धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुरले छ महिनाअघिसम्म आफू राजनीतिमा प्रवेश गरी संसद छिरौँला भन्ने कल्पनासमेत गरेकी थिइनन्। तर, आज उनै रुबीकुमारी संघीय संसदको सम्मानित सदस्य बनेकी छिन्। धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट समानुपातिक सांसद छानिएकी ‘जेनजी’ पुस्ताकी रुबीकुमारीले निर्वाचन आयोगबाट प्रमाणपत्र प्राप्त गरिसकेकी छन्। मधेसको विपन्न परिवारकी रुबीको छोटो समयको यो ‘अप्रत्याशित’ राजनीतिक यात्रा अहिले शपथ ग्रहणको संघारमा आइपुगेको छ। रुबी चैत १२ गते सांसदको शपथ लिँदै देशको नीति निर्माणको थलो संसदमा प्रवेश गर्दैछिन्।
मानिसको जीवनमा कहिले र कसरी कुन मोड आउँछ, भन्न सकिँदैन। धनुषाको एउटा सामान्य परिवारमा जन्मिएकी रुबीकुमारीको जीवनमा आएको यो परिवर्तन यसैको एउटा ज्वलन्त उदाहरण हो। केही महिनाअघिसम्म मासिक २० हजार रुपैयाँ कमाउँदै इन्जिनियरिङसम्बन्धी काममा व्यस्त एक युवती आज देशको सर्वोच्च नीति निर्माणको थलो संघीय संसदको सदस्य बनिसकेकी छन्। वास्तवमा राजनीतिमा कसको उदय हुन्छ र को छायाँमा पर्छ भन्न सकिँदैन। यसैले पनि भनिन्छ, नेता उत्पादन गर्ने कुरा होइन, नेता त समयले आफैं जन्माउँछ।
सांसदको शपथको तयारीमा रहेकी रुबीकुमारी आफ्नै मातृभाषा मैथिलीमा शपथ लिनेबारे पार्टी अध्यक्षसहित अन्य नेताहरूसँग सल्लाह गरिरहेकी छिन्। यसपटक २४ जना सांसदहरू मातृभाषामा शपथ लिने तयारीमा छन्। उनले आफ्नो शपथमा आमालाई ल्याउने इच्छा भए पनि घरायसी व्यस्तताका कारण आमा आउन नसक्ने बताएकी छन्। बुबा वैदेशिक रोजगारीका लागि साउदीमा छन् र मध्यपूर्वी देशमा चर्केको युद्धका कारण विमानको टिकट नपाएर उतै रोकिएका छन्। यद्यपि, उनी चैत महिनाभित्र दुई महिनाको बिदा लिएर घर आउने तयारीमा छन्।
बुबाले छोरीको राजनीतिक प्रवेशप्रति निकै खुसी व्यक्त गर्दै देशको सेवा गर्न, भ्रष्टाचार हटाउन र मधेसमा व्याप्त शिक्षा, स्वास्थ्य र गरिबीको समस्यामा लाग्न आशीर्वाद दिएका छन्। रुबीको यो यात्रा केवल व्यक्तिगत सफलता मात्र नभई सामाजिक संरचना, वर्गीय यथार्थ, लैङ्गिक असमानता र वैदेशिक रोजगारीको पीडाबीच जन्मिएको एउटा प्रेरणादायी कथा पनि हो।

जनकपुरधाम उपमहानगरपालिका-१४, धनुषाकी रुबीकुमारीको बाल्यकाल सामान्य थिएन। ठूलो परिवार, सीमित आर्थिक स्रोत र सामाजिक दबाबबीच हुर्किएकी उनी सानैदेखि फरक सोच राख्ने स्वभावकी थिइन्। उनको परिवारमा ६ दाजुभाइ-दिदीबहिनी छन्, बुबा साउदी अरबमा मजदुरी गर्छन् भने आमा गृहिणी हुन्। समाजमा छोरीको पढाइभन्दा छिटो बिहे गरिदिने सोच सामान्य भए पनि रुबीले बालविवाहको पीडा आफ्नै वरपर देखेकीले त्यसलाई अस्वीकार गरिन्। उनले दृढताका साथ ‘पहिले देशको सेवा गर्छु, अनि मात्र बिहे’ भन्ने अडान राखिन् र आफूलाई बालविवाहबाट जोगाउन सफल भइन्।
