परासी : नेपाली कांग्रेसका उपसभापति विनोदकुमार चौधरीले पार्टीलाई आधुनिक प्रविधिमैत्री बनाउँदै पूर्ण डिजिटल प्रणालीमा रूपान्तरण गर्ने कार्य तीव्र गतिमा अघि बढेको बताएका छन्। उनले आगामी स्थानीय तह निर्वाचनअघि नै पार्टीको सम्पूर्ण आन्तरिक संरचना र कार्यप्रणालीलाई डिजिटल माध्यमबाट सञ्चालन गर्ने जानकारी दिए। चौधरीका अनुसार, यससम्बन्धी करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको छ।
उपसभापति चौधरीले वडास्तरका साधारण कार्यकर्तादेखि केन्द्रीय नेतृत्वसम्मका सबै तहका पदाधिकारी तथा सदस्यहरूलाई एकैपटक, एउटै र स्पष्ट सन्देश प्रवाह गर्न, सूचना आदानप्रदानलाई सहज बनाउन तथा पार्टीको समग्र कार्यसम्पादनलाई प्रविधिमैत्री र चुस्त दुरुस्त बनाउन यो प्रणालीको विकास गरिएको उनले स्पष्ट पारे। यसले पार्टीको आन्तरिक व्यवस्थापनमा पारदर्शिता र निर्णय प्रक्रियामा प्रभावकारिता ल्याउने उनको विश्वास छ।
नेपाली कांग्रेस जिल्ला समिति नवलपरासी र पार्टीको निर्वाचन क्षेत्र नम्बर १ द्वारा संयुक्त रूपमा आयोजित १४ औँ महाधिवेशनबाट निर्वाचित उपसभापति चौधरीसहित केन्द्रीय सदस्यहरूको सम्मान तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीभित्र विगतमा देखिने गरेको गुटबन्दीको राजनीति र अस्वस्थ प्रतिस्पर्धा अब पूर्णतः अन्त्य भएको दाबी गरे। चौधरीले निर्वाचनका बेला पैसाको प्रलोभनमा टिकट वितरण गर्ने विकृत प्रवृत्ति पनि अब नरहने प्रतिबद्धता व्यक्त गरे। उनले आगामी स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले क्षमतावान् र जनमानसमा लोकप्रिय उम्मेदवारलाई मात्र टिकट प्रदान गर्ने नीति अख्तियार गर्ने बताए। पार्टीभित्र योग्यता र जनमतलाई सर्वोपरि ठान्दै स्वच्छ प्रतिस्पर्धाको वातावरण निर्माण गरिएको उनले बताए।
पूर्वसांसद समेत रहेका चौधरीले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नवलपरासी निर्वाचन क्षेत्र नं. १ बाट आफू निर्वाचित हुँदा यस क्षेत्रमा हुलाकी सडक निर्माण लगायतका विभिन्न ठूला विकास योजनाहरूले तीव्र गति लिएको स्मरण गरे। तर, पछिल्लो निर्वाचनपश्चात् ती महत्वपूर्ण विकास आयोजनाहरूको काम ठप्प प्रायः भएकोमा उनले चिन्ता व्यक्त गरे। उनले स्थानीय जनताले अहिले निर्वाचित भएर गएका जनप्रतिनिधिहरूसँग विकास निर्माणका काममा भएको ढिलाइ र अवरोधबारे स्पष्ट जवाफ माग्नुपर्नेमा जोड दिए। स्मरण रहोस्, चौधरी २०८२ सालको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारसँग पराजित भएका थिए।
उपसभापति चौधरीले हाल करिब एक करोडको हाराहारीमा नेपाली युवाहरू रोजगारीको खोजीमा विदेशिनु परेको यथार्थप्रति गम्भीर ध्यानाकर्षण गराए। उनले स्वदेशमै पर्याप्त रोजगारीका अवसरहरू सिर्जना गर्नु अहिलेको प्रमुख राष्ट्रिय आवश्यकता भएको औंल्याए। यस चुनौतीलाई सामना गर्न नेपाली कांग्रेसले आफ्नो कार्यशैलीमा सुधार गर्दै स्पष्ट दृष्टिकोण, व्यवहारिक योजना र ठोस कार्यक्रमसहित स्वदेशमै रोजगारीका अवसरहरू सिर्जना गर्ने अभियानलाई प्राथमिकताका साथ अघि बढाएको बताए। उनले युवा पलायन रोकी आत्मनिर्भर र समृद्ध नेपाल निर्माणका लागि कांग्रेस कटिबद्ध रहेको प्रतिबद्धता व्यक्त गरे।
