘सेटिङ’मा पनि मुख्य भूमिकामा थिए। त्यसबापत उनका दुई कम्पनी इन्फिनिटी होल्डिङ्स र एलाइड कन्टिनेन्टलले आकर्षक सेयर प्राप्त गरेका थिए। यसरी हिमालयन रि–इन्स्योरेन्स र इन्फिनिटी होल्डिङ्सबीचको करोडौंको कारोबार पनि शंकास्पद देखिएको छ। भट्ट राजनीतिक शक्ति अभ्यास गर्ने व्यवसायीका रूपमा परिचित छन्। ठूला राजनीतिक दल, पटकपटक फेरिने प्रधानमन्त्री र अर्थमन्त्रीसम्म उनको सहज पहुँच हुने गरेको छ। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उनले सुमधुर सम्बन्ध बनाएका थिए। ठूलो व्यापारिक घराना शंकर ग्रुपसँग मिलेर उनले राजनीतिक पहुँचकै आधारमा शक्ति केन्द्रबाट लाभ लिँदै आएको आरोप छ। कतिपय कम्पनीमा भट्ट शंकर ग्रुपको अग्रवाल परिवारका साझेदारसमेत हुन्।
जनार्दन शर्मा अर्थमन्त्री हुँदा भएको ‘कर हेरफेर’ प्रकरणमा पनि भट्टको संलग्नता रहेको चर्चा थियो। बजेट प्रस्तुत हुनुपूर्व भारतीय व्यापारी उपेन्द्र हेरवत र पूर्व नासु रघुनाथ घिमिरेमार्फत करका दर हेरफेर गराउन उनले भूमिका खेलेको आरोप लागेको थियो। सम्पत्ति शुद्धीकरणको कसुरमा भट्टमाथि पहिलेदेखि नै छानबिन हुँदै आएको भए पनि विगतमा अनुसन्धान तामेलीमा राख्ने काम हुन्थ्यो। पछिल्लो समय ‘जेन–जी’ अगुवाहरूले भट्टमाथि अनुसन्धान र कारबाहीको माग गर्दै उजुरी दिएका थिए। हाल उनीमाथि नेपाल राष्ट्र बैंकले पनि अनुसन्धान गरिरहेको छ।