रुबीले स्थानीय विद्यालयबाट एसईई उत्तीर्ण गरेपछि धनुषाकै बलरा पोलिटेक्निकबाट डिप्लोमा इन इन्जिनियरिङ अध्ययन गरिन्। अध्ययन पूरा गरेपछि उनी एउटा कन्सल्टेन्सीमा ‘वास्तु आर्किटेक्चर’ सम्बन्धी काम गर्न थालिन्। उनले नक्सा बनाउने, टूडी र थ्रिडी डिजाइन गर्नेजस्ता प्राविधिक काम गर्दै करिब सात महिनासम्म मासिक २० हजारको जागिर खाइन्। त्यो आम्दानीले उनलाई व्यक्तिगत आवश्यकता र परिवारको दायित्व पूरा गर्न सहयोग पुग्यो।
उनको राजनीतिक यात्रा योजनाबद्ध थिएन। समाजमा व्याप्त विभेद, दाइजो प्रथा, बालविवाह र बेरोजगारीले उनलाई गहिरो प्रभाव पारेको थियो। सामाजिक सञ्जालमार्फत धरानका मेयर हर्क साम्पाङका कामबाट प्रभावित भएर, साम्पाङ चुनावी अभियानका क्रममा धनुषा पुग्दा रुबीले उनलाई भेटिन्। त्यो भेट नै उनको राजनीतिक जीवनको मोड बन्यो। त्यसपछि उनी सक्रिय रूपमा चुनावी अभियानमा होमिइन् र पार्टी नेतृत्वको ध्यान खिचिन्। अन्ततः श्रम संस्कृति पार्टीले उनलाई समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्यका रूपमा सिफारिस गर्यो। यो निर्णय उनका लागि पूर्णतः अप्रत्याशित थियो।

सांसद रुबीले आफ्ना प्राथमिकताहरू स्पष्ट रूपमा तय गरिसकेकी छन्। पहिलो एजेन्डा दाइजो प्रथाविरुद्धको अभियान हो, जुन मधेसमा अझै गहिरोसँग जरा गाडेर बसेको छ। दोस्रोमा बालविवाहको अन्त्य, जसले शिक्षा, स्वास्थ्य र भविष्यमा असर पार्छ। तेस्रोमा वैदेशिक रोजगारीको विकल्प र स्वदेशमै रोजगारी सिर्जना गर्ने लक्ष्य छ। चौथोमा मधेस क्षेत्रमा शिक्षाको सुधार गर्ने योजना रहेको उनले बताइन्। उनले आफूले पनि धनुषाका विद्यालयहरूमा शिक्षाको दयनीय अवस्था भोगेको र यसलाई सुधार गर्न प्रयत्न गर्ने प्रतिबद्धता जनाइन्।
यसपटकको समानुपातिक प्रणालीबाट संसदमा विविध पृष्ठभूमिका महिला तथा युवाहरूको उपस्थिति राम्रो देखिएको छ, जसले लोकतन्त्रको समावेशी चरित्रलाई अझ बलियो बनाएको छ। धेरै नयाँ अनुहारहरूले संसदमा प्रवेश पाएका छन्, जसमध्ये रुबीकुमारी पनि एक हुन्। उनले राजनीतिसँगै आफ्नो इन्जिनियरिङ अध्ययनलाई पनि अगाडि बढाउने योजना बनाएकी छन्। रुबीकुमारी ठाकुरको कथा केवल एक व्यक्तिको सफलता मात्र होइन, बरु यसले प्रमाणित गर्छ कि राजनीति गर्न ‘नेपो बेबी’ नै हुन पर्दैन। पहुँच वा पारिवारिक शक्ति बिना पनि इमानदार प्रयास, स्पष्ट सोच र प्रतिबद्धताले ठूलो स्थान हासिल गर्न सकिन्छ। उनी भन्छिन्, ‘धेरै कुरा सिक्नु छ, राजनीतिकबारे धेरै ज्ञान छैन। तर, म मेरो क्षेत्र र समाजको लागि सधैं लागि पर्नेछु।’
